एउटा जहाज बिग्रिँदा विमानस्थल अस्तव्यस्त

काठमाडौंमा क्याथे प्यासिफिक एयरको वाइडबडी जहाज बिग्रिएपछि कार्गो विमानबाट इन्जिन ल्याएर फेरबदल गरिँदै, बिग्रिएको इन्जिन हङकङमा मर्मत गरिने

श्रावण ११, २०८२

सुरज कुँवर

A plane breaks down and the airport is in chaos

What you should know

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खुला ठाउँमा बिहीबारयता हङकङको ध्वजावाहक क्याथे प्यासिफिक एयरको वाइडबडी जहाजमा इन्जिन फेरबदल भइरहेको छ । हङकङबाटै आएका इन्जिनियर र प्राविधिकले ‘ग्राउन्डेड’ विमानको इन्जिन खोलेर जगेडा इन्जिन राखिरहेका छन् । 

क्याथेको ‘ब्राभो–लिमा ब्राभो होटल’ कल साइन भएको वाइडबडी ए–३३० त्रिभुवन विमानस्थलमा २७ असारदेखि ‘ग्राउन्डेड’ भएको हो । ३ सय १० यात्रु राखेर काठमाडौंबाट हङकङका लागि उड्ने तरखरमा रहेका बेला जहाजमा समस्या आएको थियो । क्याथेको नेपाल स्टेसनका अनुसार विमानस्थलको एप्रोनबाट जहाज ट्याक्सी–वे हुँदै ‘टेकअफ’का लागि रनवे पुगेपछि पाइलटले दुवै इन्जिनको पावर खोल्दा बायाँतर्फको इन्जिन ‘ब्रस्ट’ भएको थियो । करिब दुई सातापछि इन्जिन ल्याएर फेरबदल सुरु गरिएको हो । 

काठमाडौं विमानस्थलका एक वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार इन्जिनमा समस्या देखिएपछि पाइलटले जहाजलाई पुनः एप्रोनमै फर्काउने अनुमति लिएका थिए । ‘त्यो साँझ क्याथेको जहाज हङकङबाट काठमाडौंमा अवतरण हुँदा ठिकै थियो । इन्जिनमा कुनै समस्या भएको रिपोर्ट हामीलाई गरिएको थिएन,’ उनले भने, ‘फर्किने बेला भने एउटा इन्जिनमा समस्या देखिएछ ।’

क्याथेको वाइडबडीले दुई सातासम्म पार्किङ ओगट्दा विमानस्थल व्यवस्थापनमा समेत समस्या भएको थियो । अरू जहाजलाई पार्किङका लागि ठाउँ नपुग्ने भएकाले विमानस्थलका कर्मचारीले क्याथेको जहाजलाई कहिले आयल निगमको डिपो नजिकैको पार्किङमा त कहिले उत्तरपूर्वी क्षेत्रमा रहेको रिमोट पार्किङमा लैजाने प्रयास गरेका थिए । उपकरणको सहायताले तानेर जहाजलाई अन्यत्र सार्ने प्रस्ताव क्याथेका कर्मचारीले मानेनन् । बिग्रेको जहाजको पूरा पार्किङ शुल्क तिरेर एप्रोनमै राख्ने अडान उनीहरूले लिए ।

क्याथेको नेपाल स्टेसनका अनुसार त्यस जहाजको इन्जिन ‘सर्भिसिङ’ गर्ने बेला भएको थिएन । ‘यो अचानक देखिएको समस्या थियो । इन्जिनमा कुनै कैफियत थिएन,’ क्याथेका एक अधिकारीले भने । हुन त हरेक जहाजमा एक जना इन्जिनियर पनि चालकदलसँगै आउँछन् । यस जहाजमा पनि आएका इन्जिनियरले समाधानका लागि प्रयास गरेका थिए । तर क्याप्टेनले जहाजको लगबुकमा इन्जिनमा देखिएका प्राविधिक समस्या जटिल नै भएको लेखिदिएपछि जहाजलाई ‘ग्राउन्डेड’ घोषणा गरियो । यात्रुलाई बाहिर निकालियो ।

बिग्रेको दुई सातापछि क्याथेले अन्यत्रै उडिरहेको आफ्नै कम्पनीको बोइङ ७४७–४०० सिरिजको कार्गो विमानको ‘स्लट’ फेला पारेर बिहीबार एउटा जगेडा इन्जिनसहित काठमाडौं ओराल्यो । ‘१ लाख १२ हजार किलोग्राम कार्गो क्षमता भएको त्यो विमान इलोक्ट्रोनिक्स, कपडा, औषधि, मेसिनरी सामान बोकेर हङकङबाट पहिल्यै बुक भएका न्युयोर्क, मेलान, टोरेन्टोलगायतका गन्तव्यमा ढुवानीमा व्यस्त थियो । त्यसको ठाउँमा बोइङ ७४७–८०० सिरिजको ठूलो कार्गो जहाजलाई अदलीबदली गरेर ल्याइयो,’ स्रोतले भन्यो । 

काठमाडौं विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जगेडा इन्जिन आइपुगेपछि नेपाल वायुसेवा निगमको ह्यांगर (जहाज मर्मतशाला) अगाडि क्याथेको वाइडबडीलाई लगियो । ‘त्यहाँ राखिएको निगमको वाइडबडीलाई पहिले क्याथेको ग्राउन्डेड जहाज राखिएको पार्किङमा ल्याइएको छ,’ उनले भने । पहिले राखिएकै पार्किङमा इन्जिन फेरबदल गर्न क्याथेलाई काठमाडौं विमानस्थलले अनुमति दिएन ।

१ सय ७९ जहाज भएको क्याथेसँग २० वटा कार्गो जहाज छन् । ७६ मिटर लामो र पखेटाको फैलावट ६८ मिटर चौडाइ भएका बोइङ ७४७–८०० सिरिजका १४ जहाज छन् । ‘तर काठमाडौं विमानस्थलको पार्किङका लागि ती जहाज उपयुक्त नभएकाले अन्यत्रै उडिरहेको बोइङ ७४७–४०० सिरिजको कार्गो नेपाल ल्याइयो,’ स्रोतले भन्यो, ‘यही खालको कार्गो विमानलाई मात्रै नेपालमा अवतरण/उडान अनुमति छ । यसको भारवहन क्षमता १ सय १२ मेट्रिक टन हो । तर काठमाडौंमा ल्याइएको इन्जिन मात्रै १२ टन हाराहारी हो ।’ काठमाडौं विमानस्थलको धावनमार्गमा २ सय टनसम्मको जहाजलाई उडान अवतरणको अनुमति छ । तर बोइङ ७४७–८०० सिरिजका जहाजको लम्बाइ र पखेटाको चौडाइका कारण काठमाडौं विमानस्थलमा पार्किङ गर्न समस्या हुन्छ । त्यसैले यो सिरिजका जहाजलाई अवतरणको अनुमति छैन ।

जगेडा इन्जिन ल्याएर बिहीबार काठमाडौंमा अवतरण भएको जहाज बिग्रेको इन्जिन बोकेर शुक्रबार बिहान हङकङ फर्किसकेको छ । बेलायतको रोल्स रोयस होल्डिङद्वारा उत्पादित ट्रेन्ट इन्जिन उडानयोग्य नै भएकाले हङकङमा मर्मत गरेर पुनः प्रयोगमा ल्याइने क्याथे नेपालका एक अधिकारीले बताए । ‘ग्राउन्डेड’ वाइडबडी जहाजमा इन्जिन फेर्न १५ हाराहारी नेपाली र विदेशी प्राविधिक खटिएका छन् । इन्जिन जडान भइसकेपछि जाँच गरिनेछ । जाँच कहिले हुने हो भन्ने यकिन भइसकेको छैन । प्राविधिकले अनुमति दिएपछि जहाजलाई यात्रु नराखी हङकङ लगिनेछ ।

यस घटनाले नेपालमा वाइडबडी विमान मर्मत गर्न अन्तर्राष्ट्रियस्तरको ह्यांगरको आवश्यकता टड्कारो बनेको छ । अन्तर्राष्ट्रियस्तरको ह्यांगर सेवा नभएकै कारण क्याथेको बिमासँग सम्बन्धित एजेन्सीले नेपालमा इन्जिनको खुला आकाशमा मर्मत गर्न अनुमति दिएन । मनसुनयाममा खुला आकाशमुनि इन्जिन मर्मत गर्न नसकिने लगायतका कारण क्याथेले अन्यत्रै उडानमा रहेको कार्गो विमानबाट जगेडा इन्जिन नेपाल ल्यायो र फेरबदल गर्‍यो । मर्मत भने हङकङमै रहेको आफ्नो अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न एमआरओ ह्यांगरमा गर्ने भएको छ ।

इन्जिनमै समस्या झेलेका कारण कोभिडअघि भारतको जेट एयरवेज, कतार एयरवेज, थाई एयर र यूएईको इतिहाद एयरवेजले पनि हप्तौंसम्म नेपालमा जहाज ‘ग्राउन्डेड’ गर्नुपरेका दृष्टान्त छन् । फागुन २०७१ मा इस्तानबुलबाट आएको टर्किस एयरको वाइडबडी विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लेको थियो । घाँसेमैदानमा रोकिएको टर्किसको त्यो जहाज झिक्ने उपकरण नेपालमा कसैसँग पनि नभएका कारण अन्तर्राष्ट्रिय उडान चार दिन रोकिएको थियो । २६ अर्ब रुपैयाँ बराबरको ‘ब्रान्ड न्यु’ जहाज नेपालमा मर्मत हुन सकेन । टर्किसले जहाज बिमा कम्पनीलाई हस्तान्तरण गरी काम गर्ने पार्टपुर्जा झिकेर लगेको थियो । खोक्रो जहाज भने १ करोड हाराहारीमा लिलाम गरिएको थियो ।

धावनमार्ग बाहिर नेपालमा आधुनिक मर्मतशाला नभएका कारण यहाँ कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या भइहाले चार्टर जहाजबाट प्राविधिक, इन्जिन, स्पेयर पार्ट्स ल्याएर खुला आकाशमुनि मर्मत गर्नुपर्ने बाध्यता छ । नेपालमा ७ दशक पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानलाई भैपरि प्राविधिक सेवा दिने केही विदेशी एमआरओका साना वर्कसप छन् । तर, तीसँग सबै प्रकारका जहाजलाई आवश्यक पर्ने स्पेयर पार्ट्स त धेरै परको कुरा हो, सामान्य ‘टुल्स’ नै पर्याप्त छैनन् ।

‘काठमाडौं विमानस्थलमा त यस्तो हालत छ, पोखरा र भैरहवामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल बन्दैमा विदेशी वायुसेवा कहाँ जान्छन् र !’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘उनीहरूलाई यात्रु मात्रै भएर होइन, त्यहाँ केही भइहाले पाङ्ग्रा फेर्दा चाहिने आधारभूत उपकरणको सेवा दिने इन्जिनियरिङ सेवा पनि चाहिन्छ ।’

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully