‘प्रधानमन्त्रीले भने पनि हल भाडा छुट नगर्नु भनेपछि नाचघरले नाफा कमायो’

नाचघरले एक वर्षमा आफ्नो आम्दानी ६९.४७ प्रतिशतले वृद्धि गर्दै १ करोड १३ लाख आम्दानी गर्‍यो

श्रावण १३, २०८२

सुरज कुँवर

”Even though the Prime Minister said not to discount the hall rent, the dance hall made a profit”

What you should know

काठमाडौँ — लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले ६६ वर्षअघि स्थापना भएको राष्ट्रिय नाचघरको मुख्य आम्दानीको स्रोत जमलमा भएको हल भाडा हो ।

तर, अधिकांश आयोजकको राजनीतिक भनसुन र पहुँचका कारण निरन्तर हल भाडा नतिर्दा सञ्चालन खर्चसमेत उठाउन नसकिरहेको नाचघर (सांस्कृतकि संस्थान) हरेक वर्ष घाटामा चलिरहेको थियो । यसको तालुकदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो ।

जब पर्यटन मन्त्रालयमा बद्री पाण्डे मन्त्री बहाल भएर ०८१ आसर ३१ गते पुगे । नाचघरका कर्मचारीले ‘बिफ्रिङ’ बैठकमा मन्त्री पाण्डेलाई भनसुनका कारण सित्तैमा हल भाडामा लगाउँदा नाचघर चलाउनै नसकेको गुनासो पोखेका थिए । उनीहरुको गुनासोमा पर्यटन मन्त्री पाण्डेले भनेका थिए, ‘अबदेखि प्रधानमन्त्रीले भने पनि हल भाडा छुट नगर्नु !’ मन्त्रीको यति निर्देशन पाएपछि नाचघरका महानिर्देशक किरणबाबु पुन र अध्यक्ष चन्द्रकुमार राई हतुवालीले गत वर्ष साउनदेखि कडाइका साथ निर्देशन पालना गरे । यसको परिणाम नाचघरले एक वर्षमा आफ्नो आम्दानी ६९.४७ प्रतिशतले वृद्धि गर्दै १ करोड १३ लाख आम्दानी गर्‍यो ।

अर्थ मन्त्रालयले भर्खरै सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनले सामाजिक क्षेत्र अन्तर्गत पर्ने ५ वटा संस्थाहरुमध्ये यसले अन्यको दाँजोमा सबैभन्दा धेरै आम्दानी गरेको देखिन्छ । ‘सांस्कृतिक संस्थानको सञ्चालन आयमा ६९.४७ प्रतिशत (रु १ करोड १३ लाख) ले वृद्धि भएको छ । यो बाहेक अन्य संस्थानको सञ्चालन आय आर्थिक वर्ष २०७९/८० को तुलनामा घटेको छ,’ अर्थ मन्त्रालयको प्रतिवदेनमा लेखिएको छ । सामाजिक क्षेत्र अर्न्तगत गोरखापत्र, जनक शिक्षा सामग्री केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल र राष्ट्रिय आवास कम्पनी लिमिटेड छन् ।

‘अर्थतन्त्रमा सबैतिर चाप परेका बेला नाचघरले आर्जन गरेको आम्दानी सानो सुशासन प्रयास हो’, सोमबार पर्यटन नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘हाम्रो निकाय नै चल्न अप्ठ्यारो पर्‍यो भन्दै आएका थिए । मैले डिस्काउन्ट र मिनाहा प्रधानमन्त्रीले भने पनि नदिनु । मैले भने पनि नदिनु भएको थिए । त्यहाको महाप्रबन्धकले मेरो त्यति शब्द समाप्तु भयो । अहिले आम्दानी बढ्दा त्यहाँ कर्मचारीको साख उठेको छ ।’

पर्यटनमन्त्री पाण्डेले यो वर्ष नाचघरमा कर्मचारीका रुपमा कार्यरत कलाकारले स्टुडियो खोलेको, नयाँ सृजनात्मक तालिम सञ्चालन गरिरहेकोमा प्रशंसा व्यक्त गरे । उनले भने, ‘२०३२ सालमा बनाइएको गति नाटक मुनामदनमा यसपटक नयाँ कलाकार लिएर उनीहरु सातै प्रदेशमा मञ्चन गर्न पुगे । सुशासनका लागि सामान्य अठोटले पनि काम गर्छ भन्ने यो एउटा सानो उदाहरण हो ।’

नाचघरसँग ७ सय दर्शक अटाउने थिएटर हल छ । जसको भाडा न्यूनतम ६० हजारदेखि प्राइम टाइममा एक लाख रुपैयाँसम्म पर्छ । पर्यटन मन्त्रालयसँग विभाग, समिति, प्रतिष्ठान, आयोग, कोष, परिषद्, प्राधिकरण लगायतका ३८ वटा निकाय छन् । यीमध्ये हल भाडा लगाएर आम्दानी गर्ने अन्य निकायमा नेपाल पर्यटन बोर्ड र नेपाल प्रज्ञा प्रतिष्ठान पनि हुन् ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully