अध्ययन र मर्मत गर्न जुलाई ३० मा आईओसीको प्राविधि टोली नेपाल आउँदै
What you should know
काठमाडौँ — अमलेखगन्जस्थित नेपाल आयल निगमको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको छ । औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको निगमले जनाएको छ । निगमका अनुसार इन्धन भण्डारण हुने ट्यांकीबाट लोडिङ वे/टीएलएफ सेड बनेको ठाउँमा केही समस्या देखिएको हो ।
ट्यांकरमा इन्धन लोड गर्ने क्रममा भाइब्रेट हुने, अलाइनमेन्ट परिवर्तनदेखि पाइप नै बाङ्गिएको जस्तो देखिने गरेको निगमको भनाइ छ । लोडिङ बेको पाइप करिब १० सीएम अगाडि सरेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
‘डिजेल र पेट्रोल लोड गर्ने क्रममा पाइपलाइनमा बढी प्रेसर पर्छ । त्यही कारण डिपोभित्र लोडिङ बेमा केही मुभमेन्ट भएको छ । बढी प्रेसरकै कारण पाइप करिब १० सीएम अगाडि सरेको अनुमान छ,’ भट्टले भने, ‘लोडिङका क्रममा पम्प स्टार्ट गर्दा पाइप भाइब्रेट हुने समस्या देखिएको छ । भल्भले राम्रोसँग प्रेसर रिलिज गर्न सकेको देखिएन ।’
पाइपलाइनमा समस्या देखिएपछि करिब १० दिनअघि भारतीय आयल कर्पोरेसन (आईओसी) लाई जानकारी गराएको उनले जनाए । तर आईओसीको प्राविधिक टोली जुलाई ३० मा आउने जानकारी आएको छ । प्राविधिक टोली आएपछि केही दिन मर्मत गर्न पाइपलाइन बन्द गरिने निगमले जनाएको छ । तर बजारमा अभाव हुन नदिने भट्टको भनाइ छ ।
‘उच्च प्रेसर (७/८ बार) मा चलाउँदा जोखिम हुन्छ । तर ४/५ बारमा थोरै प्रेसर हुन्छ । लोड गर्न समय लागे पनि जोखिम हुँदैन,’ भट्टले भने, ‘प्राविधिक टोली नआएसम्म सोहीअनुसार व्यवस्थापन गरेका छौं । मर्मतका क्रममा बन्द भए पनि अभाव हुन दिँदैनौं ।’
अहिले देखिएको समस्या पहिलो पटक भने होइन । दुई महिनाअघि पनि उस्तै समस्या देखिएको थियो । पेट्रोल र डिजेल लोडिङका क्रममा समस्या देखिएपछि आईओसीको प्राविधिक आएर मर्मत गरेका थिए । पाइपलाइन ६ दिन बन्द गरिएको थियो । अहिले फेरि समस्या देखिएको हो । ‘पाइपलाइनबाट तेल आएर भण्डारण गर्दासम्म समस्या छैन । भण्डारण ट्यांकीबाट लोडिङ बे हुँदै ट्यांकरमा लोड गर्ने क्रममा पाइपमा समस्या देखिएको छ,’ निगमको अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने, ‘पाइपमा केही समस्या आएर पाइप भाँचिन्छ कि भन्ने जोखिम हो ।’ डिपोमा देखिएको समस्या केन्द्रीय कार्यालयमा जानकारी गराइएको उनले जनाए । बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ भदौ २४ बाट औपचारिक उद्घाटन भएको थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका थिए । पहिलो चरणअन्तर्गत डिजेल आयात गरिएको थियो । दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्ने निगमको लक्ष्य थियो । आईओसी र निगमले संयुक्त लगानी गरेर दोस्रो चरणको काम सम्पन्न गरेका थिए । दोस्रो चरणअन्तर्गत निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गरेका छन् ।
निगमले दोस्रो चरणअन्तर्गत थप ४ वटा ट्यांकी, लोडिङ बे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेर डिपो अटोमेसनमा लगेको छ । लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ बे’ निर्माण गरिएको छ । २४ वटा ‘लोडिङ बे’ मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । जसमध्ये पेट्रोलको ७ वटा बटम लोडिङ र ८ टम लोडिङ गर्न सकिन्छ । डिजेलको ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टीतेलको एउटा बटम लोडिङ रहेको निगमको भनाइ छ ।
पाइपलाइन निर्माण गर्ने काम आईओसीले जिम्मा लिएको थियो । पूर्वाधार निर्माण गर्न आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई दिएको थियो । सम्झौताअनुसार परियोजना निर्माणको काम २०२४ मार्चसम्मै सक्ने थियो । तर ढिलाइ गरेको थियो । निगमले गत पुसबाट पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी गरेको थियो, तर सफल भएको थिएन । तर आईओसीले उद्घाटनको
मिति तोकेको थिएन । निगमले पटक पटक ताकेता गरे पनि आईओसीले आलटाल गरेपछि निगमले गत माघ अन्तिम साताबाट पेट्रोल र मट्टीतेल आयात सुरु गरेको थियो । अहिले भने टीएलएफ सेडमा समस्या देखिएको हो ।
‘मर्मतका लागि बढीमा ७ दिन पाइपलाइन बन्द गर्नुपर्छ । तर भण्डारणमा रहेको मौज्दात इन्धन वितरण गर्न मिल्छ । पुरानो डिपोबाट पनि लोड गर्न सकिन्छ,’ आचार्यले भने, ‘अमलेखगन्ज डिपोमा २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोल भण्डारण गर्न सकिन्छ । दैनिक ३ हजारदेखि ३५ सय किलोलिटर बिक्री हुन्छ । यस हिसाबले ७ दिन बन्द हुँदा अभाव हुँदैन ।’ अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा इन्धन पठाइन्छ ।
