भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले करिब दुई महिनादेखि यस्ता सामानको निर्यात रोकिएको बताए ।
What you should know
भैरहवा — भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो अनिवार्य गरेपछि नेपालबाट हुने स्टिलका भाँडाकुँडा निर्यात ठप्प भएको छ । यसअघि उत्पादित वस्तुमा मात्र ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) अनिवार्य थियो ।
करिब दुई महिनाअघि त्यस्ता सामग्री उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा पनि बीआइएस अनिवार्य गरिएपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगका निर्यात प्रभावित भएको हो ।
अहिले सेजमा रहेका भिस्तार ग्लोबल प्राइभेट लिमिटेड र पञ्चकन्या स्टिलले आफ्ना उत्पादन निर्यात गर्दै आएका छन् । पञ्चकन्याले स्टेनलेस स्टिल ट्याङ्की र भिस्तारले स्टिलका विभिन्न घरायसी प्रयोजनका सामग्री निर्यात गरिरहेका थिए । पञ्चकन्या समूहका जनरल म्यानेजर (जीएम) देवेन्द्र साहुका अनुसार भारत सरकारले नीति परिवर्तन गरेर कच्चा पदार्थमा बीआइएस अनिवार्य गरेपछि निर्यात ठप्प भएको हो । अहिलेको नियमअनुसार भारतबाट प्रमाणित कच्चा पदार्थ ल्याएर भाँडाकुँडा निर्माण गरेर उतै पठाउनुपर्ने जस्तो देखिएको उनले बताए ।
'अहिलेसम्म उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक भ्यालु एड गरेर सामान पठाउँदै आएका थियौँ,' उनले भने, 'अब कच्चा पदार्थ भारतको, उद्योग संरचना मात्र नेपालको जस्तो हुने भयो ।'
आफ्ना उत्पादन भारत निर्यात गर्दै आएको भिस्तारले उत्पादित वस्तुका लागि बीआइएस प्रमाणपत्र (लोगो) लिएको छ । अहिले उक्त उद्योगले आयात गर्दै आएको कच्चा पदार्थको समेत बीआइएस प्रमाणपत्र लिनुपर्ने भएपछि उत्पादन ठप्प भएको हो । भिस्तारले समस्या समाधानका लागि सिद्धार्थ उद्योग वाणिज्य संघलगायत संघसंस्था गुहारिरहेको छ । भिस्तार ग्लोबल प्राइभेट लिमिटेडका लेखा प्रमुख अरविन्द त्रिपाठीले उद्योगले चीनबाट कच्चा पदार्थ आयात गर्दै आएको जानकारी दिए ।
'हाम्रो कच्चा पदार्थ चीनबाट आउने हो,' उनले भने, 'नेपाल ल्याएपछि भ्यालु एड गरेर उद्योग वाणिज्य महासंघबाट प्रमाणपत्र लिएपछि आफ्नो कच्चा पदार्थ बन्ने गर्थ्यो ।' उनका अनुसार उद्योगले महिनामा ४ सय टन भान्सामा उपयोग हुने भाँडाकुँडा उत्पादन गर्दै आएको थियो । अहिले स्थानीय बजारमा आपूर्ति गर्न मासिक २०/३० टन मात्र उत्पादन भइरहेको छ । निर्यात गर्न नपाएपछि गोदाममा अहिले २ सय टन भाँडाकुँडा थन्किएको उनले बताए ।
भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीले करिब दुई महिनादेखि यस्ता सामानको निर्यात रोकिएको बताए ।
'भारतले स्टिल इम्पोर्ट सिस्टममा नयाँ सफ्टवेयर जडान गर्यो,' उनले भने, 'उक्त सफ्टवेयरमा नेपाल उल्लेख नगरिएकाले समस्या भएको हो ।' उनका अनुसार सामानसँगै कच्चा पदार्थमा बीआइएस अनिवार्य गरिएपछि समस्या भएको हो । जुन मुलुकमा कच्चा पदार्थ सस्तो पाइन्छ, उद्योगीले त्यहीँबाट आयात गर्ने परम्परा रहेको औँल्याउँदै उनले भने, 'अहिले त भारतबाट कच्चा पदार्थ ल्याएर निर्माण गरे मात्र निर्यात गर्न पाइने भयो, नत्र अवरोध हुने देखियो ।'
अन्तर्राष्ट्रिय मान्यताअनुसार भारतले लागू गरेको नियम उपयुक्त नभएको उनको भनाइ छ । नेपालमा उत्पादन भइरहेका अन्य वस्तुमा यस्तो प्रावधान छैन । कच्चा पदार्थ आयात रोकिएपछि उद्योग स्वतः बन्द हुने अवस्थामा पुगेको भन्सार प्रमुख रेग्मीले बताए ।
'यस्ता सामग्रीको निर्यातले विदेशी मुद्रा आर्जनमा योगदान पुगिरहेको छ,' उनले भने, 'यसकै साथै अन्तरदेशीय व्यापार सन्तुलनमा टेवा पुगेको थियो ।'
भन्सारका अनुसार गत आर्थिक वर्ष मुलुकबाट निर्यात भएका प्रमुख १० वस्तुमा फलाम वा स्टिल भाँडाकुँडाको योगदान छैटौँ नम्बरमा रहेको छ । गत वर्ष ७३ करोड ६२ लाख ५८ हजार मूल्यका ३ अर्ब ८७ करोड २५ लाख २७ हजार मेट्रिक टन भाँडाकुँडा निर्यात भएको तथ्याङ्क छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले चीनबाट कच्चा पदार्थ आयात गरिएका कारण भारतले नयाँ नियम लागू गरेर अवरोध सिर्जना गरेको बताए ।
'कच्चा पदार्थमा गुणस्तरको लोगो सम्भव हुँदैन,' उनले भने, 'यसले लगानीकर्तालाई अप्ठ्यारो पार्छ । त्यसैले नेपाल सरकारले भारतसित समन्वय गरेर समस्या हल गर्नुपर्छ ।' उद्योग वाणिज्य संघले समस्या सुरु हुने बित्तिकै संस्थागत रूपमा सरोकारवाला निकायको ध्यानाकर्षण गराइसकेको उनले बताए ।
'अहिले पनि समस्याबारे सरोकारवाला निकायलाई घचघच्याइरहेका छौँ,' उनले भने, 'निजी क्षेत्रबाट सम्भव देखिएन । सरकारले नै अग्रसरता देखाउन जरुरी छ ।'
