राष्ट्र बैंकले आज ४२ दिनका लागि बजारबाट ८० अर्ब झिक्दै

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Rastra Bank withdrawing 80 billion from the market for 42 days today

What you should know

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (बुधबार) फेरि ८० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

यसका लागि अहिले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) झनै बढेको छ । गएको वर्ष ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकोमा असार मसान्तमा बढेर साढे १० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

असार मसान्त (गत बुधबार) सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७२ खर्ब ९२ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७८ प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा १० खर्ब ५० अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ । तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगदै राख्नुपर्छ । सबै बैंकले २० प्रतिशतका दरले तरलता कायम गर्दा सीडी अनुपातको करिब एक प्रतिशतले हुन आउने रकम बराबर खर्च हुन्छ ।

यसकारण बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न छुट भए पनि २० प्रतिशत तरलता कायम गर्नुपर्ने भएकाले उनीहरूले ८९ प्रतिशतसम्म जान पाउँछन् । यी तथ्यलाई आधार मान्दा पनि असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थासाग करिब ९ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ ऋण दिन मिल्ने रकम वित्तीय प्रणालीमा रहेको जानकारहरू बताउँछन् । यहीकारण पछिल्ला दिनहरुमा राष्ट्र बैंकले लामो समयका लागि बजारबाट पैसा झिकिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully