कालीगण्डकी कोरिडोर सडक गैंडाकोट–राम्दी–मालढुंगा खण्ड अन्तर्गत ३३ किलोमिटर मात्र कालोपत्र बाँकी
What you should know
पाल्पा — बाग्लुङको जैमिनी नगरपालिका–७, जैदीकी सीता घर्तिमगर सात वर्ष अघिसम्म सदरमुकाम पुग्न दिनभर समय खर्चिनु परेको सम्झिन्छिन् । बुटवल गएर फर्किन तीन दिन लाग्थ्यो । कतिपय अवस्थामा दुई/तीन दिन पैदल नै हिँडेको धेरै वर्ष बितेको छैन ।
तर अहिले भने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजना अन्तर्गतको गुल्मी हर्मिचौरदेखि बाग्लुङको बलेवासम्मको ४४.५ किलोमिटर सडकको कालोपत्र सकिएपछि दुई घण्टामा सदरमुकाम बाग्लुङ बजार पुग्न पाइएको उनले बताइन् ।
‘सात वर्षअघि र अहिले सडकको अवस्था यति छिटो फेरियो कि हामी आफैं दंग परेका छौं,’ उनले भनिन्, ‘अहिले बाग्लुङ अनि तराईको बुटवल, भैरहवा लगायतका बजार नजिक भएको महशुष गर्न पाइएको छ ।’ गुल्मीको कालीगण्डकी गाउँपालिका अर्बेनिका बाबुराम न्यौपाने पनि छोटो अवधिमै सडक कालोपत्र भएपछि दुर्गमको जीवनयापन बिताइरहेका स्थानीयमा खुसी छाएको बताउँछन् ।
मिर्मिदेखि स्टिमरको यात्रा गर्नुपर्ने बाध्यतासमेत अहिले हटेको छ । कालोपत्र सडकमा यात्रा गर्न पाएको उनले बताए । ‘बिरामी भइयो भने निकै सास्ती खेपेर उपचार गर्न जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यति छोटो अवधिमा कालोपत्रे सडक बन्यो अब सहज हुन्छ ।’
कालीगण्डकी कोरिडोर सडक आयोजना (मालढुंगा–राम्दी–गैंडाकोट) अन्तर्गत गुल्मीको हर्मिचौरदेखि बाग्लुङको बलेवासम्मको ४४.५ किलोमिटर सडक समयमै कालोपत्र भएपछि घर्तिमगर र न्यौपाने मात्र होइन यस भेगका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको छ । हर्मिचौरदेखि रूद्रवेणी हुँदै रिडीसम्म पनि कालोपत्र भइसकेको छ ।
अप्ठेरो भीर कटान गरी अहिले दुई लेनको सडक कालोपत्र भएको छ । यही सडकले गुल्मी र बाग्लुङका नागरिकलाई आवागमन सुविधासँगै कृषि उत्पादन बजार पुर्याउन सहज भएको छ र यात्रासमेत छोटिएको छ । सडकको छेउछाउमा बाख्रपालन, तरकारी खेती, व्यवसायिक ड्रागन खेती लगायत विभिन्न आम्दानी हुने खेती गर्न थालेको होटल व्यवसायीसमेत रहेका गुल्मी अर्बेनिका न्यौपानेले बताए ।
उनका अनुसार गुल्मीको अर्बेनि, पुर्तिघाट हुँदै बाग्लुङ भएर पवित्र धार्मिकस्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ जाने यात्रु ओहोरदोहोर गर्न थालेका छन् । ‘काठमाडौंमा होटल व्यवसाय गर्थेँ । कालीगण्डकी कोरिडोर सडक कालोपत्र हुने भन्ने भएपछि अर्बेनि फर्केको हुँ,’ उनले भने । अन्यत्र निर्माण व्यवसायीले वर्षौसम्म पनि सडकको काम पूरा नगर्ने समस्या भए पनि यस खण्डमा त्यस्तो समस्या नभएकामा स्थानीय पनि खुसी छन् ।
कोरिडोर अन्तर्गत यहाँ ४४.५ किलोमिटर कालोपत्र गर्ने ठेक्का लिएको कालिका कन्स्ट्रक्सन प्रालिले कामको सम्झौता गरेको म्यादभन्दा करिब ७ महिनाअघि नै सम्पन्न गरेको छ । कालिकाले करिब ३ अर्ब ३३ करोड रूपैयाँ लागतमा कालोपत्र गर्ने सम्झौता गरेको थियो ।
कालीगण्डकी कोरिडोर सडक आयोजना पाल्पा बर्तुङले निकालेको ठेक्का अन्तर्गत यस खण्डमा २०७९ मंसिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने थियो । तर सम्झौताभन्दा सात महिनाअगावै कालोपत्रको काम सम्पन्न गरेको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरूण खत्रीले बताए ।
निर्माण व्यवसायीले ९७ प्रतिशत काम सात महिनाअगावै सम्झौता अनुसारको काम सम्पन्न गरेको उनले बताए । ‘५ प्रतिशतभन्दा काम सकेपछि नै कालोपत्र लगायतका काम सकिएको थियो,’ उनले भने, ‘सडक ढलान, प्याराफिट निर्माण, रिनेनिङ वाल, ग्याभिएन जाली लगाउने लगायत कालोपत्रको काम तोकिएको समय भन्दा ७ महिना अघि नै सकिएको थियो,’ उनले भने ।
करोडौं रकम भुक्तानी दिन नपाउँदासमेत कालिकाले कामलाई नरोकेकाले समयावधि अघि नै काम सम्पन्न गरेको हो । कतिपय अवस्थामा कालिकाको ६० करोडसम्मको बिल भुक्तानी गर्न नसकिएको अवस्थासमेत रहेको कार्यालयले जनाएको छ । ‘अहिले बिल भुक्रानी गर्नुपर्ने छैन तर बीच बीचमा भने करोडौं रकम भुक्तानी गर्न नसक्दासमेत कामलाई निरन्तरता दिएकाले नै सफलता हासिल भएको हो,’ उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा ५८ करोडसम्म भुक्तानी दिन नसकिएको अवस्था थियो ।’
टिमवर्क, समन्वय, स्थानीय नागरिकको सहयोग र सरोकारवाला कार्यालयबाट सहयोग पाएपछि समयमै काम सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी कालिका कन्ष्ट्रक्सन प्रालिका इन्जिनियर अंकुर उप्रेतिले बताए । ट्रयाक मात्र खुलेको भीर, पहिरो लगायत अप्ठ्यारो सडकमा पनि समय अगावै काम सम्पन्न गर्न सफल भएको उनले बताए ।
‘सबै हिसाबले हामीलाई सहयोग भएकाले पनि काम समयावधि अघि नै सम्पन्न गर्न सफल भएका हौं,’ उनले भने, ‘नागरिक समाज, जनप्रतिनिधि, सडक डिभिजन, आयोजना कार्यालय सबै क्षेत्रबाट भएको सहयोगले नै काम गर्न सकिएको छ ।’ सडक समयमा सम्पन्न हुँदा यही क्षेत्रका बासिन्दाले सहज यातायात सेवा पाउन सफल भएको उनले बताए ।
निर्माण व्यवसायीको सुरूदेखिकै कामले गति लिएको त्यसले निरन्तरता पाएकाले समयमै पूरा भएको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारी सुवेदीले बताइन् । आयोजना कार्यालय र निर्माण व्यवसायीसँग सुमधुर सम्बन्ध कायम हुनु, बजेट अभावका बीच पनि काम नरोकिनु लगायतका कारणले परिणाम सकारात्मक आएको उनको भनाइ छ । ९७ दशमलव ५ प्रतिशत काम सम्पन्न भएर सडक त्रुटि सच्चाउने अवधि सुरू भइसकेको छ ।
सडकमा रंगरोगनको काम मात्र बाँकी रहेको कालीगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुंगा) आयोजनाकी प्रमुख अधिकारीले बताइन् । निर्माण व्यवसायीले सम्झौताको समय अगावै काम सम्पन्न गरिदिँदा सकारात्मक सन्देश प्रवाह भएको उनले बताइन् । ४४.५ किलोमिटर सडक खण्डका कतिपय खोलामा पक्की पुल निर्माणको काम भने अझै अघि बढेको छैन । स्थानीयले छिटो भन्दा छिटो खोलामा पक्की पुल निर्माणको कामलाई अघि बढाउन माग गर्दै आएका छन् ।
राम्दी–रानीमहलमा काम धमाधम
