कोदोको महत्त्व बुझेर पनि कामदारको कमीले किसानले खेती छाडेका छन्।
What you should know
पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–४, हुमीनकी यमकुमारी सूर्यवंशीले ५० पाथीसम्म कोदो उत्पादन गरेकी थिइन् । अहिले भने १० पाथीजति उत्पादन हुन्छ । घरमा खानका लागि कोदो रोप्ने गरेको सूर्यवंशीले बताइन् ।
१० वर्ष अघिसम्म कोदो रोप्न आतुर हुन्थ्यो । अर्म-पर्म, आलोपालो कोदो रोप्ने चलन थियो । तर अहिले भने घरका लागि थोरै लगाउने गरिन्छ । त्यही पनि गाउँका धेरैले कोदो लगाउनै छाडेका छन् । ‘अहिले लगाउने मान्छे नै पाइँदैन,’ उनले भनिन्, ‘पहिले बिक्री पनि गरिन्थ्यो । अहिले बिक्री गर्ने गरी लगाउनै छाडियो । घरमा खानका लागि थोरै लगाउने गरिन्छ ।’
पोषणयुक्त र स्वास्थ्यकर अन्नबालीका रूपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । हुमीन मार्सिडाँडाकै यमकुमारी सूर्यवंशीले पनि कोदो लगाउने जग्गा २० प्रतिशतमा सीमित बनाएकी छन् । काम गर्ने कोही नभएपछि लगाउनै छाडेको उनले बताइन् । खाद्यान्नमा आत्मनिर्भर गराउन पहिले कोदोले सहयोग पुगेको थियो । अहिले घरघरबाट विदेश गएका छन् । त्यसैले काम गर्ने कामदार पनि पाइँदैन । ‘पहिला जस्तो वर्मपर्म पनि हुन छाड्यो,’ उनले भनिन्, ‘त्यसैले कोदो रोप्ने क्षेत्र सीमित बनेको छ ।’ उनका अनुसार १५ वर्ष अघिसम्म गाउँका प्रत्येक किसानले कोदो लगाउने गर्थे । तर पछिल्ला वर्ष यसको महत्त्व बिर्सँदै जाँदा किसानको बारी बाँझै हुन थालेको छ ।
यस वर्ष सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको छ । साउन १६ गतेलाई ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ कोदो दिवस मनाउन लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विभिन्न कृषक सङ्गठनले कोदो दिवस मनाउन लागेका हुन् । कोदो बालीको प्रवर्द्धन गर्नुका साथै खेती विस्तार गर्न कोदो दिवस मनाउन लागिएको मन्त्रालयले जनाए पनि तल्लो तहसम्म यसबारेमा जानकारीसमेत छैन ।
काम गर्ने मान्छे नपाइने, छोराछोरीको अल्छीपना देखाउने र अन्य काममा आकर्षित हुँदा कोदो लगाउन छाडेका हुन् । कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन । तर पनि अहिले गाउँमा यसको बीउसम्म पाउन मुस्किल पर्न थालेको छ । १५ वर्ष अघिसम्म पनि परम्परागत खेती र पुरानै बाली कोदो खेती अधिकांश किसानहरूको मुख्य खाद्यान्न बाली थियो । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइन्थ्यो । छुट्टै कोदो मात्र लगाउने पनि थिए । ‘मकैभित्र नै धेरैले लगाउने चलन थियो,’ तानसेन नगरपालिका–८ का कुलबहादुर नगरकोटीले भने, ‘कतिपयले बाँझो जग्गामासमेत कोदो लगाउने चलन थियो ।’ उनका अनुसार कोदो प्रायजसो सबै गाउँ–बस्तीमा हुन्थ्यो । खाद्यान्नका लागि आँटो, ढिँडो, रोटीका रूपमा कोदो प्रयोग गरिन्थ्यो ।
पछिल्लो समय किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुने हो कि भन्ने चिन्ता छ । कोदोको महत्त्व थाहा नभएर भन्दा पनि काम गर्नेको अभावले यसको खेती प्रतिको आकर्षण घटेको निस्दी गाउँपालिका–५ की ६८ वर्षीया भवानीसरा सारूले बताइन् । उनका अनुसार कोदो फल्ने भेगमै किसानले खेती गर्न छाडेका छन् । कतिपय स्थानमा बीउसम्म पाउन मुस्किल छ । ‘कोदो बालीप्रति किसानको आकर्षण घटेकाले यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भनिन्, ‘हामीले बारीमा कोदो र झिलिङ्गी लगाइन्थ्यौँ । कोदो रोप्न कम गरियो, झिलिङ्गी र सिमी लगाइन्छ ।’
