एमसीसीले निरन्तरता पाएको अर्थ मन्त्रालयद्वारा औपचारिक जानकारी

गतसाता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Official information by Ministry of Finance that MCC continued

What you should know

काठमाडौँ — अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमले निरन्तरता पाएको अर्थ मन्त्रालयद्वारा पुष्टि गरिएको छ । मन्त्रालयले सोमबार सूचनामार्फत उक्त जानकारी दिएको हो ।

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को २०८१ फागुन २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको २० जुलाई २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएको थियो,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ, ‘एमसीसीको २४ जुलाई २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको व्यहोरा सरोकारवालालाई जानकारी गराइएको छ ।’

गतसाता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ, हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौँ,’ अमेरिकी दूतावासले भनेको छ, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलर योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

यो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम निर्बाध रूपमा अघि बढ्न बाटो खुलेको छ ।

दूतावासले यो निर्णय नेपाल सरकारलाई पनि औपचारिक रूपमा जानकारी गराएको छ । एमसीए नेपाल अघि बढाउने सम्बन्धमा अमेरिकी राजदूतावासबाट औपचारिक पत्रमार्फत जानकारी प्राप्त भएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् ।

कान्तिपुर

Link copied successfully