आर्थिक वर्ष २०८१/८२ मा निर्माण व्यवसायीले भुक्तानी पाएपछि कालीगण्डकी करिडोर सडक अन्तर्गत पाल्पाको राम्दी–रानीमहल सडक खण्डको कामले तीव्रता पाएको छ । आयोजना अन्तर्गत १७ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको हो । यस सडकका लागि कालीगण्डकी करिडोर आयोजना कार्यालयले १ अर्ब ८ करोडको ठेक्का रकममा निर्माण व्यवसायी थोदुङ हिम सगरमाथा जेभी निर्माण कम्पनीले भ्याटसहित ८४ करोड ९१ रूपैयाँमा ठेक्का लिएको छ ।
‘काम गरेको रकम भुक्तानी समयमै पाएपछि अहिले कामलाई निरन्तरता दिएको छ,’ आयोजनाका सूचना अधिकारी अरूण खत्रीले भने, ‘यही रफ्तारमा काम भयो भने तोकिएको अवधिमै राम्दी–रानीमहल खण्डको काम सकिन्छ ।’ यस भेगका बासिन्दा १७ किलोमिटर दूरी पार गर्न ४० किलोमिटर टाढा घुम्नुपर्ने बाध्यता थियो । ठेक्का लागेपछि नयाँ निर्माण व्यवसायीबाट यस खण्डमा विभिन्न सेक्टर विभाजन गरी सडक स्तरोन्नतिको काम भइरहेको कार्यालयले जनाएको छ ।
व्यवसायीले छिटोछरितो काम गरेको देख्दा स्थानीय बासिन्दामा पनि आशा पलाएको यम्घा मझेटाका डोलराज अधिकारीले बताए । राम्दी रानीमहल सडक खण्डमा निर्माण व्यवसायीबाट सुरूवाती चरणमा काम सन्तोषजनक भएको आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारी सुवेदीले बताइन् ।
यही खण्डको राम्दी बजार (सिद्धार्थ राजमार्ग) नजिकै सिद्धबाबा मन्दिर क्षेत्रमा ४ सय मिटर के गर्ने भन्ने अझै अन्योल छ ।
बाग्लुङको बलेवा–मालढुंगा सुस्त
बलेवादेखि १० किलोमिटर मालढुंगासम्म कालोपत्र र ढलानको काम भइरहेको छ । खड्गकृष्ण विएन जेभी निर्माण कम्पनीले पनि कालोपत्र र ढलान गर्ने गरी ठेक्का लिएकामा ६५ प्रतिशत काम सकेको छ ।
निर्माण व्यवसायीको ढिलासुस्तीले तोकिएको अवधिमा काम सक्न मुस्किल छ । कार्यालयले व्यवसायीलाई ताकेता गरिरहेको जनाएको छ । अधिकांश भागमा सबबेसको काम सकिएको छ भने कतिपय स्थानमा बेससमेत राखेको छ ।
कोरिडोर आयोजना अन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा सडक खण्ड अन्तर्गत पहिरो गएका स्थानमा मर्मत बाहेक ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ । गैंडाकोटदेखि पाल्पाको पिपलडाँडासम्मको १ सय ३१ किलोमिटर मध्ये ३.८ किलोमिटर मात्र कच्ची छ ।
जसमा १ दशमलव ७ पहिरोको कारण समस्या छ भने २.१ किलोमिटर अन्य कारण कालोपत्र भएको छैन । आयोजना कार्यालयका अनुसार कतिपय स्थानमा सडक भासिएको छ । गुल्मीको रिडीदेखि हर्मीचौरसम्मको २१ किलोमिटर सडक खण्ड कालोपत्र सकिएको छ ।
डिएलपी पिरियड रहेको र समयावधि सकिएपछि सडक डिभिजनलाई हस्तान्तरण गरिनेछ । यस खण्डमा कल्भर्ट राखेका स्थानलाई परिवर्तन गरेर स्ल्याप राख्ने काम भइरहेको छ । पाल्पाको राम्दी पिपलडाँडा–रामपुर–गैडाकोट सडक डिभिजनलाई हस्तान्तरण भइसकेको छ । यस्तै रानीमहलदेखि अर्गलीसम्मको सडकसमेत डिभिजनलाई हस्तान्तरण भइसकेको उनले बताए ।
कालीगण्डकी करिडोर पूर्व नवलपरासी (नवलपुर) बाट सुरू भएर पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी मुस्ताङको चीन नाका कोरलासम्मका बासिन्दाले लाभ लिने सडक हो । पूर्वको चितवन नजिक, पश्चिममा सोनौली नाकाबाट सिद्धार्थ राजमार्ग भएर आउनेलाई मुस्ताङ हुँदै चीनको कोरला नाका पुग्न दुरी छोटिएको छ । पछिल्लो समय यही मार्ग भएर धार्मिक पर्यटकको संख्यासमेत बढ्दै गएको छ ।
