What you should know
पाल्पा — यातायात व्यवस्था सेवा कार्यालय पाल्पाको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा १८ करोड ८४ लाख ८५ हजार ७९० संकलन भएकामा २०८१/८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा १ करोड ३४ लाख ३५ हजार १०० राजस्व बढेको हो ।
कार्यालयले सबैभन्दा बढी सवारीसाधन करबापत १६ करोड ६७ लाख ४० हजार २९० रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले बताए । सवारी चालक अनुमतिपत्र बापत १ करोड ७२ लाख २६ हजार २०० संकलन गरेको छ । यही शीर्षकमा अघिल्लो वर्षमा १ करोड ५४ लाख २१ हजार ७०० संकलन गरेको थियो । सवारी नवीकरणतर्फ १ करोड २ लाख २२ हजार ३०० राजस्व संकलन गरेको छ । यसैमा अघिल्लो आर्थिक वर्षमा ९३ लाख ७२ हजार संकलन गरेको थियो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानीतर्फ २५ लाख ९२ हजार संकलन गरेको छ । अघिल्लो वर्ष भने यस शीर्षकमा २३ लाख ७० हजार ३०० संकलन भएको थियो । आयकरतर्फ ५१ लाख ४० हजार १०० सय संकलन गरेको छ भने अघिल्लो वर्ष ४८ लाख १८ हजार १०० संकलन गरेको थियो ।
पछिल्लो समयमा पहाडी जिल्लामा पनि सवारी साधनको संख्या बढ्दो छ । यहाँबाट पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवा लिने बढी छन् । यातायात व्यवस्था सेवा कार्यालय २०७१ मंसिर १० गतेदेखि पाल्पामा सुरु भएको हो ।
