नेटफ्लिक्स, अमेजन, प्राइम भिडियो, डिज्नी प्लस, एचबीओ म्याक्स, पारामाउन्टलगायत विश्वका ठूला स्ट्रिमिङ प्लाटफर्मले अर्बौं डलर खर्चेर आफ्नो प्लाटफर्ममा दर्शक तान्ने रणनीति अपनाइरहेका छन्
What you should know
काठमाडौँ — विश्वभर ओभर द टप (ओटीटी) स्ट्रिमिङ सेवाको प्रभाव तीव्र रूपमा बढिरहेको छ । यस्तोमा पारामाउन्ट ग्लोबलले चर्चित एनिमेटेड सिरिज ‘साउथ पार्क’ का निर्माता ट्रे पार्कर र म्याट स्टोनसँग १.५ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।
पाँच वर्षका लागि गरिएको सम्झौताले पारामाउन्ट प्लसलाई साउथ पार्कका २७ वटै सिजनको लाइब्रेरीसहित विश्वव्यापी स्ट्रिमिङ अधिकार प्रदान गर्नेछ । यसअघि उक्त शो एचबीओ म्याक्समा उपलब्ध थियो ।
सम्झौताअनुसार वार्षिक १० वटा नयाँ एपिसोड निर्माण हुनेछन् । यसले प्रतिस्पर्धी बजारमा पारामाउन्ट प्लसको पकड बलियो बनाउने कम्पनीको विश्वास छ । यस सम्झौतालाई नेटफ्लिक्स, डिज्नी प्लसजस्ता स्ट्रिमिङ जायन्टसँग प्रतिस्पर्धा गर्न गरिएको रणनीतिक कदमका रूपमा हेरिएको छ ।
लस एन्जलस टाइम्सका अनुसार पारामाउन्टले एचबीओ म्याक्स र यसको मूल कम्पनी वार्नर ब्रोज डिस्कभरीलाई सिरिजको सह–लाइसन्स गर्ने प्रस्ताव राखेको थियो । तर, वार्ता असफल भएपछि, पारामाउन्टले एकल रूपमा स्ट्रिमिङ अधिकार लिने निर्णय गरेको हो ।
विश्वव्यापी ओटीटी बजार आकार सन् २०२५ मा करिब ३ सय ४३ अर्ब डलर पुग्ने वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । सन् २०३० सम्ममा यो ४ सय ६६ अर्ब डलर पुग्ने अनुमान छ । यसको वार्षिक वृद्धिदर (सीएजीआर) ६.३ प्रतिशत रहने प्रक्षेपण छ । पछिल्ला तीन आर्थिक वर्षमा ओटीटी प्लाटफर्महरूको आम्दानी र ग्राहक संख्या निरन्तर बढिरहेका छन् ।
नेटफ्लिक्स, अमेजन, प्राइम भिडियो, डिज्नी प्लस, एचबीओ म्याक्स, पारामाउन्टलगायत विश्वका ठूला स्ट्रिमिङ प्लाटफर्मले अर्बौं डलर खर्चेर आफ्नो प्लाटफर्ममा दर्शक तान्ने रणनीति अपनाइरहेका छन् । कोभिड–१९ महामारीपछि ओटीटी प्लाटफर्मको प्रयोग उल्लेख्य बढेको थियो ।
फिल्म हलहरू बन्द हुँदा डिजिटल माध्यममा दर्शकको आकर्षण चुलिएको थियो । स्टाटिस्टाको तथ्यांकअनुसार सन् २०२० मा संसारभर ओटीटी प्रयोगकर्ता संख्या २ अर्ब हाराहारीमा थिए । सन् २०२५ सम्म आइपुग्दा करिब ३.५ अर्ब पुग्ने अनुमान गरिएको छ, विश्वमा जम्मा ८ अर्ब मानिस छन् ।
इन्टरनेटको पहुँच विस्तारसँगै स्मार्टफोन सर्वसुलभ हुँदै जानु र ओटीटीका आकर्षक कन्टेन्टमा दर्शक अभ्यस्त हुँदै गएकाले ओटीटीको बजार झाँगिएको विश्लेषण हुने गरेका छन् । यसको विपरीत, मनोरञ्जनका परम्परागत माध्यमका ग्राहक भने क्रमिक रूपमा घटेको देखिन्छ । सन् २०२४ सम्ममा अमेरिकाका ६० प्रतिशतभन्दा कम घरपरिवारले परम्परागत पे–टीभी, सिनेमाजस्ता सेवा लिएका थिए भने अमेरिकी टीभी प्रयोगको ४४.८ प्रतिशत हिस्सा स्ट्रिमिङ प्लाटफर्मले ओगटेका थिए ।
ओटीटी सेवाको बजार बढ्नुलाई सांस्कृतिक परिवर्तनको संकेतका रूपमा पनि व्याख्या गरिन्छ । एकपछि अर्को नटुटाई हेरिने ‘बिन्ज–वाचिङ’ र एकभन्दा बढी डिभाइस हेर्न मिल्ने सुविधाका कारण पनि ओटीटी सेवा लोकप्रिय बनेका छन् ।
ओटीटी सेवाहरूले मौलिक सामग्री निर्माणमा आक्रामक लगानी गरिरहेका छन् भने एआईमा आधारित युजर एक्सपेरियन्स प्रदान गरिरहेका छन् । उदाहरणका लागि, नेटफ्लिक्सले सन् २०२३ मा कन्टेन्ट प्रोडक्सनका लागि १२ अर्ब डलर खर्च गरेको थियो । सन् २०२५ को पहिलो त्रैमासिकमा १०.५५ अर्ब डलर आम्दानी गर्दै १३ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गरेको छ ।
अमेजन प्राइम भिडियोका १ सय ८० मिलियन दर्शक छन् । सन् २०२७ सम्ममा यो संख्या बढेर २ सय ५० मिलियन पुग्ने अनुमान छ । पछिल्लो समय केही उतारचढाव भोगेको डिज्नी प्लसले पनि १ सय २४ मिलियन ग्राहक कायम राख्न सफल भएको छ । आर्थिक वर्ष २०२४ मा १०.४ अर्ब डलर आम्दानी गरेको थियो ।
एभीओडी (विज्ञापनसमेत हुने भिडियो अन डिमान्ड) र फास्ट (फ्रि एड–सपोर्टेड स्ट्रिमिङ टीभी) सेवाहरू १३.४ प्रतिशतका दरले बढ्ने अनुमान गरिएको छ । सन् २०२५ सम्ममा प्रतिप्रयोगकर्ता औसत आम्दानी (एआरपीयू) ८६०.७३ डलर पुग्ने अनुमान छ ।
ओटीटी बजारका प्रमुख कम्पनीले विश्व मनोरञ्जन क्षेत्रमा वर्चस्व जमाइरहेका छन् । नेटफ्लिक्ससँग ३०१.६ मिलियन ग्राहक छन् । अमेरिकामा यसको बजार हिस्सा ४४.२ प्रतिशत छ । अमेजन प्राइम भिडियो र म्याक्स (एचबीओ म्याक्स) को बजार हिस्सा क्रमशः २२ र १४ प्रतिशत छ । डिज्नी प्लस र हुलुको हिस्सा ११ र १० प्रतिशत रहेको छ भने एपल टीभी प्लस, पिकक र पारामाउन्ट प्लस अग्रपंक्तिमा छन् ।
ओटीटी प्लाटफर्मको बढ्दो विश्वव्यापी प्रभावको एक अंश नेपालमा यस्ता प्लाटफर्मको थपिँदै गएका दर्शकबाट पनि अनुमान गर्न सकिन्छ । नेटफ्लिक्स, अमेजन प्राइमलगायत ओटीटी प्लाटफर्ममा विशेषगरी सहरियाको बढ्दो पहुँच फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत प्लाटफर्ममा छरपस्ट भेटिने विज्ञापनबाट पनि प्रमाणित हुन्छ । नेपाल विशेष बजार नभएका यस्ता प्लाटफर्मका सेवा कुनै तेस्रो पक्षसँग लिएर प्रयोगकर्तालाई केही सयदेखि हजार रुपैयाँसम्ममा दिने विज्ञापन सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
स्टाटिस्टाको एक अनुमानअनुसार सन् २०३० सम्ममा झन्डै १० लाख नेपालीले अन्तर्राष्ट्रिय ओटीटी सेवा लिनेछन् । सामाजिक सञ्जालका सस्तोमा ओटीटी प्लाटफर्म सेवा उपलब्ध गराइदिने विज्ञपानहरूको भर पर्दा ठगिएको गुनासो आइरहँदा यसको प्रभाव र प्रयोग भने बढ्दो छ ।
– एजेन्सीको सहयोगमा
