निर्देशिकामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको जस्तै अरू सबै क्षेत्रका कम्पनीका लागि पनि संस्थापक र सर्वसाधारण सेयरलाई छुट्याएर फरक–फरक 'आइजिन' दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
What you should know
काठमाडौँ — दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको अभौतिकृत (विद्युतीय माध्यममा परिणत भएको) धितोपत्रलाई संस्थापक र सर्वसाधारण गरी दुई वटा समूहमा वर्गीकरण गर्ने नीतिगत व्यवस्था सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले गर्न लागेको छ ।
यसका लागि सीडीएससीले ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ तयार पारेर स्वीकृतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा पठाएको छ ।
निर्देशिकामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको जस्तै अरू सबै क्षेत्रका कम्पनीका लागि पनि संस्थापक र सर्वसाधारण सेयरलाई छुट्याएर फरक–फरक ‘इन्टरनेसलन सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर’ (आइजिन) दिने व्यवस्था प्रस्ताव गरिएको छ । आइजिन भौतिक सेयरलाई विद्युतीय माध्यममा परिणत गरिएको (अभौतिकृत) सेयर व्यवस्थापनका लागि दिइने एउटा नम्बर हो ।
सीडीएससीले गर्न लागेको यो व्यवस्थाका सम्बन्धमा फरक–फरक धारणा आएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानलगायत ठूला संस्थापक सेयरधनीहरूले नयाँ निर्देशिकाको विरोध गरेका छन् । सर्वसाधारण लगानीकर्ताले भने यो नीति पुँजी बजार र लगानीकर्ताको हितमा रहेको बताएका छन् । निर्देशिका जस्ताकै तस्तै पारित भए सम्बन्धित कम्पनीहरूले आफ्नो प्रबन्धपत्र र नियमावलीमा भएअनुसार संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आइजिन पाउने छन् । कानुनअनुसार संस्थापक सेयर कारोबार हुन नपाउने अवधि (तीन वर्षको लकइन पिरियड) सकिएपछि भने सर्वसाधारण सेयरमा परिणत गर्न कम्पनीहरूले विधिवत् रूपमा सीडीएससीमा आवेदन दिनुपर्नेछ । हाल बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हकमा यही व्यवस्था रहे पनि बाँकी क्षेत्रका कम्पनीको हकमा छैन ।
यसकारण बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण सेयर फरक–फरक समूहमा (छुट्टाछुट्टै आइजिन) मा राखिँदै आइएको छ । लकइन अवधिपछि संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सम्बन्धित नियामक निकाय राष्ट्र बैंक र बिमा प्राधिकरणबाट अनुमति चाहिन्छ । तीबाहेक क्षेत्रका कम्पनीका लागि एउटै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राखिन्छ । एउटै आइजिनमा भए पनि संस्थापक सेयर तीन वर्षसम्म कारोबार हुन पाउँदैन ।
तर तीन वर्षपछि स्वतः संस्थापक सेयर सर्वसाधारणमा परिणत भएर निर्बाध रूपमा कारोबार हुन पाउँछ । निर्देशिका लागू भएपछि बैंक तथा वित्तीय संस्था र बिमाजस्तै अरू क्षेत्रका कम्पनीको हकमा पनि लकइन अवधिभर संस्थापक र सर्वसाधारण सेयर फरक–फरक आइजिनमा राख्नुपर्नेछ । सो अवधिपछि पनि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत हुन पाउँदैन ।
सीडीएससीले कम्पनीहरूको अभौतिकीकरण भएका सेयर दर्ता गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयले ऊर्जा, मिडिया, सिमेन्टलगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दाबी गरेको छ । जसअनुसार ऊर्जा क्षेत्रका मात्र ४७ आयोजनाका ५३ अर्ब बराबरका ५३ करोड सेयर प्रभावित हुनुका साथै ४१ अर्ब बराबरको सेयर जारी गर्न आवेदन दिएका ३७ कम्पनीको लगानीमा समेत नकारात्मक असर पर्ने मंगलबार इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।
यो कदमले विशेषगरी ऊर्जा क्षेत्रमा ठूलो असर पार्ने दाबी ऊर्जा उत्पादकहरूको छ । सरकारले अघि सारेको १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत असम्भव बन्ने इप्पानले जनाएको छ । लामो समयदेखि सेयर अभौतिकीकरण प्रक्रिया रोकेर सीडीएससीले अन्ततः सबै कम्पनीको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयर छुट्टाछुट्टै आईएसआईएन नम्बर जारी गर्न निर्देशिका धितोपत्र बोर्डमा पठाएको आरोप इप्पानको छ । तर सेयर लगानीकर्ताका संघ संगठनले संस्थापक र सर्वसाधारण सेयर छुट्याउन दुई वटा आइजिन अत्यावश्यक रहेको दाबी गरेका छन् ।
‘सीडीएससीको सिस्टमको कारणले हो वा अरू कुनै कारणले हो अहिले बजारमा एउटै आइजिन भएका केही कम्पनीको सेयर लकइन अवधि नसकिँदै किनबेच भएको भेटिएको छ । यही कारण धितोपत्र बोर्डले दुई वटा संस्थापक सेयरधनीलाई कारबाही पनि गरिसकेको छ,’ नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष केशवप्रसाद श्रेष्ठले भने, ‘संस्थापक र सर्वसाधारण सेयर छुट्याउन एउटा फ्ल्यागिङ कोड चाहिन्छ । हाम्रो सीडीएससीको सिस्टमले त्यो कोड दिँदैन । यही कारण बीचमा कसैले बदमासी गर्न चाहयो भने लकइन अवधिको सेयर पनि कारोबार गर्न सक्छ र बजारमा यस्ता धेरै घटना भइरहेका छन् ।’
यस्तो विकृति रोक्न पनि संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आइजिन आवश्यक रहेको उनको तर्क छ । ‘एउटै आइजिनमा सबै सेयर राख्दा अनधिकृत कारोबार हुने सम्भावना देखियो । जसबाट संस्थापकहरूले गलत फाइदा उठाइरहेका छन् । यो कुरा सबै संस्थापकलाई थाहा हुँदैन । यस कारण सीमित संस्थापकहरूका लागि अवैध कारोबार गर्ने बाटो रोक्न पनि कम्तीमा लकइन अवधिसम्मका लागि दुई वटा आइजिन चाहिन्छ ।’ अर्को विषय लकइन अवधि सकिएको भोलिपल्टदेखि नै सबै सेयर बजारमा कारोबार गर्न सकिने प्रावधानले एकै पटक बजारमा सेयर आपूर्ति हुने भएकाले सेयर मूल्य नराम्ररी प्रभावित हुने गरेको छ । यस्तो प्रवृत्ति रोक्न पनि नयाँ व्यवस्था आवश्यक रहेको उनले बताए ।
के छ निर्देशिकामा ?
कम्पनीहरूको अभौतिकृत सेयर व्यवस्थापनका लागि आइजिन दिन कार्यसञ्चालन निर्देशिका बनाउने अधिकार कानुनले सीडीएससीलाई दिएको छ । यही कारण स्थापनाको १५ वर्षपछि सीडीएससीले ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ बनाएको हो । जसमा बैंक तथा वित्तीय संस्था र बिमासँगै सबै क्षेत्रका कम्पनीलाई समेटिएको छ ।
निर्देशिकाअनुसार कम्पनीहरूले अभौतिकृत (विद्युतीय माध्यममा परिणत भएको) धितोपत्र आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा भएअनुसार नै संस्थापक र सर्वसाधारण गरी दुई समूहमा वर्गीकरण गर्नुपर्नेछ । कम्पनीहरूको संस्थापक सेयरका लागि तीन वर्ष ‘लकइन’ अवधि रहन्छ । उक्त अवधिमा त्यस्तो समूहको सेयर बिक्री गर्न पाइँदैन । उल्लिखित क्षेत्रका कम्पनीको हकमा ‘लकइन’ अवधि सकिएपछि पनि संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सम्बन्धित नियामक निकायको अनुमतिलगायत प्रक्रिया पूरा गर्नुपर्छ ।
तर अहिले जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधनलगायत क्षेत्रका (बैंक तथा वित्तीय संस्था र बिमाबाहेक) कम्पनीहरूका लागि एउटै आइजिन दिइन्छ । एउटै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राखिँदै आएको छ । कम्पनीहरूले आईपीओ बाँडफाँटपछि तीन वर्षसम्म (लकइन पिरियड) संस्थापक सेयर बिक्री गर्न पाउँदैनन् । एउटै आइजिनमा रहँदा पनि ‘लकइन’ अवधिभर संस्थापक सेयर रोक्का राखिएको हुन्छ भने सर्वसाधारण सेयर मात्र कारोबार हुन्छ । तीन वर्ष पूरा भएको राति १२ बजेपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत भएर एउटै मूल्यमा बजारमा किनबेच खुला हुन्छ ।
यो व्यवस्थाले संस्थापक सेयर पनि सर्वसाधारण सेयरकै मूल्यमा बिक्री गर्न पाउने भएपछि ठूलो नाफा आर्जन गर्दै आएका छन् । यही प्रलोभनमा एकै पटक ठूलो परिमाणमा सेयर बिक्री गरेर संस्थापक सेयरधनी कम्पनीबाट बाहिरिने प्रवृत्ति बढ्दै गएको छ । यही विकृति रोक्न संस्थापक र सर्वसाधारण सेयर छुट्याउन लागिएको दाबी सीडीएससीको छ ।
लकइन अवधिपछि धेरै सेयर बेच्छन् जलविद्युत्का संस्थापक सेयरधनी
जलविद्युत् आयोजनाका अधिकांश संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएलगत्तै सेयर बिक्री गर्ने गरेर दोस्रो बजारबाट निस्कने क्रम बढेको नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले पनि देखाएको छ । आफूले स्थापना गरेको जलविद्युत् आयोजनाले लामो समयसम्म राम्रो प्रतिफल दिनेमा स्वयं कम्पनीका संस्थापक सेयरधनीलाई विश्वास नरहेको प्रतिवेदनले औंल्याएको छ । ‘जलविद्युत् समूहका सूचीकृत कम्पनीको सेयर संरचनाको विद्यमान अवस्था र त्यसको प्रभाव’ सम्बन्धमा धितोपत्र बोर्डले गरेको अध्ययनले प्रायः संस्थापक सेयरधनी ‘लकइन’ अवधि (सेयर बिक्री गर्न नपाइने अवधि) सकिएलगत्तै बाहिरिने गरेको देखाएको हो ।
यस्तै, एउटै ‘लकइन’ अवधिभित्रै बिक्री प्रबन्धकहरूसँगको मिलेमतोमा केही संस्थापक सेयरधनीले कानुनविपरीत (लकइन अवधि नसकिँदै) संस्थापक सेयर बिक्री गरेको प्रमाणसहित सीडीएससीबाट कारबाहीका लागि आएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ । ‘लकइन अवधि नसकिँदै केही संस्थापकहरूले सेयर बिक्री गरेको, संस्थापक सेयर बैंकमा धितो राखेर ऋण लिएको, बैंकमा धितो रहेकै बखत संस्थापक सेयर सर्वसाधारणमा परिणत भएपछि सो सेयर बिक्री गरेको लगायत काम भएको प्रमाणसहित कारबाहीका लागि सिफारिस प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘प्राप्त विवरणहरू बोर्डले अध्ययन गरिरहेको छ ।’
समय–समयमा लकइन अवधि नसकिँदै संस्थापक सेयरहरू बजारमा किनबेच भएका घटनाहरू बाहिरिएका छन् । बेला–बेलामा नेप्से र सीडीएससीको सिस्टममा समस्या आइरहन्छ । यही प्राविधिक कमजोरीको फाइदा उठाउँदै बिक्री प्रबन्धकहरूसँगको मिलेमतोमा चलाख संस्थापक सेयरधनीले लकइन अवधि नसकिएकै अवस्थामा पनि बजारमा सेयर बिक्री गर्ने गरेका घटना बढ्न थालेका छन् । यही कसुरमा तथ्यसहित धेरै लगानीकर्तालाई कारबाहीका लागि सिफारिस आएको धितोपत्र बोर्डले जनाएको छ ।
पुँजी बजार व्यवस्थित हुने सीडीएससीको दाबी
