स्याफ्रुबेंसी–रसुवागढी खण्डका आधा दर्जनभन्दा बढी स्थानमा भोटेकोशीको बाढीले सडक बगाउँदा सवारी आवागमन बन्द छ । बाढीले सडकमा क्षति गरेको १३ दिनपछि साउन ४ बाट एकतर्फी सञ्चालनमा आएको थियो ।
What you should know
काठमाडौँ — दिनको सयभन्दा बढी मालवाहक सवारीसाधन ओहोरदोहोर गर्ने स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड यति बेला सुनसान छ । गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएपछि तयारी सामान आउन पाएका छैनन्, जसले गर्दा अहिले रसुवागढी भन्सार नाकासमेत ठप्प बनेको छ ।
स्याफ्रुबेंसी–रसुवागढी खण्डका आधा दर्जनभन्दा बढी स्थानमा भोटेकोशीको बाढीले सडक बगाउँदा सवारी आवागमन बन्द छ । बाढीले सडकमा क्षति गरेको १३ दिनपछि साउन ४ बाट एकतर्फी सञ्चालनमा आएको थियो ।
फेरि ११ दिनपछि दोस्रो पटक साउन १४ मा आएको बाढीले सडक बगाएपछि सवारी आवागमन ठप्प बनेको हो । अहिले बाढीले बगाएको १२ दिन बित्दा पनि सडक सञ्चालनमा आउन सकेको छैन । सवारी आवागमन ठप्प बन्दा गाउँमा कोही बिरामी परे हेलिकोप्टर मगाउनुपर्ने बाध्यता छ ।
स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किलोमिटर छ । बनाएको सडकसमेत तलबाट भोटेकोशीले खोतलिरहँदा समय लागेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले बताए । अहिले तीन वटा मेसिन परिचालन गरेर ट्र्याक खोल्ने काम भइरहेको छ । कुलिङ, छेन्दुङ, तातोपानी, टिमुरे, घट्टेखोला र रसुवागढी खण्डमा बाढीले सडकमा क्षति गरेको छ ।
विभिन्न खण्ड गरेर अहिले चार सय मिटरमा बढी समस्या रहेको आयोजनाले जनाएको छ । टिमुरेबाट रसुवागढीतर्फ पनि सडक बाढीले बगाएका कारण बनाउन समय लाग्ने उनले बताए । ‘यो खण्ड एकदमै जोखिम भूगोलभित्र पर्छ,’ उनले भने, ‘त्यसैले यति समयभित्र सडकको ट्र्याक खोल्न सकिन्छ भन्ने अवस्था नै छैन ।’ सडक बनाए पनि पहिरो खसेर समस्या थपिरहेको उनले सुनाए ।
‘सडकको ट्र्याक खोल्न नपाउँदै तलबाट खोलाले खोतलेर समस्या गरिहाल्छ, सडकको ट्र्याक खोले पनि यसको दिगो समाधान भइरहेको छैन,’ उनले भने, ‘फेरि भोटेकोशीको पानीमा करेन्टको मात्रा बढी छ, जसले गर्दा कटान गर्ने काम रोकिएको छैन ।’
खोलामा बाढी ठूलो नभए पनि कटानले गर्दा सडक बगिरहेको उनको भनाइ छ । ‘यो सदाबहार सडक होइन, माटे हो,’ उनले भने, ‘जसले गर्दा समस्या भएको छ ।’ स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको खण्ड अप्ठ्यारो भएकाले भित्तो काटेर सडक बनाउनुपरेको सडक विभागले जनाएको छ । नाका जोड्ने अस्थायी बेलिब्रिज पुल चीनले बनाउनुअघि सडक बनिसक्ने उनको दाबी छ ।
जटिल भूगोल र वर्षातले गर्दा समयमै सडक सञ्चालनमा ल्याउन समस्या भएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘भोटेकोशीले १४ ठाउँमा सडक कटान गरेको छ, ट्र्याक खोल्ने क्रममा भीरमा अड्किएको मेसिन ९ दिन लगाएर निकालिसकिएको छ,’ उनले भने, ‘अप्ठ्यारो खण्ड भएकाले काम गर्न समस्या भएको हो । बढीमा अबको दुई साताभित्र सडक सञ्चालनमा ल्याउने गरी काम गरिराखेका छौं ।’
चाडबाडलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने गरी काम गरिरहेको सडक विभागको भनाइ छ । चीनले पुल बनाउन थाले पनि बाढीले समस्या गरिरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जनाए । ‘पुल बनाउन निर्माण सामग्री ल्याउन बनाएको सडक बाढीले बगायो, अहिले पुल निर्माणका लागि सामान झारिसकिएको देखिन्छ,’ उनले भने, ‘अब बाढीले समस्या नगरे भदौ अन्तिमसम्म पुल बन्छ ।’ चीनतर्फ चार/पाँच वटा मेसिन परिचालन गरेको देखिएको उनले बताए ।
असारको बाढीपछि रसुवा भन्सार नाका सुनसान छ । यार्डमा फसेका मालवाहक सवारीसाधन निकालिएको भन्सार कार्यालयको भनाइ छ । ‘निकाल्न नसक्ने अवस्थाका चार वटा सवारी भने यार्डभित्रै छन्,’ उनले भने, ‘डेढ सय वटा विद्युतीय सवारीसाधन पनि सडक बिग्रिएकाले टिमुरे आसपास पार्किङ गरेर राखिएको छ ।’ १० वटा मालवाहक सवारीसाधन सडकका कारण टिमुरेमै रोकिएको भट्टराईले जनाए ।
भन्सार यार्डमा बाहिरिने र भित्रिने मालवाहक सवारीसाधनको तौल नाप्ने दुई वटा तौल पुल (धर्मकाँटा) एउटा २४ असार र अर्को १४ साउनको बाढीले बगाइदिएको छ । ११ वटा विद्युतीय गाडी पनि बाढीले क्षति गरेपछि काम नलाग्ने अवस्थामा यार्डमै राखिएको छ । चीन सरकारको २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा करिब ५८ रोपनीमा दुई वर्षअघि यार्ड निर्माण थालिएको थियो ।
निर्माण अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको हो । यसको विकल्प खोज्ने गरी अध्ययन भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले बताएको छ । चाडबाड नजिकिँदै गर्दा नाका ठप्प रहेकाले छिटो सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीको माग छ ।
