हाल नेपालको जीडीपी ६१ खर्ब ७ अर्ब, मंगलबार नेप्सेको कुल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब कायम
What you should know
काठमाडौँ — धितोपत्रको दोस्रो बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ले पनि हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । जसअनुसार मंगलबार कुल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
मंगलबारको बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात ८१.२५ प्रतिशत हो । यस वर्ष नेपालको कुल जीडीपी ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
कुल बजार पुँजीकरणलाई सेयर बजारको आकार भनेर चिनिन्छ । दोस्रो बजारमा सूचीकृत कुल सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।
गत आइतबार ४७ खर्ब ९० अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख कायम भएको थियो । मंगलबार झनै बढेर ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो । पछिल्ला हरेक दिन बजारको आकारले नयाँ रेकर्ड कायम गर्दै आएको छ । यसअघि २०८१ फागुन ३ मा सेयर बजारको आकार ४७ खर्ब ९९ अर्ब रुपैयाँ कायम थियो ।
मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २ हजार ९ सय ७३.७० अंकमा उक्लिएको छ । नेप्से पछिल्लो ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । यसअघि २०८१ भदौ ६ मा नेप्से २ हजार ९ सय ७४ बिन्दुमा थियो । त्यसयता २०८१ फागुन १८ मा २ हजार ८ सय ९० मा पुगे पनि त्यसमाथि जान सकेको थिएन । सोमबारको तुलनामा मंगलबार २.७९ प्रतिशतले बढेको हो ।
उक्त दिन कारोबारमा आएकामध्ये २ सय ३६ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको घट्यो । कुल १ लाख ७७ हजार १ सय १ पटकको कारोबारमा ४ करोड ३५ लाख ८१ हजार २ सय २८ कित्ता सेयर किनबेच भए ।
ती किनबेचबाट २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार संख्या, कारोबार कित्ता र कारोबार रकम सबै बढेको हो । सोमबार सेयर बजारमा कुल १ लाख ३८ हजार ८ सय २८ पटकको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ वटै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । तीमध्ये पनि उत्पादन तथा प्रशोधन, जीवन बिमा, होटल तथा पर्यटन, लगानीलगायत उपसमूहको परिसूचक धेरैले बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा सहयोग पुगेको हो । जसअनुसार मंगलबार बैंकिङ उपसमूहको परिसूचक २.१०, विकास बैंकको २.२६, वित्त कम्पनीको १.९४, होटल तथा पर्यटनको ३.४४, जलविद्युत्को १.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।
लगानीको ३.२४, जीवन बिमाको ४.३६, उत्पादन तथा प्रशोधनको ४.६३, लघुवित्तको ४.०७, सामूहिक लगानी कोषको ०.५६, निर्जीवन बिमाको २.५६, अन्यको ३.२६ र व्यापार उपसमूहको परिसूचक १.०१ प्रतिशतले उकालो लागे ।
उक्त दिन ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको थियो । शिवम् सिमेन्टको सेयर मूल्य ९.९९, सान्भी इनर्जीको ९.९९, उन्नति सहकार्य लघुवित्तको ९.९० र बिन्दाबासिनी हाइड्रोपावरको ९.७६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
मंगलबार एलबीबीएल डिबेञ्चर (२०८९) को सेयर मूल्य ३.९४, एनआईबीएल ग्रोथ फन्डको ३.०१, बोटलर्स नेपाल (बालाजु) को २.४६, ग्रिन डेभलपमेन्टको २.१९ र पञ्चकन्या माई हाइड्रोपावरको २.०३ प्रतिशतले घटे ।
