नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान, अवकाश कोष सञ्चालन गर्ने

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Civic Investment Fund will operate the Siddhartha Bank's Retirement Fund

काठमाडौँ — नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरेका छन् ।  

सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकमा कार्यरत करिब २ हजार कर्मचारीको उपदान एवम् अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।

आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू नागरिक लगानी कोष लगायतका कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरेको छ । सोहीबमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधनअनुरूप बैंकले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तारण गरेको हो ।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू सम्वत २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोष लगायतका कोषमा आबद्ध हुनु पर्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully