२१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुट्‍यो 

कुमारी बैंकको नेतृत्वमा १३ बैंकले ४१ अर्ब ६० करोड लगानी गर्नेछ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Investment has been raised to build the 216 MW Bajhang Upper Seti Hydroelectric Project

What you should know

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटेको छ । उक्त जलविद्युत् आयोजना निर्माण गर्ने कुमारी बैंकको नेतृत्वमा १३ बैंकले ४१ अर्ब ६० करोड लगानी गर्नेछ । 

बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने उक्त आयोजनाका लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह-नेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स लिमिटेडसहितको सहवित्तीय व्यवस्थापन भएको हो ।

कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो।  सम्झौतामा कुमारी बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडतर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् ।

करिब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइनेछ। आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डलिजेन्स स्टडी समेत सम्पन्न भइसकेको छ।

आयोजना अर्ध-जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित हुनेछ, जसमा ४.५ घण्टाको पिकिङ क्षमता हुनेछ। बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घनमिटर/सेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ।

२०८० साउन १९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ भने २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति पाएको कम्पनीले जनाएको छ । आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभी क्षमताको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमा जोडिनेछ।

आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ लाख रुपैयाँ हुनेछ र पहिलो वर्षमै अनुमानित ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ। यसका प्रमुख लगानीकर्तामा सिउरी न्यादी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड र एश होल्डिङस् प्राली लगायतका कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्रकुमार गुरागाईं र दिनेश गुरुङजस्ता अनुभवी लगानीकर्ता छन् ।

कान्तिपुर

Link copied successfully