सातामै ११२ अंकले बढ्यो नेप्से, ९४ अर्बको सेयर किनबेच, अघिल्लो बिहीबार २ हजार ८ सय ७०.६३ अंकमा रहेको नेप्से गत बिहीबार २ हजार ९ सय ८२.६४ विन्दुमा
What you should know
काठमाडौँ — साता सेयर कारोबार मापक नेप्से परिसूचक ११२ अंकले बढेर २ हजार ९ सय ८२.६४ विन्दुमा उक्लेको छ । गत साताको तुलनामा यो ३.९० प्रतिशतले बढेको हो । पाँच दिनको सेयर कारोबारमा १८ करोड १४ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
यो साता कारोबारमा आएकामध्ये २ सय ८ कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटाको घट्यो ।
अघिल्लो बिहीबार २ हजार ८ सय ७०.६३ अंकमा रहेको नेप्से गत बिहीबार २ हजार ९ सय ८२.६४ विन्दुमा उक्लेर बन्द भएको छ । यो साता कारोबारमा आएकामध्ये बैंक तथा वित्तीय संस्था उपसमूहअन्तर्गतका कम्पनीको परिसूचक घट्यो भने जलविद्युत्, बिमालगायत उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ । साताभर कारोबारमा आएका कम्पनीमध्ये ७७ प्रतिशतको सेयर मूल्य बढेको छ भने २३ प्रतिशतको घटेको छ ।
यो साता सबैभन्दा धेरै कमाउने कम्पनीमा जलविद्युत् र लघुवित्त छन् । यसअनुसार सान्भी इनर्जीको सेयर मूल्य ६०.९७, ट्रेड टावरको ६०.९६, उन्नति सहकार्य लघुवित्तको ३३.४२, विध्यवासिनी हाइड्रोपावरको २९.१०, ग्रिन भेन्चर्सको २१.०२, फर्स्ट माइक्रोफाइनान्सको १९.३५, एनएलजी इन्स्योरेन्सको १८.२१, आरएसडीसी लघुवित्तको १७.५८, नेपाल रिइन्स्योरेन्सको १६.९२ र कालिका पावर कम्पनीको १६.८९ प्रतिशतले बढे ।
तर यो साता धेरै सेयरमूल्य घटेका कम्पनीहरूमा धेरै विकास बैंक र फाइनान्स कम्पनी छन् । यद्यपि केही जलविद्युत् कम्पनीको सेयर मूल्य पनि घटेको छ । यसअनुसार यो साता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५.३१, ग्रिन डेभलपमेन्ट बैंकको १४.९२, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.१८, समृद्धि फाइनान्सको १०.२९, पञ्चकन्या माई हाइड्रोपावरको ७.३८, सिन्धु विकास बैंकको ७.२०, युनियन हाइड्रोपावरको ५.३९, दोर्दीर्खोला जलविद्युत्को ५.११, युनाइटेड मोदी हाइड्रोपावरको ४.९७ र सम्पदा लघुवित्तको ४.७० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
साप्ताहिक कारोबारका आधारमा यस साता नेपाल रिइन्स्योरेन्स सबैभन्दा अघि छ । यस अवधिमा यो कम्पनीको कारोबार रकम १६.९२ प्रतिशतले बढेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार ९.८६, बुटवल पावरको ६.५४, न्याग्दी ग्रुपको ८.३३, शिभम सिमेन्टको १३.०८, फर्स्ट माइक्रोफाइनान्सको १९.३५ र लुम्बिनी विकास बैंकको सेयर मूल्य १६.२७ प्रतिशतले बढेको छ ।
यो साता सबै कारोबार दिनमा नेप्से उकालो लागेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि झन्डै २ खर्ब (१ खर्ब ९४ अर्ब) ले बढेको छ । गत बिहीबार कुल बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो बिहीबार कुल बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब रुपैयाँ थियो । गत बिहीबारको कुल बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ८१ प्रतिशत हो ।
यस साता सबै कारोबार दिन नेप्से बढे पनि आइतबार ०.३२ अंकले मात्र नेप्से सकारात्मक बनेको थियो । तर नेप्से सोमबार २१.७६ र मंगलबार ८०.९७ अंकले बढ्यो । यो वृद्धि बुधबारसम्म टिकेन । यसकारण नेप्से बुधबार ५.१७ र बिहीबार ३.७६ अंकले मात्र उकालो लाग्यो । गत साता पनि सोमबारबाहेक सबै कारोबार दिनमा नेप्से बढेको थियो ।
यसरी बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि गत बुधबार र बिहीबार नेप्सेको वृद्धिदरमा कमी आएको जानकार बताउँछन् । यद्यपि आउँदा दिनमा पनि नेप्से उकालो लाग्ने विश्लेषकहरूको अनुमान छ । ब्याजदर न्यून दरमै रहेकाले बैंक तथा वित्तीय संस्थाले पनि सेयर कर्जालाई प्राथमिकतामै राखेका छन् । बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको ब्रोकरहरूले जनाएको छन् ।
यो साता कमाएका मुख्य १० कम्पनी
१) सान्भी इनर्जी : ६०.९७ प्रतिशत
२) ट्रेड टावर : ६०.९६ प्रतिशत
३) उन्नति सहकार्य लघुवित्त :३३.४२ प्रतिशत
४) विध्यवासिनी हाइड्रोपावर : २९.१० प्रतिशत
५) ग्रिन भेन्चर्स : २१.०२ प्रतिशत
६) फर्स्ट माइक्रोफाइनान्स : १९.३५ प्रतिशत
७) एनएलजी इन्स्योरेन्स : १८.२१ प्रतिशत
८) आरएसडीसी लघुवित्त : १७.५८ प्रतिशत
९) नेपाल रिइन्स्योरेन्स : १६.९२ प्रतिशत
१०) कालिका पावर कम्पनी : १६.८९ प्रतिशत
यो साता गुमाएका मुख्य १० कम्पनी
१) कर्पोरेट डेभलपमेन्ट बैंक : -१५.३१ प्रतिशत
२) ग्रिन डेभलपमेन्ट बैंक : -१४.९२ प्रतिशत
३) सप्तकोशी डेभलपमेन्ट बैंक : -१४.१८ प्रतिशत
४) समृद्धि फाइनान्स : -१०.२९ प्रतिशत
५) पञ्चकन्यामाई हाइड्रोपावर : -७.३८ प्रतिशत
६) सिन्धु विकास बैंक : -७.२० प्रतिशत
७) युनियन हाइड्रोपावर : -५.३९ प्रतिशत
८) दोर्दीर् खोला जलविद्युत् : -५.११ प्रतिशत
९) युनाइटेड मोदी हाइड्रोपावर : -४.९७ प्रतिशत
१०) सम्पदा लघुवित्त : -४.७० प्रतिशत
