अग्ला भवन ठडिइसके पनि निर्माण प्रगति ८६ प्रतिशत मात्र, संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि नै निर्माण सकिसक्नुपर्ने
What you should know
काठमाडौँ — सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद् भवनको पाँचौं पटक ६ महिनाका लागि म्याद थपिएको छ । चौथो पटक २०८१ चैत १८ सम्म समय थप्दा पनि काम नसकिएपछि आगामी पुस १६ सम्मका लागि म्याद थपिएको हो । एक वर्ष थप्नुपर्ने निर्माण व्यवसायीको माग थियो ।
अब थपिएको समयभित्र सकिने गरी नै काम भइरहेको विशेष भवन निर्माण आयोजनाका प्रमुख सुनिल ठाकुरले बताए । सिंहदरबार परिसरमै निर्माणाधीन भवनको काम समयमै नसकिनु लज्जास्पद भएको भन्दै संसदीय समितिमा सांसदले बारम्बार प्रश्न उठाइरहेका छन् ।
राष्ट्रपतिदेखि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिले बेलाबेला निर्माणाधीन संसद् भवनको निरीक्षण र अनुगमन गरेर निर्देशन दिए पनि काम सोचेअनुसार भएको छैन । सम्बद्ध मन्त्री र विभिन्न संसदीय समितिले समेत यसको अनुगमन गरेर निर्देशन दिइरहेका हुन्छन् । तर अनुगमन गरेअनुसार न कामले गति लिएको छ, न प्रगति नै बढेको छ ।
सिंहदरबार परिसरमा १ सय ७२ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । पाँच तला अग्ला भवन ठडिइसके पनि निर्माण प्रगति ८६ प्रतिशत मात्र छ ।
भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो । सुरु ठेक्का रकम ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ थियो, अहिले संशोधन गरेर ६ अर्ब ३० करोड रुपैयाँ पुर्याइएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो संसद् बैठक नयाँ भवनमा बस्ने लक्ष्यसहित यसको निर्माण थालिएको थियो । २०७९ असोज १६ सम्म निर्माण सक्ने भन्दै २०७६ असोज १६ मा यसको ठेक्का भएको थियो । सुरु सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक २०७९ चैत ३० सम्म म्याद थपियो तर काम सकिएन । दोस्रो पटक २०८० वैशाख १ बाट २०८० असोज १९ सम्म समय दिइयो तर काममा प्रगति भएन ।
तेस्रो पटक २०८० असोज २० देखि सोही वर्षको चैत १९ सम्म म्याद थप गरिए पनि काम सुस्त नै रह्यो । यस अवधिमा काम नसकिएपछि चौथो २०८१ चैत १८ सम्मका लागि म्याद थपिए पनि काम नसकिँदा फेरि समय थपिएको हो । अहिले पुनः संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउने भन्दै २०८२ पुस १६ सम्म म्याद थपिएको आयोजना कार्यालयले जनाएको छ ।
यता २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा केसी–श्यामसुन्दर–बानियाँ जेभीले इन्टेरियरको छुट्टै ठेक्का लिए पनि काम सकिएको छैन । यसको काम २०८१ असारभित्र सक्ने गरी २०८० असार १७ मा सम्झौता भएको थियो । पछि समय थप गरेर २०८१ चैत १६ सम्म पुर्याइयो । यसको पनि काम नसकिएपछि पुस १६ सम्मकै लागि म्याद थपिएको छ, प्रगति भने २५ प्रतिशत मात्र छ । यो भवन निर्माणबाहेक इन्टेरियरको ठेक्का छुट्टै भएको विशेष भवन निर्माण आयोजनाले जनाएको छ ।
दुवै ठेक्काको म्याद थपिसकिएको विशेष भवन निर्माण आयोजनाका प्रमुख सुनिल ठाकुरले बताए । ‘अब थपिएको समयभित्र नै सक्ने गरी नै काम भइरहेको छ,’ उनले भने, ‘प्रतीतपत्र (एलसी) खोलेर सामान अर्डर गरिसकिएको छ ।’
सुरुका दिन सरकारले समयमै साइट उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ । हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सुरु गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले बताए । असार १३ मा म्याद थप्ने निर्णय भएको उनको भनाइ छ । त्यही मितिबाट समय गणना गरिने भएकाले थपिएको समय ६ महिना रहेको उनले जनाए ।
‘समय थपिसकेको छ, यो समयमा पनि काम नसकिए जरिवाना लगाएर काम गराउँछौं,’ महर्जनले भने, ‘त्यसपछि पनि काममा प्रगति नभए ठेक्का तोड्नुको विकल्प छैन ।’ खरिद नियमावली चौधौं संशोधनबाट अन्तिम मौका दिइएको उनको भनाइ छ । ‘अहिले काम भइरहेको छ, जसरी पनि काम सक्छौं भनेका छन्, नसके कारबाही हुन्छ, ठेक्का तोडिन्छ,’ उनले भने, ‘यो अन्तिम मौका हो, अब अरू बहानाबाजी चल्ने छैन ।’
