विषयगत समितिबाट साउनदेखि प्रदेशहरूले लाइसेन्स छाप्ने भनेर निर्णय गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।
काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘अर्जेन्ट’ चाहिनेलाई चौबीस घण्टाभित्र उपलब्ध गराउँदै आएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताएका छन् । ‘यो सेवा सुरक्षाकर्मी, वैदेशिक रोजगारमा जानेका लागि मात्र होइन,’ उनले भने, ‘अन्यलाई पनि उपलब्ध छ, त्यसका लागि विभागले उपलब्ध गराउने निवेदन पेस गर्नुपर्नेछ, व्यक्ति नै विभागमा उपस्थित हुनुपर्छ ।’
विषयगत समितिबाट साउनदेखि प्रदेशहरूले लाइसेन्स छाप्ने भनेर निर्णय गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । ‘साउनसम्म छाप्न बाँकी पुरानो लाइसेन्स साढे २३ लाख छ, यसका लागि सेक्युरिटी प्रिन्टिङ प्रेससँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भने, ‘तीन महिनाभित्र सबै लाइसेन्स छापिसक्ने जानकारी पाएका छौं ।’
लाइसेन्स नागरिक एपमा जोडिएकाले प्रिन्ट नचाहिने उनको भनाइ छ । ट्राफिक प्रहरीले चिट काट्दा डिजिटल्ली काट्ने र भुक्तानी हुने व्यवस्था गरिएको उनले बताए । ‘कति त प्रिन्ट नै चाहिन्छ भनेर आउनुहुन्छ, त्यसैले साउनसम्म बाँकी छापेर वितरण गर्नेछौं,’ उनले भने, ‘त्यसपछि प्रदेशहरूले आ–आफ्नो तरिकाले प्रिन्ट गर्ने व्यवस्था गर्नेछन् ।’
बागमती प्रदेशले लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद गरिसकेको छ ।
