यो साता बजारले गत वर्षको उच्चतम कीर्तिमानी तोडेको छ । गत मंगलबार सेयर बजार तीन हजार दुई अंकमा पुगेको थियो ।
What you should know
काठमाडौँ — यो साता सेयर कारोबार मापक नेप्से परिसूचक ६० अंकले घटेको छ । सातामा २ दशमलव शून्य एक प्रतिशतले घटेर नेप्से २९ सय २२ दशमलव ६३ बिन्दुमा ओर्लिएको छ । गत बिहीबार २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झरेको नेप्सेले जनाएको छ ।
यो साता बजारले गत वर्षको उच्चतम कीर्तिमानी तोडेको छ । गत मंगलबार सेयर बजार तीन हजार दुई अंकमा पुगेको थियो । यसअघि २०८१ साउन ३१ मा नेप्से ३ हजार अंक पुगेर ओर्लिएको थियो । यो साता पाँच दिन कारोबार हुँदा तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो । आइतबार १८.४४ अंक घटेको बजार सोमबार ७.१० बढ्यो । मंगलबार ३०.७६ अंक
बढ्यो भने बुधबार ४७.९३ र बिहीबार ३१.५० अंकले घट्यो । नेप्से घट्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १ खर्ब १३ करोड ९७ लाख रुपैयाँले घटेको छ । अघिल्लो बिहीबार ४९ खर्ब ७७ अर्ब ४ करोड ८७ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४८ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख कायम भएको छ । यो साता ४२ कम्पनीको सेयर मूल्य बढ्यो भने २०८ कम्पनीको मूल्य घटेको एनपी स्टक्स डटकमले जनाएको छ ।
यो साता ९६ अबै ८९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । जुन २०८१ भदौ २ यताकै उच्च कारोबार रकम हो । सोमबार १९ अर्ब ३६ करोड, मंगलबार १८ अर्ब ५२ करोड, बुधबार १६ अर्ब ४४ करोड र बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यो साता उत्पादन तथा प्रशोधन, अन्य, व्यापार र विकास बैंक उपसमूह मात्रै बढ्यो । एनपी स्टक्सका अनुसार उत्पादन तथा प्रशोधन १.८०, अन्य १.५४, व्यापार शून्य दशमलव १६ र विकास बैंक शून्य दशमलव शून्य ६ प्रतिशतले बढ्यो । घट्ने उपसमूहमा होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, लगानीलगायत रहे ।
यो साता ट्रेड टावर, सान्भी इनर्जी, समता घरेलु लघुवित्त, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, मुक्तिनाथ कृषि, सिक्लेस हाइड्रोपावर, ग्रिन विकास बैंक, कर्पोरेट विकास बैंक र मैलुङ जलविद्युत्को सेयर मूल्य बढ्यो । यी कम्पनीका लगानीकर्ताको आफ्नो सम्पत्तिको सेयर मूल्य बढ्यो ।
बुटवल पावर कम्पनी, अपर सोलु हाइड्रो, मानुषी लघुवित्त, विन्ध्यवासिनी हाइड्रोपावर, चन्द्रागिरि हिल्स, राप्ती हाइड्रो एन्ड जनरल, माउन्टेन हाइड्रो, श्वेतगंगा हाइड्रो एन्ड कन्स्ट्रक्सन, मनकामना इन्जिनियरिङ हाइड्रो र सानिमा मिडल तमोरको सेयर मूल्य घट्यो ।
यो साता सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद–बिक्री भएको छ । यस रिइन्स्योरेन्सको मात्रै ४ अर्ब ३८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको एनपी स्टक्सले जनाएको छ । शिवम् सिमेन्टको ३ अर्ब ६८ करोड ५३ लाख, हिमालयन डिस्टिलरीको ३ अर्ब ३६ करोड ८८ लाख, नेपाल रिइन्स्योरेन्सको ३ अर्ब ११ करोड ६० लाख, ङादी ग्रुप पावरको २ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै ग्रिन भेन्चर्सको २ अर्ब ४० करोड ४३ लाख, लुम्बिनी विकास बैंकको २ अर्ब ३४ करोड ८ लाख, कालिका पावर कम्पनीको १ अर्ब ८१ करोड ९० लाख, राधी विद्युत् कम्पनीको १ अर्ब ८१ करोड ९० लाख र सानिमा माई हाइड्रोपावरको १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
