विद्यार्थीसँगको अन्तर्कियामा युवा उद्यमीहरूले आफ्ना अनुभव साटासाट गरे भने विद्यार्थीलाई नयाँ व्यवसायको सम्भावनाबारे पनि मार्गचित्र प्रस्तुत गरे ।
What you should know
काठमाडौँ — 'उद्यमशील यात्रामा युवाका पाइला' विषयमा शार्क ट्यांक नेपालका शार्कहरूले युवा विद्यार्थीसँग बिहीबार राजधानीमा अन्तर्किया गरेका छन् । काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तर्कियामा युवा उद्यमीहरूले आफ्ना अनुभव साटासाट गरे भने विद्यार्थीलाई नयाँ व्यवसायको सम्भावना भावनाबारे पनि मार्गचित्र प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै युवा उद्यमी, पद्मज्योति ग्रुपका चेयरमेन सौरभ ज्योतिले व्यवसायमा चुनौती ज्यादा भए पनि प्रतिस्पर्धा भने अझै कम रहेको विचार व्यक्त गरे । 'युवाहरू सम्भावना खोज्दै विदेशतिर गइरहेका छन्, तर यहीँ पर्याप्त सम्भावना छन्,' उनले भने, 'नेपाली कामदार स्वदेशमा रहँदा कामका अतिरिक्त अन्य विषय र सामाजिक सञ्जालमा बढी व्यस्त हुन्छन् तर त्यही कामदार विदेसिएपछि अर्को देशका लागि भने पूर्ण रूपमा दत्तचित्त भई बाह्रदेखि अठार घन्टासम्म काम गर्न तयार छन् ।'
युनाइटेड ट्रेडर्स सिन्डिकेटकी म्यानेजिङ डाइरेक्टर ऋतु सिंह वैद्यले जुनसुकै व्यवसाय फस्टाउनका लागि त्यसको जग बलियो हुनुपर्ने विचार व्यक्त गरिन् । 'त्यसका लागि सबैभन्दा पहिले शिक्षा राम्रो र पूर्ण हुनुपर्छ । यसका साथमा व्यक्तित्व पनि साथसाथै विकास गर्दै लानुपर्छ,' उनले भनिन्, 'जसले समय जहाँ खर्च गर्छ, उसले त्यही क्षेत्रमा सफलता प्राप्त गर्छ ।'
आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकालले सफलताका पछाडि आफूले गरेका हजारौं असफलता पनि हुने भनाइ राखे । 'व्यवसायीका लागि आफ्ना त्यही गल्ती नै विश्वविद्यालय हुन् । सधैं सफलता मिल्छ भन्ने छैन । हरेक असफलताबाट पाठ सिक्दै अगाडि बढ्ने साहस जुटाउनुपर्छ,' उनले भने ।
अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले नयाँ पुस्ताले तत्कालै नतिजा खोज्ने गरेकाले धैर्य अपनाउनुपर्नेमा जोड दिए । 'आजको प्रविधिपूर्ण समाजमा नयाँ पुस्ताले तुरुन्तै नयाँ सूचना प्राप्त गर्न सक्छ तर सफलताका लागि धैर्य र चुनौती दुवैको सामना गर्न सक्नुपर्छ ।'
ग्लोबल कलेज अफ म्यानेजमेन्टको सोसल क्लबले गरेको यस कार्यक्रममा विद्यार्थीले आगामी दिनमा आफूले कस्तो व्यवसायमा लाग्ने, व्यवसाय कसरी सुरु गर्ने जस्ता जिज्ञासा राखेका थिए ।
