इप्पानले चेतावनी दिएको छ कि यस कदमले विशेष गरी ऊर्जा क्षेत्रमा ठूलो असर पार्नेछ । नेपाल सरकारले अघि सारेको १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य समेत असम्भव बन्ने इप्पानको दाबी छ ।
What you should know
काठमाडौँ — सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक समितिले कम्पनीहरूको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रिया लम्ब्याउँदै अन्ततः सबै कम्पनीहरूको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयर छुट्टाछुट्टै (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर–आईएसआईएन) नम्बर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको हो ।
सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र सर्वसाधारण लगानीकर्ताबीच थप अन्यौलता र निराशा पैदा भएको इप्पानको दाबी छ । इप्पानले चेतावनी दिँदै भनिएको छ, 'यो प्रस्ताव कार्यान्वयन भएमा प्रचलित कानून, अन्तर्राष्ट्रिय मान्यता र स्थापित आईएसआईएन अभ्यास विपरीत हुने मात्र नभई नेपालको पूँजी बजारमा दीर्घकालीन नकारात्मक असर पर्नेछ । यसले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीमार्फत आउने लगानी र प्रत्यक्ष वैदेशिक लगानीमा समेत कठिनाइ सिर्जना गर्नेछ ।'
विज्ञप्तिमा भनिएको छ, 'यसले निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीप्रति विश्वास गुमाउनुका साथै वैदेशिक लगानीकर्तामा समेत नेपालको लगानी वातावरणबारे गम्भीर आशंका उत्पन्न भएको छ । यसरी संस्थापक र सर्वसाधारण सेयर छुट्याउने व्यवस्थाले विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिनै नसक्ने अवस्था सिर्जना गर्नेछ, जसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति र पूँजी बजारको सुदृढीकरण लक्ष्यलाई नोक्सान पुर्याउने निश्चित छ ।'
इप्पानले चेतावनी दिएको छ कि यस कदमले विशेष गरी ऊर्जा क्षेत्रमा ठूलो असर पार्नेछ । नेपाल सरकारले अघि सारेको १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य समेत असम्भव बन्ने इप्पानको दाबी छ । धितोपत्र बोर्डका तथ्यांकअनुसार यस प्रस्तावले ऊर्जा, मिडिया, सिमेन्ट लगायतका ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्नेछ भने ऊर्जामात्रकै ४७ आयोजनाका ५३ अर्ब बराबरका ५३ करोड सेयर प्रभावित हुनेछन् । साथै ४१ अर्ब बराबरको सेयर जारी गर्न आवेदन दिएका ३७ कम्पनीको लगानीमा समेत नकारात्मक असर पर्ने निश्चित छ ।
यस कारण, इप्पानले नियामक निकायलाई साविककै व्यवस्था अनुसार सबै सेयर एउटै आईएसआईएन नम्बरमा अभौतिकरण गर्ने व्यवस्था तत्काल गर्न आग्रह गरेको छ । साथै सिडिएससीले ल्याएको छुट्टाछुट्टै आईएसआईएन नम्बरको प्रस्ताव फिर्ता लिन र यसको कार्यान्वयन अघि नबढाउन धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसँग माग गरेको छ ।
