एक्स–रे मेसिनमा स्क्यान गराउनेलगायत भन्सारले जाँच गर्ने सबै प्रक्रिया पूरा गरेर जहाजमा लोड हुनै लाग्दा अवैध रूपमा चुरोट निकासी हुन लागेको सूचना भन्सारले पाएको थियो ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सेक्युरिटीको घेरा तोडेर जहाजमा लोड गर्ने क्रममा ठूलो परिमाणमा विदेशी चुरोट बरामद गरिएको छ । विदेश निकासी गर्ने उद्देश्यले कतार उड्न लागेको जहाजमा लोड गर्ने तयारी गरिरहेका बेला विमानस्थल भन्सार कार्यालयले विदेशी २६ र स्वदेशी ६ गरी ३२ कार्टुन चुरोट गत मंगलबार बरामद गरेको हो ।
एक्स–रे मेसिनमा स्क्यान गराउनेलगायत भन्सारले जाँच गर्ने सबै प्रक्रिया पूरा गरेर जहाजमा लोड हुनै लाग्दा अवैध रूपमा चुरोट निकासी हुन लागेको सूचना भन्सारले पाएको थियो । त्यसैका आधारमा यूएई लेखिएको २६ कार्टुन र ६ कार्टुन नेपाली शिखर चुरोट नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको विमानस्थल प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमले जनाए ।
८५ कार्टुन निकासीजन्य सामान जाँचका क्रममा २६ कार्टुन चुरोट पनि एक्स–रे मेसिनमा स्क्यान गरेरै छिराइएको देखिएको उनको भनाइ छ । जाँचपास गरिएको २ सय ८ कार्टुन मालवस्तुमध्ये ६ कार्टुन शिखर चुरोट भेटिएको हो ।
बरामद चुरोट कतार एयरवेजमार्फत विदेश पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विदेशी ब्रान्डका चुरोटको बाहिर यूएई लेखिएको थियो । त्यही आधारमा यूएईमा बनेको अनुमान गरिएको भन्सार अधिकारीहरूले बताएका छन् ।
कार्टुनलाई एक्स–रे मेसिनमा राख्दा चुरोट वा अन्य वस्तु नछुट्टिने भएकाले पहिचानमा समस्या रहेको गौतमको भनाइ छ । ‘चुरोट बरामद भएपछि कर्मचारी र सेक्युरिटीले किन हेरेनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो,’ गौतमले भने, ‘तर, चुरोटको कार्टुन पुनः मेसिनमा राखेर हेर्दा पहिचान गर्न नसकिने रहेछ ।’
निकासीजन्य मालवस्तुलाई जहाजको ढोकामा पुगेपछि मात्र सूचना पाएर बरामद गरिएकाले मिलेमतोबिना सम्भव नभएको भन्सार विभागका अधिकारी बताउँछन् । एक–दुई कार्टुन मात्र नभएर २६ वटा कार्टुनमा घोषणा नगरिएको सामान भेट्नु सेटिङबिना सम्भव नहुने सरोकारवालाको दाबी छ ।
‘कसको कमजोरीले यस्ता सामानलाई भन्सार र सुरक्षा गेट पास दिइयो, हामी गहिराइमा पुगेरै हेर्छौं,’ भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउँछौं ।’
विदेशी चुरोट कसरी नेपाल भित्रियो र नेपालको बाटो भएर फेरि किन विदेश पठाउने कोसिस गरियो, त्यसको पनि छानबिन हुने भन्सार अधिकारीहरू बताउँछन् । घटनाको छानबिनका लागि विमानस्थल भन्सार कार्यालयका उपसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको छ ।
चुरोट राखिएका कार्टुनहरू लन्डन, अमेरिका र अस्ट्रेलिया लैजाने गरी सेटिङ गरेको देखिएको जनाइएको छ । बरामद कार्टुनमा के–कति सामान कति परिमाणमा छन्, यकिन भइनसकेको गौतमले जनाए । विभागले भने भन्सारमा घोषणा नगरेको निकासीका मालवस्तु कसरी जहाजसम्म पुगे, अनुसन्धानको विषय भएको जनाएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर छानबिन समिति बनाइएको महानिर्देशक भट्टराईले जनाए ।
‘कुन सामान कति भन्सारबाट बाहिर गयो, त्यो गौण हो । तर कुन र कस्ता सामान जाँचपास भएर जहाजसम्म पुगे, त्यसमा भन्सार अनभिज्ञ हुनु गम्भीर विषय हो,’ उनले भने । अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सारलाई थाहै नदिई विदेशी मालवस्तु कसरी बाहिर जाँदो रहेछ, यो उदाहरण भएको भन्सारकै कर्मचारी स्विकार्छन् । यस्ता मालवस्तु बेलाबेलामा सेटिङमा जाने गरेको र अहिले कसैले सूचना दिएका कारण बरामद भएको स्रोतको दाबी छ ।
केही समयअघि सर्लाही भन्सारबाट पूर्व ईश्वरपुर नगरपालिकाको गाईफर्मबाट स्विट्जरल्यान्ड ब्रान्डको १ करोड ४० लाख मूल्य बराबरको विदेशी चुरोट बरामद गरिएको थियो । उक्त चुरोटमा ‘प्लाटिनम सेभेन’ पनि लेखिएको सर्लाही भन्सारले जनाएको छ । यस्ता चुरोटको डिमान्ड विशेषतः अस्ट्रेलियामा रहेको भन्सार अधिकारी बताउँछन् । खुला सीमाबाट नेपाल भित्रने र जहाजबाट विदेश पठाउने गरेको उनीहरूको भनाइ छ ।
