बिहीबार ७ वटाको परिसूचक घट्दा ६ वटाको बढे, औसतमा घट्नेभन्दा बढ्ने उपसमूहको परिसूचक सामान्य धेरै भएपछि नेप्से ३.७६ अंकले सकारात्मक
What you should know
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.७६ अंकले मात्र बढ्यो । सो दिन कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटाको घट्यो । सेयर मूल्य घट्ने धेरैजसो कम्पनीमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू छन् ।
तीबाहेक उपसमूहमा सूचीकृत कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटाको परिसूचक घट्दा ६ वटाको बढ्यो । औसतमा घट्नेभन्दा बढ्ने उपसमूहको परिसूचक सामान्य धेरै भए पनि सो दिन समग्र नेप्से ३.७६ अंक (०.१२ प्रतिशत) ले सकारात्मक देखिएको छ ।
यो साता सबै कारोबार दिन नेप्से उकालो लागेको छ । यस अवधिमा नेप्से परिसूचक करिब ११२ अंक माथि उक्लेर २ हजार ९ सय ८२.६४ अंकमा पुगेको छ । तर पाँच दिनको कारोबारमा एक दिन करिब ८१ र एक दिन २१ अंकले बढ्य्ो । बाँकी दुई दिनको वृद्धिदर ५ अंकभन्दा कम रह्यो ।
गएका ८ कारोबार दिनमा नेप्से लगातार बढिरहेकाले पछिल्ला दिनमा लगानीकर्ताले नाफा सुरक्षणका लागि सेयर बिक्री चाप बढाएपछि नेप्सेको वृद्धिदरमा कमी आएको जानकार बताउँछन् । नेप्सेको वृद्धिदरमा कमी आए पनि कारोबार रकममा खासै कमी नआएकाले उक्त प्रवृत्तिलाई आउँदा दिनमा बजार उकालो लाग्ने संकेत भएको दाबी लगानीकर्ताले गरेका छन् ।
बिहीबार कुल १ लाख ५४ हजार ६४२ पटकको किनबेचबाट ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । बुधबार १ लाख ७० हजार ३ सय १८ पटकको कारोबारमा ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बिहीबार विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढे । तर, बैंकिङ, फाइनान्स कम्पनी, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटे ।
सो दिन ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरियो । ट्रेड टावर, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले मूल्य बढे । हिमालयन जलविद्युत् कम्पनीको सेयर मूल्य ८.४१ प्रतिशतले बढेको छ । तर मञ्जुश्री फाइनान्सको ऋणपत्र, महालक्ष्मी ऋणपत्र, उन्नति सहकार्य लघुवित्त, सानिमा ग्रोथ फन्ड र समृद्धि फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरैले घटेको नेप्सेले जनाएको छ ।
नेप्से ४ अंकभन्दा थोरैले बढे पनि सो दिन लगानीकर्ताको सम्पत्तिको मूल्य भने झन्डै ७ अर्बले बढेको देखिन्छ । जसअनुसार बिहीबार बुधबार सेयर बजारको आकार (कुल बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ । बुधबार कुल बजार पुँजीकरण ४९ खर्ब ७० अर्ब रहेको थियो ।
