रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गर्न सीप विकासमुखी तालिम अपरिहार्य : ऊर्जामन्‍त्री खड्का

ऊर्जामन्त्रीले सीप विकासलाई रोजगारी, आर्थिक सबलीकरण र आत्मनिर्भरताको सशक्त आधार भएको बताए ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Skill development oriented training is essential to create employment opportunities at the local level: Energy Minister Khadka

What you should know

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभालाई जलविद्युत्‌को केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् । खाँदबारी नगरपालिका-१ मा शुक्रबारदेखि सुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिमको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । 

'संखुवासभा जलविद्युत्‌को ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन्,' ऊर्जामन्त्री खड्काले भने, 'यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।'

जलविद्युत‍्‍का ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम सञ्चालन हुनु प्रशंसनीय रहेको उनले बताए । 

 संखुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु पर्ने उल्लेख गर्दै खड्काले भने 'सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ।'

तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागीहरू आएका छन्। २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ। तालिम पश्चात सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले उनीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर दिनेछ ।

मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना पनि सार्वजनिक गरे । स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्री जस्ता विभिन्न शाखामा सीपमूलक तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने उनले जनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully