बुढीगंगा जलविद्युत् ठेक्का सम्झौतामा ढिलाइ

तीन पटक ठेक्का प्रक्रिया रद्द, चौथो पटक ठेक्का आह्वान गरे पनि अझै टुंगिएन

श्रावण १४, २०८२

मेनुका ढुंगाना

Delay in Budhiganga hydropower contract agreement

What you should know

अछाम — अछामको साँफेबगर नगरपालिका–१० मा निर्माण गरिने भनिएको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजना अध्ययन सुरु भएको झन्डै तीन दशक भयो ।

तर हालसम्म आयोजना निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । सरकारले तीन पटक ठेक्का प्रक्रिया अघि बढाए पनि तीनै पटक रद्द गरेको थियो । चौथो पटक ठेक्का आह्वान गरे पनि हालसम्म टुंगिन सकेको छैन ।

आयोजनाका अनुसार तीन पटक ठेक्का रद्द हुनुमा अलग–अलग कारण छन् । पहिलो पटक प्रतिस्पर्धी अभाव, दोस्रो पटक अत्यधिक लागत प्रस्ताव र तेस्रो पटक साउदी फन्ड (मुख्य ऋणदाता) को अस्वीकृतिका कारण ठेक्का टुंगिन सकेन । अहिले चौथो पटकको ठेक्का प्रक्रिया अघि बढाइएको छ तर ऋणदाताको सहमति नआइसक्दा सम्झौता हुन सकेको छैन ।

'' ठेक्का सम्झौता गर्दा दाताबाट पूर्वसहमति लिनुपर्ने हुन्छ, त्यसका लागि सबै कागजात पठाइसके पनि सहमति आएको छैन '' – सुरेन्द्र घिमिरे, प्रमुख, बुढीगंगा जलविद्युत् आयोजना सरकार आफैंले निर्माण गर्ने भनिएको यो आयोजनाका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार आयोजनाको लागत करिब १० अर्ब रुपैयाँ छ । इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजना निर्माणका लागि १८ जुन २०१४ मा साउदी फन्ड फर डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँ ऋण सम्झौता भएको थियो ।

उक्त सम्झौताको अवधि सन् २०२३ सम्म थियो । तर, त्यस अवधिमा निर्माण अघि नबढेपछि २०२७ सम्म ऋण सम्झौताको म्याद थपिएको छ । यस्तै, कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग पनि आयोजनाका लागि ४ जुलाई २०१२ मा १.८ अर्ब ऋण सम्झौता भएको छ । बाँकी लागत रकम नेपाल सरकारले बेहोर्नेछ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न १४ असार २०७२ मा अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल र उदय कन्सल्टेन्सीसँग सम्झौता भएको थियो । त्यसको ५ वर्षपछि २०७७ मा मात्रै डीपीआर तयार भएको थियो । डीपीआर तयार पार्न करिब १९ करोड ९१ लाख रुपैयाँ लागेको आयोजनाले जनाएको छ ।

आयोजनाको पहिलो ठेक्का प्रक्रिया भदौ २०७८ मा सुरु भएको थियो । त्यसबेला एक मात्र ठेक्का परेकाले प्रतिस्पर्धा नभएको भन्दै रद्द भयो । अन्तर्राष्ट्रियस्तरको ठेक्कामा न्यून प्रतिस्पर्धा हुनुले पारदर्शिता र मूल्य प्रतिस्पर्धामा प्रश्न उठ्ने भएकाले प्रक्रिया रद्द गरिएको थियो । यस्तो प्रतिस्पर्धामा कम्तीमा ३ बोलपत्रदाता सहभागी हुनुपर्ने प्रावधान छ ।

आयोजनाका अनुसार दोस्रो पटक चैत २०७८ मा ठेक्का आह्वान गरिएको थियो । त्यसबेला सबै निर्माण कम्पनीले लागतभन्दा धेरै मूल्य माग गरेपछि ठेक्का रद्द भयो । तेस्रो पटक असोज २०७९ मा उपयुक्त मूल्यमा निर्माण कम्पनीले ठेक्का हाले पनि आफ्नो मापदण्डअनुसार नभएको भन्दै ऋणदाता साउदी फन्डले अस्वीकार गर्‍यो । साउदी फन्डले प्रस्तावित ठेकेदारको वित्तीय, प्राविधिक पक्ष पर्याप्त नभएको भन्दै अस्वीकृति जनाएपछि सम्झौता रोकिएको थियो ।

चौथो पटक भने आयोजनाको ठेक्काका लागि सूचना निकाल्ने र मूल्यांकन गर्ने काम भइसकेको छ । तर सम्झौता भइनसकेको बुढीगंगा जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र घिमिरेले बताए । उनका अनुसार ठेक्का सम्झौता गर्दा दाताबाट पूर्वसहमति लिनुपर्ने हुन्छ । त्यसका लागि सबै कागजात पठाइसके पनि अहिलेसम्म सहमति नआएको उनले बताए ।

उनका अनुसार परियोजनाको मुख्य ठेक्का प्रक्रिया अझै टुंगिएको छैन । सिभिल र हाइड्रोमेकानिकल कामका लागि ठेक्का आह्वान गरिएको भए पनि सम्झौता हुन सकेको छैन । ‘चालु आर्थिक वर्षमा सिभिल र हाइड्रोमेकानिकल कामका लागि २ अर्ब १९ करोड ६० लाख बजेट छ । इलेक्ट्रोमेकानिकल कामका लागि ३१ करोड बजेट छ । तर सम्झौता हुन सकेको छैन,’ आयोजना प्रमुख घिमिरेले भने, ‘सरकारले आवश्यक बजेट सुनिश्चित गर्न नसकेकाले निर्माण प्रक्रिया प्रभावित भएको छ ।’ आयोजनाको लागत अब सम्झौताको भन्दा बढी हुने भएकाले ऋणदातालाई आग्रह नगर्ने र नेपाल सरकार आफैंले व्यवस्थापन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए ।

हालसम्म आयोजनाका लागि ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । विद्युत् गृह, सबस्टेसन, कार्यालय भवन, बाँधस्थललगायतका लागि तीन जिल्ला अछाम, बाजुरा र डोटीको जग्गा अधिग्रहण काम सकिएको हो । आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ भने पुल निर्माण पनि सकिएको छ ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully