चितवन निकुञ्ज घुम्ने स्वदेशी पर्यटक : जसरी बढे, त्यसैगरी घट्दै

सडक र हवाई समस्याले चितवन निकुञ्जमा पर्यटक घटे, पर्यटन उद्योग संकटमा परेको व्यवसायीहरूको भनाइ।

श्रावण १२, २०८२

रमेशकुमार पौडेल

Domestic tourists visiting Chitwan Park: As it increased, so it decreased

What you should know

चितवन — भूकम्प र कोरोना महामारीका कारण चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्या घट्दा स्वदेशी पर्यटकको संख्या उल्लेख्य हुन्थ्यो । पछिल्ला वर्षहरूमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीहरू पनि निरन्तर घट्दो क्रममा छन् ।

भूकम्पपछि राम्रो सुधार नहुँदै कोरोनाका कारण खुम्चिन पुगेको विदेशी पर्यटकको आवागमन अझै पूर्ववत् अवस्थामा पुगेको छैन । तर कोरानाकालमै नेपाली पर्यटक ह्वात्तै बढेका थिए ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले दिएको विवरण अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा कुल दुई लाख ३१ हजार ३२९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । त्यसअघि आर्थिक वर्ष ०८०/८१ मा चितवन निकुञ्ज घुम्न सर्वाधिक तीन लाख ६ हजार ८३७ पर्यटक आएका थिए । गत आर्थिक वर्षमा निकुञ्ज घुम्ने स्वदेशी, विदेशी र सार्क क्षेत्रका गरी सबै खाले पर्यटकको संख्यामा कमी आएको छ ।

चितवनलाई काठमाडौँ, पोखरा, बुटवल र भैरहवासँग जोड्ने सडकको दुरावस्था, अत्यधिक बर्खा, सडकदेखि हवाई दुर्घटना र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि भएको रात्रिकालीन सेवा बन्दको असर पर्यटनमा पर्ने सबैको आकलन थियो । तर विदेशी पर्यटकको संख्या केही कम हुँदा नेपालीहरू भने उल्लेख्य रूपमा घटेका छन् । जसको ठूलो असर कुल पर्यटकको संख्या परेको छ ।

‘विदेशीको संख्या अघिल्लो वर्षको तुलनामा त्यति धेरै घटेको भने छैन । स्वदेशी पर्यटक धेरै नै घट्दा कुल पर्यटकको संख्यामा ठूलो गिरावट देखियो’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले भने । गत आर्थिक वर्ष ०८१/८२ मा चितवन निकुञ्ज घुम्ने नेपालीको संख्या एक लाख १७ हजार २०६ रहेको छ । त्यसअघि आर्थिक वर्ष ०८०/८१ मा निकुञ्ज घुम्ने नेपाली एक लाख ७६ हजार ३१६ थिए ।

अर्थात् अघिल्लो आर्थिक वर्षको तुलनामा ५९ हजार ११० जना स्वदेशी पर्यटक कम आएका छन् । अझ त्यसअघिको आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने संख्या ह्वात्तै घटेको देखिन्छ । आर्थिक वर्ष ०७९/८० मा चितवन निकुञ्ज घुम्ने स्वदेशी पर्यटक दुई लाख पाँच हजार ६०५ थिए । पहिला निकुञ्ज घुम्ने स्वदेशी पर्यटकको संख्या हजारमा सीमित हुन्थ्यो । दशकअघि आर्थिक वर्ष ०७०/७१ मा निकुञ्ज घुम्ने नेपाली ३३ हजार २२६ थिए ।

नेपाली पर्यटकको संख्या कोरोनाकालसँगै उकालो लागेको हो । आर्थिक वर्ष ०७६/७७ मा नेपाली ८९ हजार ४४१ ले निकुञ्ज घुमेका थिए । कोरोना सुरु भएर विदेशी पर्यटक आउन ठप्प जस्तै हुँदा नेपालीको बाढी नै आयो । आर्थिक वर्ष ०७७/७८ मा जम्मा एक हजार ३६१ विदेशी पर्यटक आउँदा नेपाली ९६ हजार १०९ आए । त्यसपछिको आर्थिक वर्षमा यो संख्या बढेर एक लाख ५५ हजार ६७१ पुग्यो ।

त्यसपछि आर्थिक वर्ष ०७९/८० मा दुई लाख नाघेको नेपाली पर्यटकको संख्या पछिल्ला दुई आर्थिक वर्षमा निरन्तर ओरालो लागेको छ । अर्थात् चितवन निकुञ्ज घुम्न आउने स्वदेशी पर्यटक जसरी बढेको थिए त्यसै गरी घट्न थालेको तथ्याङ्कबाट स्पष्ट हुन्छ । पर्यटकको संख्या भूकम्पपछि घट्दै गएको समयमा नेपाली पर्यटक बढ्दा पर्यटन क्षेत्रले ठूलो राहत महसुस गरेको थियो ।

तर विदेशी पर्यटकको संख्या पूर्ववत् नहुँदै नेपाली पनि घट्दै गएका छन् । ‘नेपालीहरूको संख्या भूकम्पपछि हल्का बढ्दै बढ्दै कोरोनापछि उच्च विन्दुमा पुग्यो र अहिले फेरि घट्न थालेको छ । हाम्रो क्षेत्रको सम्बन्ध पोखरा, भैरहवा र काठमाडौँसँग छ । यो क्षेत्रमा सडक र हवाई यातायातको अवस्था के छ भन्ने कुराले पनि चितवनमा पर्यटकको संख्या प्रभावित हुन्छ’ क्षेत्रीय होटल संघ (हान) सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने ।

कोरोनापछि नेपालीमा घुम्नु पर्दछ भन्ने भावना बढेको घिमिरेले अनुभव गरेका छन् । ‘कमाएर मात्रै हुँदो रहेनछ, अचानक यस्ता महामारी पनि आउँदा रहेछन्, कमाउने घुम्ने, रमाउने पनि गरौँ भन्ने नेपालीको मनमा पर्‍यो भन्ने लाग्छ’ घिमिरेले सुनाए । परिवारसहित घुम्ने परम्परा पनि त्यसपछि नै बढेको उनले बताए । विदेश बसेकाहरू बिदामा घर आउँदा सबै मिलेर घुम्न निस्कने चलन मौलायो ।

Domestic tourists visiting Chitwan Park: As it increased, so it decreased

‘तर चितवन आउँदा सधैँ उही हात्ती जिप चढ्ने त्यो पनि वर्षौँदेखि एउटै रुटमा सफारी गर्ने भएपछि रुचि घट्दै गएको होला’ घिमिरेले भने । ‘फेरि पछिल्लो समय अर्थतन्त्र पनि घुम्न बल दिने खालको छैन । बाटोघाटो त झन् भन्नै परेन ।’ नेपाली पर्यटक र विदेशीको शैली नै फरक छ । विदेशी पर्यटक हात्ती खासै चढ्दैनन् ।

स्वदेशी पर्यटक हात्ती चढ्नकै लागि सौराहा पुग्छन् । सौराहा आसपासको बाघमारा मध्यवर्ती सामुदायिक वन हात्ती सफारी धेरै हुने वन हो । वर्षमा तीन करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने बाघमारा मुख्य आधार नै नेपाली पर्यटकमा निर्भर हात्ती सफारी हो । ‘हामीले प्रचार गर्ने नै सौराहा आउनुस् हात्तीमा घुमाउँछौं भनेर हो । पर्यटक कम भए त्यसको मार आम्दानीमा पर्छ’ वनका अध्यक्ष भुवनेश्वरप्रसाद (बीपी) चौधरीले भने ।

चितवनका पुराना पर्यटन व्यवसायी तथा संरक्षणकर्मी रामकुमार अर्याल देश र अन्तर्राष्ट्रिय माहौल अनुकुल नभएका कारण सबै खाले पर्यटकको संख्या प्रभावित भएको बताउँछन् । ‘स्वदेशी पर्यटकले संकटमा ठूलो राहत दिएका थिए । अब स्वदेशी नै घट्न थाल्दा पर्यटन व्यवसायमा संकट बढ्न सक्छ,’ अर्यालले भने । पर्यटनका सम्बन्धमा सबै पक्ष मिलेर रणनीति बनाउन उनले आग्रह गरे ।

‘आर्थिक मन्दी लगायतका समस्या विश्वव्यापी हो । तर संसारका सबै ठाउँमा पर्यटक घटे भन्ने छैन । भियतनाम, थाइल्यान्डमा त गएकै छन् । नेपाली पनि त्यहाँ उल्लेख्य जान्छन् । यो पक्ष विचार गरेर एउटा रणनीति बनाउनु पर्ने बेला आएको छ,’ अर्यालले भने ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त निकुञ्जका कारणले संख्या प्रभावित नभएको बताउँछन् ।

‘कोभिडपछि एकाएक बढेर गयो र त्यसपछि व्यक्तिगत आयस्तरको विषयले पनि संख्या घट्यो कि ? यो त अध्ययनको विषय भयो । निकुञ्जको संरक्षण गर्ने र पर्यटन व्यवस्थापन गर्ने कुरामा हामी निरन्तर काम गरिरहेका छौँ । पर्यटक संख्याको विषय निकुञ्जको व्यवस्थापनभन्दा बाहिरको विषय पर्‍यो,’ पन्तले भने । निकुञ्जभित्र जनावर बढेका, सफारी रुटको अवस्था सुधार भएका कारण भित्रको व्यवस्थापन राम्रो छ भन्छन् उनी ।

चितवन राष्ट्रिय निकुञ्ज देशको पहिलो राष्ट्रिय निकुञ्ज हुनुका साथै वन्यजन्तु अवलोकनमा रुचि हुने स्वदेशी विदेशी पर्यटकको पनि पहिलो गन्तव्य हो । यस निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैँडा, घडियाल लगायतका जीव जनावर र पक्षीहरू हेर्न पाइन्छ । पछिल्लो समय चरा हेर्ने विदेशी पर्यटक बढ्दै गएको नेचर गाइड वासु बिडारी बताउँछन् । निकुञ्जमा र सामुदायिक वनहरूमा हुने जिप सफारी, निकुञ्ज बाहिर मध्यवर्ती वनमा हात्ती सफारी, डुंगा सफारी यहाँका मुख्य पर्यटकीय गतिविधि हुन् । आदिवासी थारु समुदायको संस्कृति पनि पर्यटकले रुचाउँछन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully