यसअघि नेपालको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल) ले ३८६ परीक्षण प्यारामिटरमा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यस पटक एनएफएफआरएलले ८१४ परीक्षण प्यारामिटरमा मान्यता पाएको हो ।
What you should know
काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको खाद्यवस्तु समूहको परीक्षणले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । भारतको नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटरिज (एनएबीएल) ले खाद्य प्रविधिलाई २ वर्षे पारस्परिक मान्यता दिएको हो ।
यसअघि नेपालको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल) ले ३८६ परीक्षण प्यारामिटरमा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यस पटक एनएफएफआरएलले ८१४ परीक्षण प्यारामिटरमा मान्यता पाएको हो ।
भारतबाट मान्यता पाएपछि अब निर्यातमा विश्वभर मान्यता पाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जनाए । ‘यो अन्तर्राष्ट्रिय संस्था हो, यसका क्षेत्रीय संस्था ६ वटा छन् । ६ मध्ये कुनै एक संस्थाबाट मान्यता पाए विश्वभर नै मान्य हुन्छ,’ महानिर्देशक कर्णले भने, ‘नेपालका लागि ठूलो उपलब्धि हो, यो निर्यातमा महत्त्वपूर्ण सावित हुन्छ ।’
विभागका अनुसार एनएफएफआरएलले सन् २०१२ मा २७ वटा केमिकल प्यारामिटरबाट मान्यता पाउन सुरु गरेको थियो । सन् २०१५ मा २२ वटा केमिकल तथा १७ वटा माइक्रोबायोलोजिकल गरी ३९ प्यारामिटरबाट मान्यता पाएको थियो । सन् २०१९ मा ७८ वटा केमिकल तथा २४ वटा माइक्रोबायोलोजिकल गरी १०२ वटा परीक्षण प्यारामिटरका लागि एनएबीएलबाट मान्यता प्रमाणपत्र पाएको विभागका सूचना अधिकारी मोहनकृष्ण महर्जनले जनाए ।
निर्यातका क्रममा भन्सारमा झन्झट र अवरोधको समस्या थियो, अब खाद्य प्रविधिले परीक्षण गरेर दिने प्रमाणपत्रले निर्यात सहज हुन्छ : सञ्जीवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसन् २०२३ मा २४५ वटा केमिकल तथा ४१ वटा माइक्रोबायोलोजिकल गरी २८६ वटा परीक्षण प्यारामिटरका लागि एनएबीएलले मान्यता दिएको थियो । सोही अवधिमा २८८ वटा केमिकल तथा ६२ वटा माइक्रोबायोलोजिकल गरी ३५० वटा प्यारामिटर भारतको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटीबाट प्रमाणपत्र पाएको महर्जनले जनाए ।
‘खाद्य र भारतको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटीबीच भएको एमओयूका आधारमा २२ चैत २०८१ भारतमा आयात प्रयोजनका लागि मान्यता दिने गरी आदेश जारी भइसकेको छ । भारतले पहिलो चरणमा विभिन्न ८ प्रकारका खाद्यवस्तु जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूललाई प्रदान गर्ने परीक्षण प्रतिवेदनलाई मान्यता दिने निर्णय गरिसकेको छ,’ महर्जनले भने, ‘सन् २०२४ सम्म नेपालको प्रयोगशालाको एक्रिडिटेसन क्षेत्रभित्र कुल ३८६ वटा विश्लेषण प्यारामिटर थियो । सन् २०२५ मा विभागले विस्तार गरेर ६७२ वटा केमिकल पारामिटर तथा १४२ माइक्रोबायोलोजिकल पारामिटर गरी ८१४ वटा परीक्षण प्यारामिटर एक्रिडिटेसन क्षेत्र विस्तार भएको छ । यो मुलुकका लागि कोसेढुंगा हो ।’
अहिले खाद्यवस्तु निर्यात गर्दा भन्सार नाकामा गुणस्तरको नाममा उद्योगी व्यवसायीले झन्झट व्यहोर्दै आएका छन् । निर्यातकै क्रममा गुणस्तरको प्रमाणपत्र विवादमा सामान अलपत्र पर्दै आएको छ । त्यस्तै, निर्यात हुने वस्तु भन्सारमा रोकेर गुणस्तर परीक्षण गर्न दिल्ली, कोलकाता, लखनउलगायत क्षेत्रमा पुग्नुपरेको छ । १० खाद्य समूहका ८१४ प्यारामिटरमा अन्तर्राष्ट्रिय मान्यताले भन्सारमा हुने झन्झटिलो प्रक्रिया अन्त्य हुने विभागको दाबी छ ।
‘२२ खाद्यवस्तु समूहमा बेकरी, बेभरेज, कन्फेसनरी, खाद्यान्न, खाने तेल, फलफूल, जडीबुटी, मह, चिनी, चिया तथा कफी, मासु, पानी, पशुका खानेकुरालगायत वस्तु खाद्यवस्तुमा पर्छन् । अब खाद्यले वस्तुको गुणस्तरको सुनिश्चितता गर्छ । ब्याच प्रमाणीकरण गराएर प्रमाणपत्र उपलब्ध गराउँछ,’ महानिर्देशक कर्णले भने, ‘त्यसका आधारमा निर्यात सहज हुन्छ । भन्सार नाकामा हुने अवरोधको अन्त्य हुन्छ ।’
कर्णका अनुसार एनएबीएलले मान्यता दिएपछि अमेरिका, जापान, बेलायत, यूएईलगायत देशमा सहजै निर्यात भएको छ । भारत निर्यातका क्रममा केही ऐनले अप्ठ्यारो बनाए पनि पत्राचार गरिसकेको उनले जनाए । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्मकै बढी २ खर्ब ७७ अर्ब ३ करोडको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८०/८१ मा समग्र निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको थियो । महानिर्देशक कर्णका अनुसार निर्यात गर्ने सम्बन्धित मुलुकका लागि व्यवसायीलाई प्रमाणपत्र दिइन्छ । परीक्षण प्रतिवेदनसँगै निर्यात प्रयोजनका लागि खाद्य स्वच्छताको प्रमाणपत्र उपलब्ध गराउँदा निर्यातमा अवरोध हट्ने उनले जानकारी दिए ।
