१४ अर्ब लागतको परियोजना ५४ महिनामा पूरा हुने, भारतले पाँच अर्ब रुपैयाँ सहयोग गर्ने।
What you should know
चितवन — पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन चितवनको लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि नेपाल आयल निगमगले बल्ल कामको सुरसार गर्दै छ । अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारगृह बनाउने परियोजनाको फिल्ड कार्यालय शुक्रबार उद्घाटन भएको छ ।
परियोजना प्रमुख प्रदिपकुमार यादवले अबको ५४ महिनाभित्र पाइप लाइनसहित भण्डारणस्थलको काम सकिने बताए । ‘धेरै तयारीका साथ काम सुरु भएका कारण ५४ महिना भने पनि मलाई लाग्छ यो काम तीन वर्षभित्रै सकिने छ,’ यादवको दाबी छ ।
यसअघि अमलेखगञ्जसम्मको पाइपलाईन निर्माणमा पनि आफू संलग्न भएको अनुभवको आधारमा समय अगावै काम सकिने आकलन गरेको उनले बताए । आयल निगमले २०७३ सालको फागुनबाट त्यहाँ जग्गा किन्न सुरु गरेको थियो । निगमको नाममा लोथरमा २३ बिघा १२ कट्ठा जग्गा छ ।
बाढीको उच्च जोखिममा रहेको लोथर खोला आडको जग्गा चल्तीको भन्दा बढी मूल्यमा किनेको भनेर विवाद उत्पन्न भएको थियो । खोलासँगै जोडिएको जग्गा खोलाको सहतभन्दा तल छ । निगमगले कूल १४ अर्ब नौ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र भण्डारस्थल बनाउन लागेको हो ।
पाइपलाइनमा चार अर्ब २८ करोड ८० लाख रुपैयाँ र भण्डारगृहको लागत नौ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनको दूरी ६२ किलो मिटर हुने छ । यसअघि भारत मोतिहारिदेखि अमलेखगञ्जसम्म ६९ किलो मिटर पेट्रालियम पाइपलाईन १८ महिनामा तयार भएको थियो ।
अमलेखगञ्जदेखि लोथर जोड्न पुर्व पश्चिम महेन्द्र राजमार्गको समानान्तर पाइपलाइन राखिने छ । पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरमा पनि पेट्रोलियम पदार्थ पठाइने छ । आयल निगमले दिएको जानकारी अनुसार पाइपको ब्यास (गोलाकार) पौने ११ इन्च रहने छ ।
पाइपलाइनबाट प्रति घण्टा २७३ किलो लिटर तेल प्रवाह हुने छ । वर्षमा २० मिलियन (दुई करोड) टन इन्धन ढुवानी गर्न सक्ने पाइपलाइनको क्षमता भएको निगमका उपनिर्देशक रामहरि निरौलाले जानकारी दिए । भण्डारगृहमा उपत्यका बाहिर पहिलो पटक हवाई इन्धन पनि भण्डारण गर्न लागेको उनले बताए ।
भण्डारगृहमा प्रत्येकमा ११ किलो लिटर क्षमता भएका पेट्रोल राख्न सकिने तीनवटा भण्डारणस्थल हुने छन् । जसमा ३३ हजार किलो लिटर पेट्रोल अट्ने छ । त्यसै गरी डिजेल राख्न १५ हजार पाँच सय किलो लिटर क्षमता भएका तीनवटा भण्डारनस्थल हुने छन् । जहाँ ४६ हजार पाँच हजार किलो लिटर डिजेल अट्ने छ । त्यसै गरी प्रत्येकमा आठ सय किलो लिटर अटाउने मट्टीतेलका दुईवटा भण्डारगृह रहने छन् ।
हवाई इन्धनका तीनवटा भण्डारगृह रहने छन् । प्रत्येकमा तीन हजार ६ सय किलो लिटर तेल राख्न सकिने क्षमता भएका ति भण्डारगृहहरुमा १० हजार आठ सय किलो लिटर हवाई इन्धन रहने छन् । सबै गरेर भण्डारणस्थलमा ९१ हजार नौ सय किलो लिटर पेट्रोलियम पदार्थ राख्न सकिने निगमका उपनिर्देशक रामहरि निरौलाले जानाकरी दिए ।
दुईवटा ट्रान्समिक्स ट्याङ्क र चारवटा अण्डर ग्राउण्ड ट्याङ्क पनि बन्ने छन् । प्रत्येक ट्रान्समिक्स ट्याङ्कको क्षमता २५० किलो लिटर र पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको ५०/५० किलो लिटर क्षमताका अण्डर ग्राउण्ड ट्याङ्क रहने छन् ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा २०८० जेठ १८ मा पाइपलाइन र भण्डारणस्थल परियोजनाका सम्बन्धमा समझदारी भएको थियो ।
दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि २०८१ सालको असोज १७ मा आईओसी र नेपाल आयल निगम (एनओसी)बीच बिटुबी सम्झौता भएको थियो । सोही सम्झौतामा निर्माण सुरु भएको ५४ महिनाभित्रै कम पुरा हुने उल्ल्खे छ । परियोजनामा भारतले करिब पाँच अर्ब रुपैयाँ सहयोग गर्ने छ । बाँकी लगानी नेपाल आयल निगमको हुने परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।
