एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक भइसकेको नाइमाको भनाइ छ ।
What you should know
काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सोमबार अर्थात् आज सकिँदै छ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले सोमबारका लागि एक दिन समय थपेको छ ।
अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको भन्दै उनीहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि प्रदर्शन अवधि थपिएको नाइमाले जनाएको छ । एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक भइसकेको नाइमाको भनाइ छ ।
‘प्रदर्शनीबारे अवलोकनकर्ताको राम्रो प्रतिक्रिया पाइरहेका छौं,’ नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले भने, ‘अपांगतामैत्री पनि बनाएका छौं, जसले अवलोकनकर्तालाई सहज भएको छ ।’ नाइमाका अनुसार प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता सहभागी भए । यस्तै चौथो दिन २१ हजार ५ सय र पाँचौं दिन २२ हजार जनाले अवलोकन गरेको नाइमाले जनाएको छ । प्रदर्शनीमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला सहभागी भएको अर्यालको आकलन छ ।
‘स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा आगामी दिनमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्याउन प्रतिबद्ध छ,’ नाइमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्स्पो अपेक्षा गरेभन्दा राम्रो भइरहेको नाइमाकी सदस्य यमुना श्रेष्ठले पनि बताइन् । ‘एक्स्पो व्यवस्थित भएकाले राम्रो भइरहेको छ, उपभोक्ताको माग बढेपछि एक दिन समय थपिएको छ,’ उनले भनिन्, ‘नयाँ विद्युतीय सवारी पनि धेरै सार्वजनिक भइरहेका छन्, जसले आकर्षण बढिरहेको छ ।’
यसअघि विद्युतीय सवारी, ब्याट्रीलगायतबारे बुझाउनुपर्ने भए पनि अहिले गाडीको विशेषताबारे मात्रै बुझाए पुग्ने अवस्था बनेको श्रेष्ठले बताइन् । ‘साना सेग्मेन्टका गाडीमा आकर्षण बढी छ, बीवाईडीको पनि सिगल एट्टो १ मा धेरै अवलोकनकर्ता झुम्मिएका छन्,’ उनले भनिन् । बीवाईडीको सिलायन, डल्फिनलगायतमा समेत उपभोक्ता आकर्षित भएको श्रेष्ठले जनाइन् । एक्स्पोमा बीवाईडीका जुनसुकै गाडी खरिदमा एक वर्षको बिमा, होम र ट्राभल चार्जरसँगै फ्लोर म्याट पाइने उनले सुनाइन् । बीवाईडी एट्टो १ को मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
एक्स्पोमा लक्ष्मी ई–मोबिलिटीले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ को पहिलो मोडेल ‘फ्राइडे’ सार्वजनिक गरेको छ । ‘फ्राइडे’ लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लक्जरीको ५० लाख ९६ हजार र एक्सक्लुसिभको ५६ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
स्मार्ट डिजाइन र अत्याधुनिक प्रविधिका लागि परिचित ‘फोर्थिङ’ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा प्रवेश गरेको हो । नाइमाको विशेष अफरअन्तर्गत दुवै भेरिएन्टमा २ लाख रुपैयाँ नगद छुट र एक वर्षको सवारी बिमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । एक्स्पोमा ‘फ्राइडे’ खरिद गर्दा लक्जरी भेरिएन्ट ४८ लाख ९६ हजार र एक्सक्लुसिभ भेरिएन्ट ५४ लाख ९६ हजार रुपैयाँमा पाइने कम्पनीको भनाइ छ । गाडीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरयुक्त ‘फोर्थिङ’ को फ्राइडे ईभीले ४०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने कम्पनीले बताएको छ ।
भित्री डिजाइनमा आराम, स्मार्ट इर्गोनोमिक्स र प्रयोगको सहजतालाई प्राथमिकता दिइएको छ । प्रिमियम मसाज स्पोटर््स सिट तथा एक्सक्लुसिभ भेरिएन्टमा इलेक्ट्रिक टेलगेट सुविधाजस्ता विशेषताले यसको ड्राइभिङ अनुभवलाई अझ उन्नत बनाएको कम्पनीको दाबी छ ।
एक्स्पोमा टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एन्टर्क डिस्क एफआई स्कुटरका नयाँ रङ भेरिएन्ट सार्वजनिक गरेको छ । टीभीएसले ‘टर्क्वाइस ब्लु’ र ‘नार्दो ग्रे’ नामका दुई आकर्षक रङमा ‘एन्टर्क डिस्क एफआई’ सार्वजिनक गरेको हो । आधुनिक यात्रुका लागि डिजाइन गरिएको यस स्कुटरमा स्मार्ट प्रविधि र उच्च प्रदर्शनको संयोजन गरिएको कम्पनीको दाबी छ । १२४.८ सीसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनयुक्त यो मोडेलले करिब ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने र रेसिङ शैलीबाट प्रेरित डिजाइनसहित ‘टी–आकार’ को एलईडी टेल–ल्याम्पजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
कुल २ लाख ८२ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको नयाँ एन्टर्क डिस्क एफआईमा स्मार्ट ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर, अगाडिको डिस्क ब्रेक, यूएसबी चार्जिङ पोर्ट र बाहिरी फ्युल फिलिङ प्रणालीजस्ता सुविधा समावेश छन् । कम्पनीका अनुसार शैली, सुरक्षा र स्मार्ट फिचरको संयोजनका कारण यो स्कुटर आफ्नो सेग्मेन्टमै उत्कृष्ट विकल्प बन्नेछ ।