प्रस्तावित निर्देशिका लागू भएपछि पुँजी बजारका धेरै विकृति समाधान हुने दाबी सीडीएससीले गरेको छ । ‘यो निर्देशिकाले बजारमा विश्वसनीयता, तथ्यांक व्यवस्थापन, तथ्यांकीय अभिलेखीकरणलगायतमा ठूलो मद्दत पुग्छ,’ सीडीएससीकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकले भनिन्, ‘कानुनले अनुमति दिए पनि सीडीएससी स्थापनाको १५ वर्षसम्म पनि बनाउन नसकेको निर्देशिका अहिले बनेको छ । यसले पुँजी बजारलाई थप विश्वसनीय बनाउनेछ ।’
धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०७६ को परिच्छेद ८ मा केन्द्रीय निक्षेप कम्पनीले निक्षेप सेवा सञ्चालनका लागि आवश्यक विनियमावली कार्यसञ्चालन निर्देशिका बनाएर लागू गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अभौतिकीकरणसम्बन्धी कार्यसञ्चालन निर्देशिका बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको सीडीएससीले जनाएको छ । सीडीएससीबाट सेयर अभौतिकीकरणसम्बन्धी कार्यसञ्चालन निर्देशिका स्वीकृतिका लागि सोमबार आएको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘सीडीएससीबाट तयार पारेको निर्देशिका बोर्डले स्वीकृत गर्नुपर्ने हुन्छ, त्यसका लागि मस्यौदा प्राप्त भएको छ,’ उनले भने, ‘बोर्डले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउँछ ।’ निर्देशिका अध्ययनकै क्रममा रहेकाले अहिल्यै त्यस विषयमा धेरै कुरा भन्न नसकिने उनको भनाइ छ ।
आइजिनको प्रक्रिया के हो ?
कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति ल्याउँछन् । आईपीओ बाँडफाँटपछि सेयर अभौतिकीकरण (डिम्याट) का लागि सीडीएससीमा आवेदन दिन्छन् । त्यसपछि सीडीएससीले सेयर अभौतिकीकरण गरेर आइजिन कोड दिन्छ । आइजिन कोड दिने काम कानुनतः सीडीएससीकै हो । यद्यपि अहिलेसम्म निर्देशिका नबनेकाले सीडीएससीले आइजिन दिनुअघि सम्बन्धित कम्पनीका लागि नेप्सेसँग एउटा नम्बर (कोड) माग्छ । यसरी सीडीएससीले कोड मागेपछि नेप्सेले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हकमा दुई वटा कोड र तीबाहेक क्षेत्रका कम्पनीको हकमा एउटा कोड दिन्छ ।
राष्ट्र बैंक र साविकको बिमा समितिले आफूले लाइसेन्स दिएका कम्पनीको हकमा संस्थापक र सर्वसाधारण सेयर छुट्याउनु भनेकाले ती कम्पनीका लागि दुई वटा कोड दिँदै आएको छ । बाँकी क्षेत्रका कम्पनीको छुट्टै नियामक निकाय नभएको तथा निश्चित कानुन नभएकाले नेप्सेले एउटै कोड दिन्छ । यसरी नेप्सेले दुई वटा कोड दिएको बैंक तथा वित्तीय संस्था र बिमाको हकमा सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक आइजिनमा दर्ता गर्छ । बाँकी क्षेत्रका कम्पनीको हकमा नेप्सेले एउटा कोड दिएको भन्दै एउटै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राखिदिँदै आएको छ ।
तर, विगतमा बैंक तथा बिमाबाहेकका करिब आधा दर्जन कम्पनीहरूलाई नेप्सेले दुई वटा कोड दिएको छ । सोही आधारमा सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक आइजिन दिएको छ । तीमध्ये धेरै कम्पनीको लकइन अवधि सकिएकाले संस्थापक सेयर पनि सर्वसाधारणमा परिणत भइसकेका छन् । तीमध्ये कालिञ्चोक केबलकार, इमर्जिङ नेपाल, नागरिक लगानी कोषलगायत कम्पनीहरूका लागि अहिले पनि दुई वटा आइजिन छन् । यसरी केही कम्पनी मात्र किन दुई वटा आइजिन दिइयो भन्ने विषयमा नेप्सेले कुनै कारण दिन सकेको छैन । अहिले सीडीएससीले निर्देशिकामार्फत सबै कम्पनीहरूका लागि एउटै व्यवस्था गर्न लागेको दाबी गरेको छ ।
