अचार निर्यात हरेक वर्ष बढ्दै

कोरोना महामारीपछि स्वदेशमा उत्पादित अचारको माग अन्तर्राष्ट्रिय बजारमा बढेको छ, विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय हुँदै गएको छ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Pickle exports are increasing every year

What you should know

काठमाडौँ — पछिल्लो समय नेपाली अचारको निर्यात बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांकअनुसार बर्सेनि अचारको निर्यात वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र १८ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको अचार विदेश निर्यात गरिएको छ । सोही अवधिमा ९ करोड २१ लाख ६१ हजार रुपैयाँको अचार आयात गरिएको पनि विभागले जनाएको छ ।

गत वर्ष नेपालले चीन, भारत, कोरिया, युएई र नामिबियाबाट अचार आयात गरेको थियो । सबैभन्दा बढी अचार चीनबाट ४ करोड ७१ लाख २८ हजार, त्यसपछि भारतबाट ४ करोड ४९ लाख २८ हजार रुपैयाँको आयात गरिएको छ । कोरियाबाट ७२ हजार, युएईबाट २७ हजार र नामिबियाबाट ५ हजार रुपैयाँ बराबरको अचार आयात भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै भन्सार विभागले अचार आयात र निर्यातको तथ्यांक राख्न थालेको हो । कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ । स्वदेशमै उत्पादित विभिन्न ब्रान्डका अचार विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय बन्दै गएका छन् । यसैका कारण नेपाली अचारको माग विदेशमा बढेको हो ।

गत आर्थिक वर्षमा नेपालबाट अष्ट्रेलिया, इटाली, युएई, कोरिया, बेल्जियम, बेलायत, जापान, क्यानडा, मलेसिया, डेनमार्क, माल्टा र भारतमा अचार निर्यात गरिएको छ ।

सबैभन्दा धेरै अचार अष्ट्रेलियामा ४ करोड ११ लाख १७ हजार रुपैयाँ बराबर निर्यात गरिएको छ । त्यसपछि इटालीमा ३ करोड ९४ लाख ४६ हजार, युएईमा ३ करोड ६५ लाख ६४ हजार, कोरियामा २ करोड ५० लाख ९१ हजार, बेल्जियममा १ करोड ३५ लाख ४६ हजार र बेलायतमा ८३ लाख ६६ हजार रुपैयाँको अचार निर्यात भएको छ ।

यस्तै, जापानमा ७४ लाख ११ हजार, क्यानडामा ५१ लाख ८६ हजार, मलेसियामा ३१ लाख २६ हजार, डेनमार्कमा २० लाख २१ हजार र माल्टामा ७ लाख ७३ हजार रुपैयाँको अचार निर्यात भएको छ । भारतमा भने अघिल्लो वर्ष एक किलो अचार मात्र निर्यात गरिएको तथ्यांक छ, तर त्यसको मूल्य उल्लेख गरिएको छैन । वर्तमान समयमा ‘आमाको अचार’, ‘शान्ताको अचार’ लगायत ब्रान्डहरू लोकप्रिय भइरहेका छन् । 

Pickle exports are increasing every year

कान्तिपुर

Link copied successfully