लामो समयसम्म ३ हजार नजिक पुगेर घटेको नेप्से मंगलबार उक्त बिन्दु पार गरेको थियो तर त्यो अवस्था बुधबारसम्म टिकेन ।
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्सेका लागि तीन हजार बिन्दु पार गर्न निकै सकस देखिएको छ । अघिल्ला कारोबार दिनहरूमा धेरै पटक तीन हजार बिन्दु नजिक पुगे पनि नेप्से त्यसमाथि जान सकेको थिएन ।
बरु सोही बिन्दुबाट प्रतिरोध सामना गर्दै उच्च अंकले गिरावट हुने गरेको छ । यसकारण पनि उक्त बिन्दु नेप्सेका लागि निकै सकसपूर्ण रहेको विश्लेषण जानकारहरूले गर्दै आएका थिए ।
बुधबार पनि सेयर बजारमा सोही प्रवृत्ति दोहोरियो । निकै सकसका बाबजुद मंगलबार नेप्से परिसूचक ३ हजार २ बिन्दुमा उक्लेर बन्द भयो । यो अवस्थालाई नेप्सेले तीन हजारको बिन्दुको सकस पार गरेको र आउँदा दिनमा बजार उकालो लाग्ने रूपमा विश्लेषण गरियो ।
तर, उक्त विश्लेषण बुधबारसम्म पनि सही सावित हुन सकेन । बुधबार नेप्से परिसूचक करिब ४८ अंकले घटेर २ हजार ९ सय ५४.१४ अंकमा ओर्लियो । यो अवस्थाले अझै पनि नेप्सेका लागि तीन हजार बिन्दुको प्रतिरोध कायमै रहेको रूपमा विश्लेषण गरिएको छ ।
गत वर्ष करिब एक महिनाको अवधिमा नेप्से परिसूचक २ हजारबाट बढेर तीन हजार बिन्दुमा पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार लामो समयसम्म २४ देखि २६ सयकै बीचमा रहिरह्यो । तर, पछिल्लो एक–दुई महिनायता सेयर बजार बढ्न थालेको थियो । सोही क्रममा मंगलबारसम्म नेप्से परिसूचक तीन हजारभन्दा माथि पुगेर बन्द भएको थियो ।
मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक १.५९ प्रतिशतले घटेको छ । उक्त दिन कारोबार आएकामध्ये २२६ कम्पनीको सेयर मूल्य घट्दा २३ वटाको मात्र बढ्यो । यसरी एकैसाथ धेरै कम्पनीको सेयर मूल्य घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
उक्त दिन १ लाख ४१ हजार ५ सय २० पटक सेयर किनबेच भए । ती किनबेचमा ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता सेयर खरिदबिक्री भए । ती खरिदबिक्रीमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनाका बुधबार कारोबार संख्या, सेयर संख्या र कारोबार रकम सबै घटेको हो । मंगलबार एक लाख ५७ हजार ५ सय २५ पटकको कारोबारमा ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचबाट १८ अर्ब ५३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ‘अन्य’ बाहेक सबैको परिसूचक घटे । तर अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत (२३.४२ अंक) ले बढ्यो । बाँकी १२ उपसमूहमध्ये पनि लघुवित्त, बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, बिमा उपसमूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्से झन्डै ५० अंकले ओरालो लागेको हो ।
समग्र नेप्से ४८ अंकले घट्दा पनि सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लाग्यो । सान्भीसँगै ट्रेड टावर, समता घरेलु लघुवित्त, सिक्लेस हाइड्रोपावर र भूगोल इनर्जी सबैभन्दा धेरै मूल्य बढ्ने मुख्य ५ कम्पनी बने ।
सो दिन ग्रिन डेमलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घट्यो । यस्तै, कालिका पावरको सेयर मूल्य ६, सीवाईसी नेपाल लघुवित्त र नाडेप लघुवित्तको ५.४२, स्वरोजगार लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
नेप्से घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि करिब ८० अर्ब रुपैयाँले खुम्चिएको छ । अघिल्लो हालसम्मकै धेरै ५० खर्बभन्दा बढी कायम भएको कुल बजार पुँजीकरण बुधबार घटेर ४९ खर्ब २९ अर्ब कायम भएको छ ।
