गत वर्ष मनाङमा १ हजार ५ सय २४ जनाले यार्चा संकलनको पुर्जी लिएका थिए
What you should know
लमजुङ — हिमाली जिल्ला मनाङमा जडीबुटी संकलन तथा निकासीबाट आर्थिक वर्ष २०८१/८२ मा ५२ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । राजस्वमध्ये संघीय सरकारको खातामा ३५ लाख ९१ हजार र पालिकाको खातामा १६ लाख ९० हजार ८ सय ६० रुपैयाँ राजस्व जम्मा भएको छ । मनाङमा ४ वटा पालिका तह छन् ।
साविकको गाविसस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गठन गरेको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएएमसी) हरूले जडीबुटी छोडपुर्जीबापत् १४ लाख ५६ हजार ३ सय ८० रुपैयाँ लिएका छन् । मनाङमा जडीबुटीको छोडपुर्जीबापत् पालिका र सीएएमसीले जडीबुटी कारोबारीबाट रकम लिने गरेका छन् ।
एक्यापका अनुसार गत आर्थिक वर्षमा यार्चागुम्बाबाट मात्रै ३४ लाख ८५ हजार ९० रुपैयाँ संघीय सरकारको खातामा जम्मा भएको छ । पालिकाको खातामा ११ लाख २८ हजार २ सय रुपैयाँ र सीएएमसीको खातामा ११ लाख ३३ हजार २ सय रुपैयाँ जम्मा भएको छ । संघीय सरकारले प्रतिकिलो यार्चाको ३१ हजार रुपैयाँ राजस्व लिने गरेको छ । पालिका र सीएएमसीले भने छोडपुर्जीबापत् प्रतिकिलो १०/१० हजार रुपैयाँ लिने गरेका छन् । यार्चा प्रतिकिलो २० लाख रुपैयाँसम्म बिक्री हुने गर्छ ।
गत आर्थिक वर्षमा १ सय १२.६ सय ९३ किलो यार्चा संकलन भएको एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । वनलसुन ३ हजार १ सय ८६.३ सय किलो र जिम्बु ९ सय १० किलो संकलन भएको उनको भनाइ छ । वनलसुनबाट संघीय सरकारलाई ९७ हजार ७ सय ५० रुपैयाँ प्राप्त भएको छ । संघीय सरकारले वनलसुनमा प्रतिकिलो ३० रुपैयाँ राजस्व लिँदै आएको छ ।
संरक्षण क्षेत्र व्यवस्थापन समितिले वनलसुन छोडपुर्जीबापत् ३ लाख १८ हजार ६ सय ३० रुपैयाँ र पालिकाले ५ लाख ५८ हजार ६ सय ६० रुपैयाँ लिएको छ । सीएएमसी र पालिकाले वन लसुन प्रतिकिलो २ सय रुपैयाँसम्म लिने गरेका छन् । वनलसुन प्रतिकिलो ४० हजार रुपैयाँसम्म बिक्री हुने गर्छ । जिम्बुबाट संघीय सरकारले ९ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ । सीएएमसीले ४ हजार ५ सय ५० र स्थानीय तहले ४ हजार रुपैयाँ पाएका छन् ।
संघीय सरकारले जिम्बुको प्रतिकिलो १० रुपैयाँ, सीएएमसी र पालिकाले ५/५ रुपैयाँ लिँदै आएका छन् । संघीय सरकारले गुच्छी च्याउ प्रतिकिलो ५ सय रुपैयाँ राजस्व लिने गरेको छ । गतवर्ष मनाङमा बाह्य १ हजार ३६ र स्थानीय ४ सय ८८ गरी १ हजार ५ सय २४ जनाले यार्चा संकलनका लागि पुर्जी लिएका थिए । यार्चा संकलन गर्न बाहिरी जिल्लाबाट आउनेलाई सीएएमसीले प्रतिव्यक्ति १० हजारदेखि ३५ हजार रुपैयाँसम्म लिएर संकलन पुर्जी दिने गरेको छ । स्थानीयसँग प्रतिव्यक्ति ५ हजार रुपैयाँसम्म लिने गरिएको जनाइएको छ । मनाङका १६ भन्दा बढी लेकमा यार्चागुम्बा पाइन्छ ।
बाह्य ७ सय १५ र स्थानीय २ सय १४ गरी ९ सय २९ जनाले वनलसुन संकलन गरेका छन् । मनाङमा वैशाख पहिलो सातादेखि असार आधाआधीसम्म यार्चा संकलन हुन्छ । त्यसपछि वनलसुन संकलन हुन्छ । जिम्बु भने कात्तिक–मंसिरमा बढी मात्रामा संकलन हुने गरेको छ । जिम्बु भने नार्पाभूमिको फू गाउँ क्षेत्रमा मात्रै पाइने एक्यापले जनाएको छ ।