उनका अनुसार गाउँका प्रायः सबै किसानहरूको मुख्य बाली कोदो थियो । तर आज तिनै किसानले कोदो खेतीलाई जसोतसो निरन्तरता मात्र दिएको उनले बताइन् । परम्परागत खेती र पुरानै बाली कोदो खेती जिल्लाका ४० भन्दा बढी गाउँका किसानहरूको मुख्य खाद्यान्न बाली थियो । तर तिनै पुराना किसानको घरमा कोदो खेती कम हुँदै गएको छ । कोदोलाई पोसिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल परेको किसान बताउँछन् ।
खेती गर्न छाडेपछि गाउँमा कोदो अभाव छ । सय रुपैयाँ पाथीमा पाइने कोदो अहिले दुई सयमा पनि नपाइने समस्या भएको रम्भा गाउँपालिका–२ का गंगाबहादुर सारूले बताए । उनका अनुसार अन्य बालीभन्दा स्वास्थ्यकर वा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । ‘सहरीकरणसँगै मानिसमा अल्छीपना बढ्दै गएको छ,’ उनले भने, ‘कम मेहनत उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि यसको खेती गर्न अल्छीपना बढेको छ ।’
तर पछिल्लो समयमा गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारमा खोजी खोजी खान थालिएको छ । आफ्नै खेतबारीमा फलाउन सकिने कोदो किनेर खानुपर्ने अवस्था रहेको तानसेन नगरपालिका–४ का गाउँका गेडागुडी, अन्नपातको बिक्री गर्दै आएका कुशल जिसीले बताए । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेकाले पनि कोदो खेती गर्न छाडेको उनले बताए । ८१ वडामध्ये ४५ भन्दा बढी वडाका किसानहरूले कोदो खेती गर्दै आएको कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले जनाएका छन् ।
विगतमा साबिकका जिल्ला कृषि विकास कार्यालयले कोदो खेती विस्तार गर्ने कार्यक्रम बनाउँथे । तर बजेट नपठाएपछि त्यसलाई कागजमा मात्रै सीमित बन्थ्यो । जसले गर्दा कोदो खेती गर्नेलाई कुनै प्रोत्साहन भएन । त्यसपछि हराउँदै गएको अगुवा किसान बताउँछन् । पछिल्लो समय स्थानीय तहमा कृषिको बजेटमा पनि रैथाने बालीको प्रवर्द्धन गर्ने कार्यक्रम राखेका छन् । तर न्यून बजेट हुन्छ । सम्भाव्यता अध्ययन गरी कार्यक्रम बनाउने काम स्थानीय तहको हो । तर त्यसपछि बेवास्ता गरेका छन् । कृषि ज्ञान केन्द्र, स्थानीय तहमा यस्ता कार्यक्रम प्राथमिकतामा परेका छैनन् ।
खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली भए पनि रैथाने बाली कोदाको संरक्षणका लागि पहल भएको छैन । हुन त सरकारले कोदोलाई अन्तर्राष्ट्रियस्तरमै प्रवर्द्धन गर्न लागेको र सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाएको भए पनि यसको प्रवर्द्धन गर्ने कार्यक्रम आउन नसकेको कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।
असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने निर्णय गरेको थियो । बहुगुणी अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । तर स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयमा भने कुनै पनि निर्देशन वा परिपत्र साउन १६ गतेसम्म आएको छैन । स्थानीय तहले पनि कोदोका लागि छुट्टै बजेट व्यवस्थापन गरेको पाइएको छैन । रम्भा गाउँपालिकाले रैथाने बाली प्रवर्द्धनका लागि बजेट विनियोजन गरे पनि कोदो, धानलगायत अन्य बालीलाई पनि अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
पाल्पामा २ हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । पाल्पामा अघिल्लो वर्ष ३ हजार ७६२ मेट्रिक टन उत्पादन भएकामा चालु आर्थिक वर्षमा ३ हजार ५६१ टन उत्पादन भएको छ । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।
