मंगलबार राति काठमाडौंबाट हङकङ पुगेपछि निगमको सगरमाथा नामको न्यारोबडी जहाजको ‘फोर–एल’ नाम भएको बायाँतर्फ पछाडिको चौथो ढोकामा समस्या देखिएको थियो ।
What you should know
काठमाडौँ — जहाजको पछाडीको ढोका बिग्रिएका कारण नेपाल वायुसेवा निगमको न्यारोबडी आधा हाराहारी सिट खाली राखेर उडिरहेको छ ।
मंगलबार राति काठमाडौंबाट हङकङ पुगेपछि निगमको सगरमाथा नामको न्यारोबडी जहाजको ‘फोर–एल’ नाम भएको बायाँतर्फ पछाडिको चौथो ढोकामा समस्या देखिएको थियो ।
निगम स्रोतका अनुसार, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा निगमलाई टेक्निकल सहायता दिने ‘हेको हङकङ’का इन्जिनियरले यात्रु चढाउने पछाडिपट्टीको ढोकामा जडान भएको स्लाइड आपतकालीन अवस्थामा प्रयोग गर्न नमिल्ने जनाउँदै नियमअनुसार त्यस वरिपरिका ५४ वटा सीट खाली राखेर उडाउन पाइलटलाई ‘अनुमति दिएका’ थिए ।
‘हाम्रो न्यारोबडीको कुल यात्रु क्षमता १ सय ५४ हो । तर, हिजो हङकङमा जम्मा ४४ यात्रु भएकाले समस्या भएन’, निगमका एक अधिकारीले भने,‘तर बुधबार दिउँसो बैंककमा ३२ जना यात्रु छाडेर काठमाडौं आयो ।’ त्यो विमानमा बैंककबाट फर्किने १ सय ३२ यात्रु थिए । १ सय ३ जनालाई मात्रै काठमाडौं ल्याइयो । बाँकी २९ जना होटलमा राखिएका छन् ।’
कुनै पनि विमानमा तत्काल कुनै उपकरण वा प्रणालीमा समस्या आइपरेमा न्यूनतम उपकरण सूची (एमईएल)को अधिकार प्रयोग गरेर निश्चित समयसम्म उडान अनुमति गर्न पाइन्छ । कुनै पनि उडानमा तत्काल समस्या आइहाले तुरुन्तै रोक्न नमिल्ने भएकाले अस्थायी रुपमा मर्मत नगरी विमान निर्माता कम्पनी तथा नियमनकारी निकायबाट स्विकृति एमईएलको सर्तमा उड्न पाइने भएकाले निगमले बैंककमा २९ जना यात्रुलाई छाडेर काठमाडौं आइपुगेको हो ।
न्यूनतम उपकरण सूची (एमईएल) अनुसार मर्मत अवधिको गम्भीरताका आधारमा चार प्रकारमा विभाजन गरिएको छ । ज्यादै गम्भीर प्राविधिक समस्यासँग जोडिएका विषयको मर्मत तुरुन्तै अर्को उडान गर्नुअघि सकिसक्नुपर्छ । बी सूचीको एमइएल भए १० दिनभित्र, सी ३०दिनभित्र र डी ९० दिनभित्र मर्मत गरिसक्नुपर्छ । निगमका प्राविधिकले ढोकाको समस्यालाई बी श्रेणीको एमइएल भएको बताएका छन् ।
‘जहाज बैंककबाट काठमाडौं आइसकेको छ । इन्जिनियरले ढोका मर्मत गर्दैछन्’, निगमका प्रवक्ता मनोजकुमार साहले भने, ‘पछाडिपट्टीको यात्रु राख्ने ढोका बिग्रिएकाले यसकै सामान्नतरमा रहेको अर्को ढोकाबाट यात्रु चढाउने, क्याटरिङ, सामान राख्ने काम भइरहेको छ ।’ यदि आपतकालीन अवस्था आइपर्दा उक्त ढोका प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको प्रवक्ता साहले बताए ।
निगमसँग रहेको अर्को लुम्बिनी नामको न्यारोबडी विमान एक सातादेखि काठमाडौंमा ग्राउन्डेड छ । उक्त विमानमा इजरायलको आइएआई कम्पनीबाट भाडामा लिइएको इन्जिन राखेर उडान हुँदै आएको थियो । तर, त्यो इन्जिनको अल्ट्ररनेटर ड्राइभ गियरमा समस्या देखिएपछि मर्मत निगमले गर्ने वा भाडाको कम्पनीले गर्नेबारे विवाद सतहमा आएको छ । त्यो विमान उडानमा नभएकाले बुधबार राति मलेसिया उडानमा सगरमाथा जहाजलाई नै राखिएको छ । ‘यदि ढोका मर्मत भइहाले काठमाडौंबाट १ सय २६ यात्रु लिएर जाने छ । उताबाट १ सय ५० यात्रु राखेर फर्किने छ,’ मर्मतमा आबद्ध स्रोतले भन्यो, ‘बुधबार रातिसम्म नबनेमा एमईएल प्रावधानअनुसार ५४ सिट खाली राखेर उड्नुपर्ने छ । यसो गर्दा १ सय ४ जनाभन्दा बढी यात्रु उडानमा जान पाउने छैनन् । बाँकी यात्रुलाई निगमले संस्थाकै खर्चमा होटलमा राख्नुपर्ने छ ।
निगमका प्रवक्ता साहले विमानको ढोका बुधबार राति मलेसिया उड्नुअघि नै मर्मत भइसक्ने बताए ।
