जगदुल्लाको ठेक्का रोक्ने आफ्नै निर्देशन लेखा समितिले उल्ट्यायो

समितिको निर्णयमा माओवादीका अमनलाल मोदी, एकीकृत समाजवादीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झा, असीम शाह, हरि ढकाल र स्वतन्त्र सांसद अमेरशकुमार सिंहको फरक मत

श्रावण ९, २०८२

सीमा तामाङ

The audit committee overturned its own directive to stop Jagdullah's contract

What you should know

काठमाडौँ — १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको विवादित ठेक्का प्रक्रिया रोक्न दिइएको आफ्नै निर्णय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उल्टाएको छ ।

यसअघि समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनी नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएको गुनासोका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन भन्दै गत जेठ २३ मा निर्देशन दिएको थियो । त्यसयता आयोजना प्रवर्द्धक जगदुल्ला कम्पनीले ठेक्का प्रक्रिया रोकेको थियो । यही साउन ७ मा बसेको समिति बैठकले प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिमा बुधबार ऊर्जा सचिव सुरेश आचार्य, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला र जगदुल्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालगायतलाई बोलाइएको थियो । सोही समितिमा छलफलपछि जगदुल्लाको ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सापकोटाले बताए । लेखा समितिकै निर्देशनले दुई महिना रोकिएको ठेक्का प्रक्रिया अब अघि बढ्ने भएको हो । 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसदीय समितिमा थप छलफल गर्नु नपर्ने निष्कर्ष निकालिएकाले ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइएको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताए । ‘संसदीय समितिमा सांसदले उठाएका विषयमा भएका निर्णय सभापतिले अगाडि बढाउने हो,’ उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा यही विषय समितिमा थप छलफल गर्नु नपर्ने निष्कर्ष निस्कियो ।’

समितिको निर्देशनमा माओवादीका अमनलाल मोदी, एकीकृत समाजवादीका प्रेमबहादुर आले, 

राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झा, असीम शाह, हरि ढकाल र 

स्वतन्त्र सांसद अमेरशकुमार सिंहले फरक मत राखेका छन् । समितिका निर्णयहरूमा गम्भीर खालका प्रश्न उब्जिएका कारण ध्यानाकर्षणसहित फरक मत र राय दिइएको उनीहरूले बताएका छन् । 

‘जगदुल्ला हाइड्रोपावरको निर्माणसम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा, मूल्यांकन समितिको निर्णय आदिमा नक्कली कागजात पेस भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएकोलगायतका गम्भीर प्रश्न उठेका छन् । यस विषयमा मूल्यांकन समितिका पदाधिकारीसहित जगदुल्ला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत र यसमा जोडिएका अन्य पदाधिकारीको संलग्नताको आवश्यक छानबिन गरी सत्यतथ्य के हो ? त्यसको अध्ययन अनुसन्धान तथा छानबिन हुन आवश्यक रहेको सांसदहरूले राखेको फरकमा मतमा उल्लेख छ ।

‘छानबिन नगरी निर्माण प्रक्रिया अगाडि बढाउँदा भ्रष्टाचार र अनियमितता हुने हुँदा जिम्मेवार निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, सार्वजनिक खरिद अनुगमन कार्यालय, हिजाउ कम्पनी चीनमा छ कि छैन भन्ने प्रश्न परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासलाई सोध्नेलगायत काम सम्बद्ध निकायले १५ दिनभित्र छानबिन गरी सार्वजनिक लेखा समितिमा पेस गर्न निर्देश गर्ने,’ सांसदहरूले राखेको फरक मतमा भनिएको छ । राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको 

भन्दै डोल्पाका लाप्पा शेर्पाले लेखा समितिमा उजुरी दिएका थिए । डोल्पामा बनाउन लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काका विषयमासिनो हाइड्रोले गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान 

आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेका छन् । बाँकी पृष्ठ ८

सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ  । अधिवक्ता सन्तोष आचार्यसहितको समूहले २०८२ जेठ २२ मा जगदुल्ला हाइड्रोपावरको ठेक्काविरुद्ध जगदुल्ला हाइड्रोपावर कम्पनी, एएनके कन्स्ट्रक्सन कम्पनी, जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन, ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्च अदालतले न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले २०८२ असार १ मा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

२०८१ जेठ १३ मा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ । आर्थिक प्रस्तावमा कररहित १२ अर्ब १५ करोड रुपैयाँ कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी योग्य रहेको भन्दै कम्पनीले आशयपत्र जारी गरिसकेको छ । सिनो हाइड्रोले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । यी दुई कम्पनीले बोलकबोल गरेको रकममा १ अर्ब ३४ करोड रुपैयाँको मात्रै भिन्नता छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीले २०८२ वैशाख ९ मा जियाङ्सी र एएनके जेभी र सिनो हाइड्रो योग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । २०८१ वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी र एएनके जेभीले पाउने भएका छन् । कम्पनीले गत माघ ६ मा पुनः आयोजनाको ठेक्का प्रक्रिया आह्वान गरेको थियो । सिनो हाइड्रो, सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जियाङ्सी र एएनके जेभी, फेवा कन्स्ट्रक्सन र टूएमजी इनसाट मेडिनक्लाक जेभीले आवेदन दिएका थिए ।

जगदुल्ला कम्पनीले गत जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्सन र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि गत पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो । त्यति बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आवेदन दिएका सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभीलाई ठेक्का दिलाउने गरी मिलेमतोमा मध्यस्थता गरेको आरोप लागेको थियो । १६ अर्बको ठेक्का पाउने कम्पनीले अरू चार कम्पनीलाई एक–एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्रीलाई दुई प्रतिशत दिने गरी लेनदेन भएको विषय अख्तियारमा पुगेको छ ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully