राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप संकलन उपकरण बोलकबोलमा सहभागी हुन दिउँसो ३ बजेसम्मको समयसीमा दिएको छ।
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो।
यसका लागि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यसरी खरिद गरिएको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) झन् बढेको छ।
गएको वर्ष ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा बढेर साढे १० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ। कर्जा माग विस्तार हुन नसकेपछि हरेक साता दुई बजारबाट पैसा तान्नुपर्दा राष्ट्र बैंकले ब्याज भुक्तानीका लागि करिब १० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
