सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ तोके पनि सर्वसाधारणले सुनका गहना किन्नुपरे २ लाख २३ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ।
What you should know
काठमाडौँ — पहेंलो धातुका रूपमा परिचित सुनको मूल्यले यो साता फेरि नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक उथलपुथलले नेपालमा सुनको मूल्यमा रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन १६ मा सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३२ सय ९३ अमेरिकी डलर थियो । स्थानीय बजारमा प्रतितोला मूल्य १ लाख ९३ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
साउन २३ सम्म आइपुग्दा भने अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ १ सय ४ अमेरिकी डलरले बढेको छ । महासंघले साउन २३ (शुक्रबार) मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ३३ सय ९७ अमेरिकी डलरमा कारोबार भएको थियो । शुक्रबार नेपाली बजारमा प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अहिलेसम्मकै उच्च रहेको गहनाविज्ञ तेजरत्न शाक्यले बताए ।
‘एक सातामै अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ सय ४ अमेरिकी डलरले बढेको छ । नेपालमा पनि प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेर फेरि कीर्तिमानी कायम भएको छ,’ गहनाविज्ञ शाक्यले भने, ‘अहिले मूल्य बढ्नुमा मुख्यतः दुई कारण मान्न सकिन्छ । पहिलो कारण हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका भन्सार शुल्क अर्थात् ट्यारिफ । अर्को हो, बैंक अफ युकेको ब्याजदर नीति ।’
महासंघका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले ९० देशमा भन्सार शुल्क बढाएका छन् । ट्रम्पको नीतिले विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बैंक अफ युकेले ब्याजदर ०.२५ प्रतिशत घटाएको छ । ‘बैंकले ब्याजदर ४.२५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको अवस्थामा लगानीकर्ता सुनमा आकर्षित भएको देखिन्छ,’ शाक्यले भने, ‘लगानी सुनमा बढेपछि मूल्य बढ्न थालेको छ । नेपालमा पनि यसले रेकर्ड बनाउन थालेको छ ।’
एक सातायता सुनको मूल्यमा अस्थितरा देखिएको छ । साउन २१ र २२ मा मूल्य स्थिर भएर प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्य दिनमा भने मूल्य निरन्तर बढेको छ । शुक्रबारसम्म आइपुग्दा प्रतितोला १ सय ९९ हजार ४ सय रुपैयाँ पुगेर यसले नयाँ रेकर्ड बनाएको हो ।
मूल्य बढ्नुको अर्को कारण विनिमय दर पनि रहेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले औंल्याए । ‘केही अन्तर्राष्ट्रिय आर्थिक राजनीतिक कारण पनि छन् । विनिमय दरका कारण पनि सुनको मूल्य बढेको हो,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘एक अमेरिकी डलर बराबर १ सय ४० रुपैयाँ पर्छ । सोही कारण मूल्य बढ्यो ।’
जानकारका अनुसार सर्वसाधारणले गहना खरिद गर्दा यही मूल्यमा भने पाउँदैनन् । व्यवसायीले ज्याला–जर्तीको शुल्क जोडेर थप मूल्य बढाउने गरेका छन् । औसत १२ प्रतिशत ज्यालाजर्ती जोड्दा प्रतितोला २३ हजार ९ सय २८ रुपैयाँ थपिन्छ । सर्वसाधारणले सुनका गहना किन्नुपरे २ लाख २३ हजार ३ सय रुपैयाँ तिर्नुपर्छ ।
चालु आर्थिक वर्षबाट सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हीरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय भइसकेको छ । यसअघि १० लाख रुपैयाँभन्दा माथिका सुन तथा सुनका गरहगना, हीरालगायतमा २ प्रतिशत विलासिता लाग्ने गरेको थियो । यो नीति कार्यान्वयन भए मूल्य स्वतः बढ्ने व्यवसायी बताउँछन् ।विलासिता कर र भ्याट सरकारले साउन १ देखि अनिवार्य कार्यान्वयन भएको बताउँदै आएको छ ।
तर महसंघले शुक्रबार तोकिएको मूल्यमा २ प्रतिशत कर नजोडेको दाबी गरेको छ । ‘अहिले महासंघले सुनको आधार मूल्य तोकेको हो, यसमा कर जोडिएको छैन । २ प्रतिशत विलासिता कर जोडिए प्रतितोला २ लाख ४ हजार रुपैयाँ नाघ्छ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘करको विषयमा स्पष्ट पार्न कार्यदल गठन गरिएको छ । कार्यदलको अन्तिम प्रतिवेदन सार्वजनिक नभएसम्म पुरानै बिलमा कारोबार हुन्छ । मूल्य निर्धारण गर्दा २ प्रतिशत विलासिताको कर जोडिँदैन ।’
सरकारले २ प्रतिशत कर लगाउने निर्णयसँगै गहना व्यवसायी करिब दुई महिनादेखि चरणबद्ध आन्दोलनमा थिए । बजेट भाषणलगत्तै विरोध जनाएका उनीहरू संघर्ष समिति बनाएर प्रदर्शनमा उत्रिएका थिए । आफ्नो माग सम्बोधन गराउन विभिन्न राजनीतिक दल र निजी क्षेत्रका छाता संगठनलाई दबाब दिएका थिए । त्यसपछि अर्थ मन्त्रालयको नेतृत्वमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिसहितको कार्यदल गठन गरिएको हो ।
कार्यदलले कुन–कुन तहमा बिलासिता कर लगाउने निष्कर्षसहितको प्रतिवेदन बनाउनेछ । त्यसपछि मात्रै कार्यान्वयनमा जाने उनीहरूको अडान छ । ‘सम्भवतः मंगलबारसम्म केही टुंगो लाग्छ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘त्यसका आधारमा मूल्य निर्धारण हुन्छ । २ प्रतिशत कर थपिँदा मूल्य थप बढ्छ ।’
अन्तर्राष्ट्रिय बजारको मूल्य र विनियम दरका आधारमा मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । सरकारी कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत (बैंक र व्यवसायी गरी १ प्रतिशत) मुनाफा लिन पाउँछन् । त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) र भन्सार शुल्क पनि जोडिन्छ ।
अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई सुन आयातको अनुमति छ । बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँ बढेको छ । साउन १६ मा प्रतितोला चाँदीको मूल्य २२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । साउन २३ सम्म आइपुग्दा प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
एक सातायता सुनको मूल्य (प्रतितोला)
साउन १६ : १ लाख ९३ हजार १ सय
साउन १८ : १ लाख ९६ हजार ५ सय
साउन १९ : १ लाख ९६ हजार ६ सय
साउन २० : १ लाख ९८ हजार ५ सय
साउन २१ : १ लाख ९८ हजार ४ सय
साउन २२ : १ लाख ९८ हजार ४ सय
साउन २३ : १ लाख ९९ हजार ४ सय
