एडीबीद्वारा आर्थिक वृद्धि र रोजगारी केन्द्रित पाँच वर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

ADB released a new five-year national partnership strategy focused on economic growth and employment

What you should know

काठमाडौँ — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५-२०२९) सार्वजनिक गरेका छन् । एडिबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ।

एडिबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ।

उक्त राष्ट्रिय रणनीतिले निजी क्षेत्रले नेतृत्व  गर्ने आर्थिक वृद्धि, युवाहरूका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतालाई केन्द्रित गरेको छ।

अर्थसचिव घनश्याम उपाध्याय, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्‍वा र विश्‍व  बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेका हुन् ।

एडीबीले नेपालमा पहिलो पटक विश्‍व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेम वर्क तयार गरेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोशेढुंगा साबित हुने दाबी गरिएको छ ।

एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको अर्थमन्त्रीले पौडेलले बताए । १६औँ योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरूका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने उनले सुनाए । 

राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको  प्रतिबद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील हरित र रोजगारी-सघन आर्थिक वृद्धिको वृहत् एजेन्डा तय गरेको काेश्‍वाले जनाए । 

'हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंसा गर्छौ,' उनले भने, 'नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आबद्ध गरिएका लगानी परियोजना नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय  साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालासँग काम गर्न एडीबी तयार छ ।'

राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्‍चितीकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीले जनाएको छ ।

एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय  साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully