निर्माणाधीन पुल पूरा गर्न बजेट छैन, खोलामा बग्छन् गाडी

गुल्मीमा २२ करोडका पुलको ठेक्का सकिने बेलासम्म ५ करोड मात्र भुक्तानी

श्रावण २४, २०८२

गगनशिला खड्का

There is no budget to complete the under-construction bridge, vehicles are flowing in the river

What you should know

गुल्मी — गत मंगलबार गुल्मीको चन्द्रकोटबाट बुटवल जाँदै गरेको बीएए ००१७ नम्बरको कार गुल्मीको सत्यवती–६ स्थित डहरे खोलाले बगाउँदा तीन यात्रु हाम फालेर जोगिए । कार ५० मिटर तल बगरमा अड्कियो ।

सोही खोलाले २०७८ कात्तिक १ मा बुटवलबाट बामीटक्सार जाँदै गरेको लु १ ज ३४३२ नम्बरको जिप पनि बगाएको थियो । यात्रुहरु पहिल्यै ओर्लेर ज्यान जोगाए पनि कार बडिगाड खोलामा बेपत्ता भयो ।

बुटवल–बुर्तिवाङ सडकमा पर्ने उक्त खोलामा बर्खामा दिनहुँ बाटो अवरुद्ध हुने समस्या यहाँका यात्रुका लागि सामान्य जस्तै हो । किनकि कालोमाटोको बगरमा गाडी हिँड्दा लेदोसँगै बग्छ । कहिले डोजरले गाडी तानेर पार गराउनुपर्छ भने कहिले लामो समय कुरेर पानी बन्द भएपछि गन्तव्यतर्फ लाग्छन् ।

डहरेले जस्तै गाडी नबगाए पनि सोही सडकखण्डका नादेवा, डहरे र भार्सेखोलामा बाढी आएपछि लामो समय सडक अवरुद्ध भइरहन्छन् । चारवटै खोलामा निर्माणाधीन पुल ठेक्काको किस्ता रकम भुक्तानी गर्ने बजेट विनियोजन नहुँदा अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय पाल्पाले २२ करोड लागतमा निर्माण गर्ने गरी २०८० जेठ २२ मा ठेक्का सम्झौता गरेका ती पुल सकिने बेलासम्म जम्मा ५ करोड रुपैयाँ मात्र भुक्तानी भएको निर्माण कम्पनी निर्माण कम्पनी राजेश्वरी लुम्बिनी जेभीका प्रमुख भगवत गिरीले बताए ।

‘डहरे खोलाको ४० मिटर लामो पुल ढलान भइसक्यो, पैसा भए एक सातामा गाडी चल्ने बनाउन सकिन्छ, अरू ३ वटा पुलको पिलरको काम सकिएको छ तर ढलान गर्ने पैसा छैन,’ उनी भन्छन्, ‘बैंकबाट लोन लिएर पुल बनाइयो, ठेक्काको रकम भुक्तानी हुँदैन, अब निर्माण व्यवसायी नै बैंक लिलामीमा पर्दै छन् ।’

समयमा भुक्तानी भएको भए चारवटै पुल गत वैशासमा सम्पन्न भइसक्ने उनको दाबी छ । ठेक्काको म्याद यही साउनसम्म मात्र छ । आफूले अन्य निर्माणका काम समयभन्दा अगाडि नै सम्पन्न गरेर बुझाएको रेकर्ड भए पनि ती पुलका लागि बजेट नै नदिइएकाले बैंकको ऋणले मात्र थेग्न नसकेको उनी बताउँछन् । चौथो रनिङ बिलबापत्को रकम ७ करोड ६० लाख १६ हजार ४ सय ११ रुपैयाँको बिल गत असारमा डिभिजन सडक कार्यालय पाल्पामा बुझाए पनि अहिलेसम्म भुक्तानी हुन नसकेको उनले जनाए । तर उक्त बिलको रकम भुक्तानी गर्ने बजेट नै नभएको गिरीको भनाइ छ ।

‘यो आर्थिक वर्षका लागि जम्मा ६ करोड विनियोजन भएको छ । गत वर्षको बिलको भुक्तानी पाउनै २०८३ सम्म पर्खनुपर्ने भयो,’ उनी भन्छन्, ‘पुरानो रनिङ बिलको रकम नै भुक्तानी नभएपछि बाँकी काम कसरी गर्ने ?’

काम गरेअनुसारको बजेट नआउँदा समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतम बताउँछन् । ‘काममा ढिलाइ भएको होइन, डहरेमा ८५ प्रतिशत र चारवटा पुलको समग्रमा ५० प्रतिशत काम भएको छ । तर हामीले निर्माण व्यवसायीलाई भुक्तानी दिन सकेनौं,’ गौतमले भने, ‘गत वर्षको भुक्तानी बाँकी मात्रै सात करोड जति छ, यो वर्ष जम्मा ६ करोड बजेट छ, थप भएन भने यो बजेटले गत वर्षको बाँकी भुक्तानी दिन पनि नपुग्ने अवस्था छ ।’

कार्यालयले गतवर्षको भुक्तानीका लागि रकम माग गरेर सडक विभागमार्फत अर्थ मन्त्रालयमा फाइल पठाएको गौतमले जनाए । ‘कम से कम गत वर्षको बाँकी भुक्तानीको व्यवस्था भयो भने यो वर्ष विनियोजित ६ करोडबाट नयाँ काम गर्न सकिन्थ्यो भनेर फाइल पठाएका छौं,’ उनले भने । बजेट भयो भने काम यो वर्ष सक्ने निर्माण व्यवसायीको प्रतिबद्धता रहेको गौतमको भनाइ छ । डहरे खोलामा पहुँचमार्ग मात्र बनाउने हो भने गाडी चल्न सक्ने भएकाले आउँदो दसैंसम्म सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

यो सडक बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका, मुसीकोट नगरपालिकासहित पाल्पा, गुल्मी हुँदै बाग्लुङ बुर्तिबाङ र रुकुमपूर्व पुग्ने छोटो बाटो हो । उक्त सडक र पुलका लागि बजेट छुट्याउने र ठेक्का प्रक्रियाको विषयमा राजनीतिक दलहरुमा जस लिने होडबाजी थियो । तर पुल सम्पन्न गर्न पर्याप्त बजेट नआएपछि स्थानीयले उनीहरुका पुराना फेसबुक पोस्ट उप्काएर आलोचना गर्न थालेका छन् ।

चारवटै पुल यस क्षेत्रका सांसद चन्द्र भण्डारीले २०८१ कात्तिकमा शिलान्यास गरेका थिए । राज्यको गलत नीति, कर्मचारीको गलत नियत र राजनीतिक दलको अस्वस्थ्य प्रतिस्पर्धाले निर्माणाधीन योजनामा पर्याप्त बजेट नछुट्टिने र योजना अलपत्र पर्ने यस क्षेत्रबाट निर्वाचित सांसद चन्द्र भण्डारी बताउँछन् । ‘यस्ता खालको योजनामा तिर्नुपर्ने दायित्व ५५ करोड रहेछ,’ उनले भने, ‘हामीले जिल्लाका पुल समयमै सम्पन्न गर्न हरसम्भव पहल गरेका छौं ।’

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully