पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा यस्तो मल बिक्री भइरहेको छ । सीमावर्ती जिल्लाका सर्वसाधारण वर्षौंदेखि भारतीय मलमै निर्भर छन् ।
What you should know
भैरहवा — लुम्बिनीका सीमावर्ती जिल्लामा कम गुणस्तरको मल छ्यापछ्याप्ती भएपछि किसान अन्योलमा परेका छन् । खुला नाकाको फाइदा उठाउँदै कमसल युरिया र डीएपी मल भित्रिएको हो । यससँगै प्राङ्गारिक मलका नाममा पनि अवैध र गुणस्तरहीन मल भित्रिरहेको किसानको गुनासो छ ।
नेपालमा मल अभावको मौका छोपेर भारतबाट गुणस्तर परीक्षणबिनै मल भित्र्याउने गरिएको हो । स्थानीय बजारमा थरीथरीका मल बिक्री हुँदा कुन उपयुक्त हो भन्ने छुट्याउन नसकिने अवस्था भएको किसान बताउँछन् ।
प्रदेशका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा यस्तो मल बिक्री भइरहेको छ । सीमावर्ती जिल्लाका सर्वसाधारण वर्षौंदेखि भारतीय मलमै निर्भर छन् । उनीहरू प्रत्येक बिहान नाकामा पुगेर मल खरिद गरेर ल्याउँछन् । तर, आफूले किनेको मलको गुणस्तरबारे उनीहरू अनभिज्ञ छन् । ‘गाउँमा मल पाइँदैन,’ रूपन्देहीको मर्चवारी–५ का श्रीकृष्ण चौधरीले भने, ‘बजारमा जे पाइन्छ, त्यही प्रयोग गर्छौं ।’ ग्रामीण क्षेत्रमा मलको गुणस्तर परीक्षण सुविधा नरहेकाले त्यसतर्फ ध्यान नजाने उनले बताए ।
कृषि मन्त्रालयबाट अनुमति नलिए पनि भन्सार हुँदै मल भित्रिरहेको रूपन्देहीका मल उद्योगीले बताए । सरकारको नीतिभन्दा बाहिर गएर केही व्यवसायीले भन्सार नाकाबाटै सोइल कन्डिसनर, रक फस्फेट प्रोम मल (पी२ओ५) १० प्रतिशतजस्ता मल भित्र्याइरहेको उद्योगीको भनाइ छ । रोहिणी गाउँपालिका–४ स्थित ग्रोमोर फर्टिलाइजरका सञ्चालक सिद्धार्थ अग्रवालले मापदण्ड र गुणस्तरहीन मल आयात भइरहँदा पनि सरकारी पक्ष चुप लागेर बसेको जनाए ।
बजारमा नक्कली मल छ्यापछ्याप्ती भएपछि ग्रोमोरले भन्सार विभागका महानिर्देशकलाई पत्र लेख्दै भन्सार र खुला नाकाबाट आयात भइरहेको मापदण्डविपरीतको मल रोक्न आग्रह गरेको छ । ‘केही व्यापारीले भन्सार नाकाबाटै स्वीकृतिबिना मल भित्र्याइरहेका छन्, जसमा भन्सार र भ्याट पनि लाग्दैन,’ पत्रमा भनिएको छ, ‘यसै क्रममा ३० महिनाअगाडि भैरहवा भन्सार कार्यालयबाट भन्सार तिरेर भित्रिएको मल जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई कृषि कार्यालयमा बुझाउँदा मल आयात गर्ने प्रक्रिया अवैधानिक रहेको भनेर जफत गरिएको थियो ।’ यो उद्योग लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा सूचीकृत छ ।
भारतीय बजारबाट अवैध तरिकाले भित्रिने मल नेपाली बोरामा प्याकिङ गरिएको र नेपाली भाषामै स्वदेशी मल भनेर लेखिएको पाइन्छ । साथै सरकारी मापदण्ड पालना नगरिएको पाइएको अग्रवालको दाबी छ ।
कमसल मल बिक्रीका लागि गाउँगाउँ र साना बजारमा डिलर बनाइएको छ । किसानका अनुसार अहिले बजारमा किसान गोल्ड, गोरखाली शक्ति रासायनिक मल, श्री किसान नवरत्न, एनपीएल सरदार मिश्रित दानेदार मल, शुभ सरदार, किसान शक्ति, किसान मल नामका मल जहाँतहीं बिक्री भइरहेका छन् ।
सरकारले आयात गर्ने रासायनिकबाहेक अन्य मल नाकाबाट नभित्रिएको भैरहवा भन्सारका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताए । ‘पछिल्लो वर्षको तथ्यांकमा कुनै ट्रेडर्सले मल आयात गरेको देखिँदैन,’ उनले भने, ‘त्यसैले वैधानिक किसिमबाट मल आयात भएको छैन ।’ सीमा क्षेत्रमा कडाइ गरिएकाले अवैध मल आयात रोकिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टको दाबी छ । ‘कुनै किसिमको अवैध मल आयात भएको छैन । नाकामा कडाइ गरेका छौं, नक्कली मल भित्रिन नदिन सबै जिल्लालाई पुनः निर्देशन गर्छु,’ उनले भने ।
कृषि विज्ञका अनुसार गुणस्तर नै जाँच नगरिएको मल प्रयोग गर्दा माटोमा अम्लीयपना आउने, खेतबारीको माटो कसिलो हुने, उत्पादन र उत्पादकत्वमा ह्रास आउने हुन्छ । मल प्रयोग गर्दा खाद्यतत्त्व पूरा भएको प्रयोग गर्नुपर्नेमा कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव अर्यालको जोड छ ।
‘सरकारले आयात गर्ने मलमा बालीलाई चाहिने पोषकतत्त्व हुन्छ, यसले बालीलाई फाइदा गर्छ,’ उनले भने, ‘तर खुला नाकाबाट आयातित मलमा नाइट्रोजन, पोटासियमलगायतका तत्त्व कति छ भन्ने यकिन छैन, त्यसैले यस्ता मल प्रयोग गर्दा सावधान हुनुपर्छ ।’ कानुनसम्मत उत्पादित र सरकारी तहबाट आयात गरेका मल मात्रै प्रयोग गर्न उनले किसानलाई सुझाए ।
