११ महिनापछि २८ सय ९२ बिन्दुमा नेप्से

सेयर बजारको आकारमा कीर्तिमान, सोमबार ४८ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुग्यो 

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

After 11 months, NEPSE at 2892 points

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २१.७६ अंकले बढेर २ हजार ८ सय ९२.७२ अंकमा उक्लिएको छ । सोमबार नेप्से पछिल्लो ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । यसअघि २०८१ भदौ ९ मा नेप्से २ हजार ८ सय ९४ बिन्दुमा थियो ।

त्यसयता २०८१ फागुन १८ मा २ हजार ८ सय ९० मा पुगे पनि त्यसमाथि जान सकेको थिएन । आइतबारको तुलनामा सोमबार ०.७५ प्रतिशतले बढेको हो । उक्त दिन कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटा कम्पनीको घट्यो । कुल १ लाख ३८ हजार ८ सय २८ पटकको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।

आइतबार नेप्से सामान्य सकारात्मक रहे पनि साढे २१ अर्बको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएकामध्ये १३ वटै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । सबैभन्दा बढी निर्जीवन बिमा १६८.१६ अंकले बढ्यो । लघुवित्त १०३.१०, विकास बैंक ८६.१२, अन्य ४७.१९, होटल तथा पर्यटन २१.७९ अंकले बढे । 

नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ३६ अर्ब ३२ करोड ५५ लाख रुपैयाँले वृद्धि भएको छ  । आइतबार ४७ खर्ब ९० अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख कायम भएको छ । कुल सूचीकृत सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । बजारको आकारमा नयाँ रेकर्ड कायम भएको छ । यसअघि २०८१ फागुन ३ मा सेयर बजारको आकार ४७ खर्ब ९९ अर्ब रुपैयाँमा पुगेको थियो । सोमबार ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । 

थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावरको ९.९८, सान्भी इनर्जीको ९.९८, उन्नति सहकार्य लघुवित्तको ९.४०, फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको ८.९९ प्रतिशतले सेयर मूल्य बढ्यो । ग्रिन डेभलपमेन्ट र सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको थियो । सो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९६, सिन्धु विकास बैंकको ६.३६ र कृषि बैंक डिबेन्चर (२०८३) को ४.३१ प्रतिशतले सेयर मूल्य घटे । 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, फर्स्ट माइक्रो लाइफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंक अघि रहे । नेपाल रिइन्स्योरेन्सको ७५ करोड ६६ लाख, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख, बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख, फर्स्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोड ७१ लाख र लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully