कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र अन्यबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से करिब २८ अंकले घटेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २७.९० अंकले घट्यो । अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ८ सय २२.४६ अंकमा ओर्लेर बन्द भएको छ ।
आइतबार सार्वजनिक बिदा भएकाले सोमबार देखि मात्र बजार खुलेको हो । सो दिन कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० वटाको घट्यो ।
सोमबार ९८ हजार ५ सय २५ पटकको कारोबारमा २ करोड ५० लाख ९२ हजार ४ सय ९० कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र अन्यबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से करिब २८ अंकले घटेको हो । सो दिन सामूहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले सकारात्मक बनेका छन् ।
