पाल्पामा बर्सेनि कोदो उत्पादन घट्दै, घोषणामै सीमित ‘कोदो दिवस’

कोदोको महत्त्व बुझेर पनि कामदारको कमीले किसानले खेती छाडेका छन्।

श्रावण १६, २०८२

माधव अर्याल

Yearly millet production in Palpa is decreasing, 'millet day' limited to announcement

What you should know

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–४, हुमीनकी यमकुमारी सूर्यवंशीले ५० पाथीसम्म कोदो उत्पादन गरेकी थिइन् । अहिले भने १० पाथीजति उत्पादन हुन्छ । घरमा खानका लागि कोदो रोप्ने गरेको सूर्यवंशीले बताइन् ।

१० वर्ष अघिसम्म कोदो रोप्न आतुर हुन्थ्यो । अर्म-पर्म, आलोपालो कोदो रोप्ने चलन थियो । तर अहिले भने घरका लागि थोरै लगाउने गरिन्छ । त्यही पनि गाउँका धेरैले कोदो लगाउनै छाडेका छन् । ‘अहिले लगाउने मान्छे नै पाइँदैन,’ उनले भनिन्, ‘पहिले बिक्री पनि गरिन्थ्यो । अहिले बिक्री गर्ने गरी लगाउनै छाडियो । घरमा खानका लागि थोरै लगाउने गरिन्छ ।’

पोषणयुक्त र स्वास्थ्यकर अन्नबालीका रूपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । हुमीन मार्सिडाँडाकै यमकुमारी सूर्यवंशीले पनि कोदो लगाउने जग्गा २० प्रतिशतमा सीमित बनाएकी छन् । काम गर्ने कोही नभएपछि लगाउनै छाडेको उनले बताइन् । खाद्यान्नमा आत्मनिर्भर गराउन पहिले कोदोले सहयोग पुगेको थियो । अहिले घरघरबाट विदेश गएका छन् । त्यसैले काम गर्ने कामदार पनि पाइँदैन । ‘पहिला जस्तो वर्मपर्म पनि हुन छाड्यो,’ उनले भनिन्, ‘त्यसैले कोदो रोप्ने क्षेत्र सीमित बनेको छ ।’ उनका अनुसार १५ वर्ष अघिसम्म गाउँका प्रत्येक किसानले कोदो लगाउने गर्थे । तर पछिल्ला वर्ष यसको महत्त्व बिर्सँदै जाँदा किसानको बारी बाँझै हुन थालेको छ ।

यस वर्ष सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको छ । साउन १६ गतेलाई ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ कोदो दिवस मनाउन लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विभिन्न कृषक सङ्गठनले कोदो दिवस मनाउन लागेका हुन् । कोदो बालीको प्रवर्द्धन गर्नुका साथै खेती विस्तार गर्न कोदो दिवस मनाउन लागिएको मन्त्रालयले जनाए पनि तल्लो तहसम्म यसबारेमा जानकारीसमेत छैन ।

काम गर्ने मान्छे नपाइने, छोराछोरीको अल्छीपना देखाउने र अन्य काममा आकर्षित हुँदा कोदो लगाउन छाडेका हुन् । कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । तर पनि अहिले गाउँमा यसको बीउसम्म पाउन मुस्किल पर्न थालेको छ । १५ वर्ष अघिसम्म पनि परम्परागत खेती र पुरानै बाली कोदो खेती अधिकांश किसानहरूको मुख्य खाद्यान्न बाली थियो । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइन्थ्यो । छुट्टै कोदो मात्र लगाउने पनि थिए । ‘मकैभित्र नै धेरैले लगाउने चलन थियो,’ तानसेन नगरपालिका–८ का कुलबहादुर नगरकोटीले भने, ‘कतिपयले बाँझो जग्गामासमेत कोदो लगाउने चलन थियो ।’ उनका अनुसार कोदो प्रायजसो सबै गाउँ–बस्तीमा हुन्थ्यो । खाद्यान्नका लागि आँटो, ढिँडो, रोटीका रूपमा कोदो प्रयोग गरिन्थ्यो ।

पछिल्लो समय किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुने हो कि भन्ने चिन्ता छ । कोदोको महत्त्व थाहा नभएर भन्दा पनि काम गर्नेको अभावले यसको खेती प्रतिको आकर्षण घटेको निस्दी गाउँपालिका–५ की ६८ वर्षीया भवानीसरा सारूले बताइन् । उनका अनुसार कोदो फल्ने भेगमै किसानले खेती गर्न छाडेका छन् । कतिपय स्थानमा बीउसम्म पाउन मुस्किल छ । ‘कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भनिन्, ‘हामीले बारीमा कोदो र झिलिङ्गी लगाइन्थ्यौँ । कोदो रोप्न कम गरियो, झिलिङ्गी र सिमी लगाइन्छ ।’

उनका अनुसार गाउँका प्रायः सबै किसानहरूको मुख्य बाली कोदो थियो । तर आज तिनै किसानले कोदो खेतीलाई जसोतसो निरन्तरता मात्र दिएको उनले बताइन् । परम्परागत खेती र पुरानै बाली कोदो खेती जिल्लाका ४० भन्दा बढी गाउँका किसानहरूको मुख्य खाद्यान्न बाली थियो । तर तिनै पुराना किसानको घरमा कोदो खेती कम हुँदै गएको छ । कोदोलाई पोसिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल परेको किसान बताउँछन् ।

खेती गर्न छाडेपछि गाउँमा कोदो अभाव छ । सय रुपैयाँ पाथीमा पाइने कोदो अहिले दुई सयमा पनि नपाइने समस्या भएको रम्भा गाउँपालिका–२ का गंगाबहादुर सारूले बताए । उनका अनुसार अन्य बालीभन्दा स्वास्थ्यकर वा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । ‘सहरीकरणसँगै मानिसमा अल्छीपना बढ्दै गएको छ,’ उनले भने, ‘कम मेहनत उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि यसको खेती गर्न अल्छीपना बढेको छ ।’

तर पछिल्लो समयमा गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारमा खोजी खोजी खान थालिएको छ । आफ्नै खेतबारीमा फलाउन सकिने कोदो किनेर खानुपर्ने अवस्था रहेको तानसेन नगरपालिका–४ का गाउँका गेडागुडी, अन्नपातको बिक्री गर्दै आएका कुशल जिसीले बताए । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेकाले पनि कोदो खेती गर्न छाडेको उनले बताए । ८१ वडामध्ये ४५ भन्दा बढी वडाका किसानहरूले कोदो खेती गर्दै आएको कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले जनाएका छन् ।

विगतमा साबिकका जिल्ला कृषि विकास कार्यालयले कोदो खेती विस्तार गर्ने कार्यक्रम बनाउँथे । तर बजेट नपठाएपछि त्यसलाई कागजमा मात्रै सीमित बन्थ्यो । जसले गर्दा कोदो खेती गर्नेलाई कुनै प्रोत्साहन भएन । त्यसपछि हराउँदै गएको अगुवा किसान बताउँछन् । पछिल्लो समय स्थानीय तहमा कृषिको बजेटमा पनि रैथाने बालीको प्रवर्द्धन गर्ने कार्यक्रम राखेका छन् । तर न्यून बजेट हुन्छ । सम्भाव्यता अध्ययन गरी कार्यक्रम बनाउने काम स्थानीय तहको हो । तर त्यसपछि बेवास्ता गरेका छन् । कृषि ज्ञान केन्द्र, स्थानीय तहमा यस्ता कार्यक्रम प्राथमिकतामा परेका छैनन् ।

खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली भए पनि रैथाने बाली कोदाको संरक्षणका लागि पहल भएको छैन । हुन त सरकारले कोदोलाई अन्तर्राष्ट्रियस्तरमै प्रवर्द्धन गर्न लागेको र सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाएको भए पनि यसको प्रवर्द्धन गर्ने कार्यक्रम आउन नसकेको कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।

असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने निर्णय गरेको थियो । बहुगुणी अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । तर स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयमा भने कुनै पनि निर्देशन वा परिपत्र साउन १६ गतेसम्म आएको छैन । स्थानीय तहले पनि कोदोका लागि छुट्टै बजेट व्यवस्थापन गरेको पाइएको छैन । रम्भा गाउँपालिकाले रैथाने बाली प्रवर्द्धनका लागि बजेट विनियोजन गरे पनि कोदो, धानलगायत अन्य बालीलाई पनि अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

पाल्पामा २ हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । पाल्पामा अघिल्लो वर्ष ३ हजार ७६२ मेट्रिक टन उत्पादन भएकामा चालु आर्थिक वर्षमा ३ हजार ५६१ टन उत्पादन भएको छ । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully