सुदूरपश्चिममा सकियो रोपाइँ, मधेशमा ५७ प्रतिशत मात्र

मुलुकभर १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन १८ सम्म ८३.८८ प्रतिशत अर्थात् ११ लाख ५६ हजार ६ सय ८७.८ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

श्रावण २१, २०८२

राजु चौधरी

Planting in the Far West has been completed, only 57 percent in Madhesh

What you should know

काठमाडौँ — साउन सकिन दुई साता बाँकी छँदा मुलुकभर ८४ प्रतिशत रोपाइँ भएको छ । यही बेला सुदूरपश्चिममा लगभग रोपाइँ सकिएको छ । अन्न भण्डारका रूपमा परिचित मधेशमा भने करिब आधाआधी अर्थात् ५७.२८ प्रतिशत मात्र रोपाइँ भएको छ । समयमै मनसुन सक्रिय भए पनि मधेशका जिल्लामा पानी नपर्दा यस पटक रोपाइँ ढिला भएको हो । 

मुलुकभर १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । साउन १८ सम्म ८३.८८ प्रतिशत अर्थात् ११ लाख ५६ हजार ६ सय ८७.८ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०८१ साउन २० सम्म बर्खे धान रोपाइँ ९६.४७ प्रतिशत भएको थियो । यस पटक भने मधेशमा देखिएको खडेरीले अहिलेसम्म देशभर ८३.८८ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

मधेशमा २ लाख १३ हजार ४ सय ३८ हेक्टरमा रोपाइँ भएको छ । यो ५७.२८ प्रतिशत हो । यस प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपाइँ हुन्छ । २०८१ साउन २० सम्म भने ९५ प्रतिशत रोपाइँ भएको थियो । 

खडेरीकै कारण ब्याडका बीउ कहीँ जलेको, कहीँ सुक्न लागेको, इनार र बोरिङ सुकेर खानेपानीको समेत हाहाकार भएको मधेशमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ बाली विकास अधिकृत मुकुन्द भुसालले जनाए । रोपाइँ गरिएको खेतमा थप सिँचाइ पुर्‍याउन नसक्दा धान बाली नराम्ररी प्रभावित भएर खेतमा चिरा परी धाँजा फाटेको थियो । भूमिगत पानीको सतह घटेका कारण बोरिङबाट सानो पानी आउनेलगायत समस्या मधेशमा देखिएको उनको भनाइ छ । 

सुक्खा भएकै कारण सरकारले मधेशलाई संकटग्रस्त घोषणा गरिसकेको छ । मधेशका जिल्लामा ५ सय डिप बोरिङ राख्ने कार्यक्रम घोषणा गरेको छ । तर कार्यान्वयनमा ढिलाइ गर्दै आएको छ । सोही कारण रोपाइँमा कमी आएको जानकार बताउँछन् ।केही दिनयता मधेशमा पानी पर्न थालेपछि किसान उत्साहित छन् ।

मधेशको धान रोपाइँमा पनि सामान्य सुधार भएको छ । यहाँ एक सातामा २० हजार ३ सय २२ हेक्टरमा रोपाइँ भएको केन्द्र प्रमुख केशव देवकोटाले जनाए । २०८२ साउन ११ सम्म मधेशमा १ लाख ९३ हजार १ सय १६ हेक्टरमा रोपाइँ भएको थियो । साउन १८ सम्म २० हजार ३ सय २२ हेक्टरमा रोपाइँ थपिएर २ लाख १३ हजार ४ सय ३८ हेक्टर पुगेको केन्द्रको भनाइ छ । 

केन्द्रले प्रदेशअन्तर्गत कृषि मन्त्रालयसँग रोपाइँको विवरण माग्छ । प्रदेश मन्त्रालयले कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्रसँग र केन्द्रले नगर–गाउँपालिकासँग रोपाइँको विवरण माग गर्छ । सोही आधारमा केन्द्रले रोपाइँको विवरण उपलब्ध गराउने गरेको छ । ‘पछिल्लो रोपाइँमा सुधार छ । केही दिन लगातार पानी परे मधेशमा पनि रोपाइँ राम्रो हुन्छ,’ देवकोटाले भने । तर ढिला गरी हुने रोपाइँले उत्पादन, उत्पादकत्वमा केही कमी आउने जानकार बताउँछन् । यसपालि धान उत्पादन घटेर आयात बढ्नेमा कृषि मन्त्रालय पनि ढुक्क छ । 

आर्थिक वर्ष २०८१/८२ मा धान र धानको बीउ गरी ५३ करोड ३७ लाख १५ हजार २ सय ५९ केजी आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त परिमाण आयात गर्दा २१ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बाहिरिएको छ । १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँको २४ करोड १५ लाख ५३ हजार ३ सय २५ केजी चामल आयात भएको छ । यस पटक थप बढ्ने मन्त्रालयको अनुमान छ । 

केन्द्रको तथ्यांकअनुसार मधेशसँगै कोशी र कर्णालीमा पनि कम रोपाइँ भएको छ । कोशीमा ८९ प्रतिशत रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । गत वर्ष साउन २० गतेसम्म ९५ प्रतिशत रोपाइँ भएको थियो । गण्डकीमा ८८.९७ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाइँ हुन्छ । 

गत वर्ष साउन २० गतेसम्म ९६ प्रतिशत रोपाइँ भएको थियो । केन्द्रको विवरणअनुसार सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । कर्णालीमा ९६.४७ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष साउन २० सम्म कर्णालीमा ९९ प्रतिशत रोपाइँ सकिएको थियो ।

कर्णालीमा ४१ हजार ४२ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यस्तै, लुम्बिनीमा ९५.९६ प्रतिशत रोपाइँ भएको छ । गत साउन २० सम्म ९७ प्रतिशत रोपाइँ भएको थियो । बागमतीमा भने ९२.९२ प्रतिशत रोपाइँ सकिएको छ । गत साउन २० सम्म ९७ प्रतिशत सकिएको थियो ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully