बढ्यो ओटीटी प्लाटफर्महरूको विश्व बजार

नेटफ्लिक्स, अमेजन, प्राइम भिडियो, डिज्नी प्लस, एचबीओ म्याक्स, पारामाउन्टलगायत विश्वका ठूला स्ट्रिमिङ प्लाटफर्मले अर्बौं डलर खर्चेर आफ्नो प्लाटफर्ममा दर्शक तान्ने रणनीति अपनाइरहेका छन् 

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

The global market for OTT platforms has grown

What you should know

काठमाडौँ — विश्वभर ओभर द टप (ओटीटी) स्ट्रिमिङ सेवाको प्रभाव तीव्र रूपमा बढिरहेको छ । यस्तोमा पारामाउन्ट ग्लोबलले चर्चित एनिमेटेड सिरिज ‘साउथ पार्क’ का निर्माता ट्रे पार्कर र म्याट स्टोनसँग १.५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।

पाँच वर्षका लागि गरिएको सम्झौताले पारामाउन्ट प्लसलाई साउथ पार्कका २७ वटै सिजनको लाइब्रेरीसहित विश्वव्यापी स्ट्रिमिङ अधिकार प्रदान गर्नेछ । यसअघि उक्त शो एचबीओ म्याक्समा उपलब्ध थियो ।

सम्झौताअनुसार वार्षिक १० वटा नयाँ एपिसोड निर्माण हुनेछन् । यसले प्रतिस्पर्धी बजारमा पारामाउन्ट प्लसको पकड बलियो बनाउने कम्पनीको विश्वास छ । यस सम्झौतालाई नेटफ्लिक्स, डिज्नी प्लसजस्ता स्ट्रिमिङ जायन्टसँग प्रतिस्पर्धा गर्न गरिएको रणनीतिक कदमका रूपमा हेरिएको छ ।

लस एन्जलस टाइम्सका अनुसार पारामाउन्टले एचबीओ म्याक्स र यसको मूल कम्पनी वार्नर ब्रोज डिस्कभरीलाई सिरिजको सह–लाइसन्स गर्ने प्रस्ताव राखेको थियो । तर, वार्ता असफल भएपछि, पारामाउन्टले एकल रूपमा स्ट्रिमिङ अधिकार लिने निर्णय गरेको हो ।

विश्वव्यापी ओटीटी बजार आकार सन् २०२५ मा करिब ३ सय ४३ अर्ब डलर पुग्ने वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । सन् २०३० सम्ममा यो ४ सय ६६ अर्ब डलर पुग्ने अनुमान छ । यसको वार्षिक वृद्धिदर (सीएजीआर) ६.३ प्रतिशत रहने प्रक्षेपण छ । पछिल्ला तीन आर्थिक वर्षमा ओटीटी प्लाटफर्महरूको आम्दानी र ग्राहक संख्या निरन्तर बढिरहेका छन् ।

नेटफ्लिक्स, अमेजन, प्राइम भिडियो, डिज्नी प्लस, एचबीओ म्याक्स, पारामाउन्टलगायत विश्वका ठूला स्ट्रिमिङ प्लाटफर्मले अर्बौं डलर खर्चेर आफ्नो प्लाटफर्ममा दर्शक तान्ने रणनीति अपनाइरहेका छन् । कोभिड–१९ महामारीपछि ओटीटी प्लाटफर्मको प्रयोग उल्लेख्य बढेको थियो ।

फिल्म हलहरू बन्द हुँदा डिजिटल माध्यममा दर्शकको आकर्षण चुलिएको थियो । स्टाटिस्टाको तथ्यांकअनुसार सन् २०२० मा संसारभर ओटीटी प्रयोगकर्ता संख्या २ अर्ब हाराहारीमा थिए । सन् २०२५ सम्म आइपुग्दा करिब ३.५ अर्ब पुग्ने अनुमान गरिएको छ, विश्वमा जम्मा ८ अर्ब मानिस छन् । 

इन्टरनेटको पहुँच विस्तारसँगै स्मार्टफोन सर्वसुलभ हुँदै जानु र ओटीटीका आकर्षक कन्टेन्टमा दर्शक अभ्यस्त हुँदै गएकाले ओटीटीको बजार झाँगिएको विश्लेषण हुने गरेका छन् । यसको विपरीत, मनोरञ्जनका परम्परागत माध्यमका ग्राहक भने क्रमिक रूपमा घटेको देखिन्छ । सन् २०२४ सम्ममा अमेरिकाका ६० प्रतिशतभन्दा कम घरपरिवारले परम्परागत पे–टीभी, सिनेमाजस्ता सेवा लिएका थिए भने अमेरिकी टीभी प्रयोगको ४४.८ प्रतिशत हिस्सा स्ट्रिमिङ प्लाटफर्मले ओगटेका थिए ।

ओटीटी सेवाको बजार बढ्नुलाई सांस्कृतिक परिवर्तनको संकेतका रूपमा पनि व्याख्या गरिन्छ । एकपछि अर्को नटुटाई हेरिने ‘बिन्ज–वाचिङ’ र एकभन्दा बढी डिभाइस हेर्न मिल्ने सुविधाका कारण पनि ओटीटी सेवा लोकप्रिय बनेका छन् ।

ओटीटी सेवाहरूले मौलिक सामग्री निर्माणमा आक्रामक लगानी गरिरहेका छन् भने एआईमा आधारित युजर एक्सपेरियन्स प्रदान गरिरहेका छन् । उदाहरणका लागि, नेटफ्लिक्सले सन् २०२३ मा कन्टेन्ट प्रोडक्सनका लागि १२ अर्ब डलर खर्च गरेको थियो । सन् २०२५ को पहिलो त्रैमासिकमा १०.५५ अर्ब डलर आम्दानी गर्दै १३ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गरेको छ ।

अमेजन प्राइम भिडियोका १ सय ८० मिलियन दर्शक छन् । सन् २०२७ सम्ममा यो संख्या बढेर २ सय ५० मिलियन पुग्ने अनुमान छ । पछिल्लो समय केही उतारचढाव भोगेको डिज्नी प्लसले पनि १ सय २४ मिलियन ग्राहक कायम राख्न सफल भएको छ । आर्थिक वर्ष २०२४ मा १०.४ अर्ब डलर आम्दानी गरेको थियो ।

एभीओडी (विज्ञापनसमेत हुने भिडियो अन डिमान्ड) र फास्ट (फ्रि एड–सपोर्टेड स्ट्रिमिङ टीभी) सेवाहरू १३.४ प्रतिशतका दरले बढ्ने अनुमान गरिएको छ । सन् २०२५ सम्ममा प्रतिप्रयोगकर्ता औसत आम्दानी (एआरपीयू) ८६०.७३ डलर पुग्ने अनुमान छ ।

ओटीटी बजारका प्रमुख कम्पनीले विश्व मनोरञ्जन क्षेत्रमा वर्चस्व जमाइरहेका छन् । नेटफ्लिक्ससँग ३०१.६ मिलियन ग्राहक छन् । अमेरिकामा यसको बजार हिस्सा ४४.२ प्रतिशत छ । अमेजन प्राइम भिडियो र म्याक्स (एचबीओ म्याक्स) को बजार हिस्सा क्रमशः २२ र १४ प्रतिशत छ । डिज्नी प्लस र हुलुको हिस्सा ११ र १० प्रतिशत रहेको छ भने एपल टीभी प्लस, पिकक र पारामाउन्ट प्लस अग्रपंक्तिमा छन् ।

ओटीटी प्लाटफर्मको बढ्दो विश्वव्यापी प्रभावको एक अंश नेपालमा यस्ता प्लाटफर्मको थपिँदै गएका दर्शकबाट पनि अनुमान गर्न सकिन्छ । नेटफ्लिक्स, अमेजन प्राइमलगायत ओटीटी प्लाटफर्ममा विशेषगरी सहरियाको बढ्दो पहुँच फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत प्लाटफर्ममा छरपस्ट भेटिने विज्ञापनबाट पनि प्रमाणित हुन्छ । नेपाल विशेष बजार नभएका यस्ता प्लाटफर्मका सेवा कुनै तेस्रो पक्षसँग लिएर प्रयोगकर्तालाई केही सयदेखि हजार रुपैयाँसम्ममा दिने विज्ञापन सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

स्टाटिस्टाको एक अनुमानअनुसार सन् २०३० सम्ममा झन्डै १० लाख नेपालीले अन्तर्राष्ट्रिय ओटीटी सेवा लिनेछन् । सामाजिक सञ्जालका सस्तोमा ओटीटी प्लाटफर्म सेवा उपलब्ध गराइदिने विज्ञपानहरूको भर पर्दा ठगिएको गुनासो आइरहँदा यसको प्रभाव र प्रयोग भने बढ्दो छ । 

– एजेन्सीको सहयोगमा

कान्तिपुर संवाददाता

Link copied successfully