धुलो र हिलो रहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकता : उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्रीले झापादेखि कञ्चनपुरसम्म सडक स्तरोन्नति सुरु भएको र गुणस्तरीयता कायम राख्न जोड दिए।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Construction of road infrastructure without dust and mud is the highest priority of the government: Deputy Prime Minister Paudel

What you should know

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे । 

उपप्रधानमन्त्री पौडेलले भने, 'हामीले त्यसलाई स्तरोन्नति गर्दछौँ। झापाको काँकडभित्तादेखि कञ्चनपुरसम्म हामीले सडक स्तरोन्नति गर्दछौँ। विभिन्न ठाउँमा काम सुरु भइरहेको छ। हामीले हुलाकी सडक, लामो समयदेखि प्रतीक्षा गरिएको सडक, निर्माण गरिरहेका छौँ। हामीले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दछौँ। त्यो लोकमार्ग औसत स्तरको मात्र होइन, साँच्चिकै मध्यपहाडको यातायातको विकास गर्ने दृष्टिकोणले महत्त्व राख्ने सडकका रूपमा विकास गर्दछौँ। सहरी पूर्वाधारहरूमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ।'

उनले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए। उनले सरकारले पूर्व–पश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी दिए । आवश्यक परेका ठाउँमा नीतिहरू संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए ।

उनले बजेट निर्माणमा दिएको सुझाव जस्तै प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक सुधार भइरहेको बताए ।

उनले भने, 'सहरी पूर्वाधार अन्तर्गत सहरमा धुलो र हिलो रहित सडक बनाउँछौँ। एउटा यस्तो समय थियो, सडकमा निस्किएपछि त्यहाँ कि त धुलो हुन्छ, कि त हिलो हुन्छ। धुलो बिनाको सडक, हिलो बिनाको सडक हुन्छ भनेर नेपालीले आफ्नो आँगनमा देख्न नपाउने अवस्था थियो। अब हामी सडक पूर्वाधारको सन्दर्भमा धुलोरहित र हिलो रहित सडकको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउँदै छौँ। सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौँ।’

उपप्रधानमन्त्री पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताउनुभयो। तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरू भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने बताए ।

कान्तिपुर

Link copied successfully