जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड, चीनको जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एएनके कन्स्ट्रक्सन नेपालको जेभीबीच सोमबार सम्झौता भएको हो ।
What you should know
काठमाडौँ — विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको ठेक्का सम्झौता भएको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड, चीनको जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एएनके कन्स्ट्रक्सन नेपालको जेभीबीच सोमबार सम्झौता भएको हो ।
जियाङ्सी तथा एएनकेले कबोल गरेको मूल्य अभिवृद्धि कर (भ्याट) सहित १३ अर्ब ७३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सम्झौतासँगै आगामी ५ वर्षभित्र जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रतिस्पर्धी सिनो हाइड्रो कर्पोरेसनले भ्याटसहित १५ अर्ब ७ करोड रुपैयाँ प्रस्ताव गरेको थियो ।
६ माघ ०८१ मा पुनः ठेक्का आह्वान गर्दा प्राविधिक प्रस्ताव मूल्यांकनबाट आवेदन दिएकामध्ये वित्तीय प्रस्ताव खोल्न जियाङ्सी र एएनके तथा सिनो हाइड्रोलाई छनोट गरिएको थियो । त्यसविरुद्ध अर्को आवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले ठेक्का प्रक्रिया रोक्न अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो । तर अदालतले अन्तरिम आदेश नदिएपछि ठेक्का प्रक्रिया अघि बढेको थियो ।
आयोजनाको ठेक्का प्रक्रिया झन्डै करिब १४ महिनामा टुंगिएको हो । ‘ठेक्का पाएको कम्पनीले ६ महिनाभित्र डिजाइन गरी स्वीकृति लिएर निर्माण अघि बढाउनुपर्छ,’ कम्पनीका सीईओ सञ्जय सापकोटाले भने । ३० असार ०८६ मा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । आयोजना एक दिन ढिला निर्माण हुँदा पनि करिब १ करोड ३० लाख नोक्सानी हुने सापकोटाले बताए ।
आयोजनामा भीयूसीएलको २६ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको एक प्रतिशत संस्थापक सेयर स्वामित्व हुनेछ । सर्वसाधारणका लागि ३३ प्रतिशत, आयोजनाबाट प्रभावित डोल्पावासीलाई १० प्रतिशत र प्रसारण लाइन प्रभावित बासिन्दा तथा आयोजनाका कर्मचारीलाई ३–३ प्रतिशत सेयर दिइने कम्पनीले जनाएको छ ।
कम्पनीले उत्पादनपछि तिर्ने रोयल्टी मात्रै जगदुल्ला र मुड्केचुला पालिकाले वार्षिक रूपमा करिब ८ करोड, प्रदेश सरकारले झन्डै १६ करोड र संघीय सरकारले ३२ करोड रुपैयाँ पाउनेछन् । आयोजनाबाट वार्षिक आम्दानी करिब ३ अर्ब ८५ करोड अनुमान छ । आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन कार्य एनईए इन्जिनियरिङ कम्पनीले करिब २७ करोड रुपैयाँमा गरेको थियो ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ । कम्पनीले अहिलेसम्म २६० रोपनी जग्गा अधिग्रहण गरिसकेको जनाएको छ । आयोजनाले जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा जगदुल्ला नदीमा २३ मिटर उचाइ र ९३ मिटर लम्बाइको बाँध निर्माण गर्नेछ । करिब ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युत्गृहमा करिब ७८९ मिटरबाट पानी खसाली विद्युत् उत्पादन गरिनेछ
जगदुल्लाको कुल लागत २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उक्त आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भइसकेको छ ।
कम्पनीले २० जेठ ०८१ मा सिभिल र हाइड्रोमेकानिकल अन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्का प्रक्रिया विवादमा परेपछि २२ पुस ०८१ मा रद्द भएको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्सन र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो ।
त्यतिबेला ऊर्जामन्त्री दीपक खड्काले आवेदन दिएका सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभीलाई ठेक्का दिलाउने गरी मिलेमतोमा मध्यस्थता गरेको आरोप लागेको थियो । १६ अर्बको ठेक्का पाउने कम्पनीले अरू चार कम्पनीलाई एक/एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्रीलाई दुई प्रतिशत दिने गरी लेनदेन भएको विषय अख्तियारमा पुगेको छ ।
त्यसपछि ६ माघ ०८१ मा पुनः ठेक्का आह्वान गरिएको थियो । कम्पनीका अनुसार सिनो हाइड्रो, सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जियाङ्सी एएनके जेभी, फेवा कन्स्ट्रक्सन र टुएमजी इनसाट मेडिनक्लाक जेभीले आवेदन दिएका थिए । दोस्रो पटक ठेक्का आह्वान गर्दा जगदुल्ला कम्पनीले केही प्राविधिक विषय संशोधनसमेत गरेको थियो । पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्ष ३ करोड ४० लाख डलरको कारोबार गरेको हुनुपर्ने सूचनामा उल्लेख थियो ।
इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्कामा ४ करोड डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने थियो । त्यसअघि ठेक्का आह्वान गर्दा पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्षमा ३ करोड ५० लाख डलरको कारोबार गरेको हुनुपर्ने उल्लेख थियो । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्का ४ करोड १० लाख डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरिएको थियो ।
