What you should know
भैरहवा — रूपन्देहीको सियारी गाउँपालिका–२ भग्दरीमा मुलुककै ठूलो यूपीभीसी झ्याल–ढोका उद्योग पञ्चकन्या डिमेक्स सञ्चालनमा आएको छ ।
उद्योगले आधिकारिक रूपमा सोमबारबाट आफ्ना उत्पादन सार्वजनिक गरेको हो । अनौपचारिक रूपमा एक वर्षदेखि उत्पादन र बिक्री गरिरहेको उद्योगले आजबाट आफ्ना विभिन्न चार ब्रान्डका उत्पादन सार्वजनिक गरेको हो ।
उद्योगका अध्यक्ष उज्वलकुमार श्रेष्ठले नौ महिनासम्म उत्पादन परीक्षण, बजार वृद्धि र ग्राहकको अपेक्षासँगै सुझाव संकलन गरेपछि सोमबारबाट आधिकारिक उत्पादन शुभारम्भ गरिएको जानकारी दिए । उत्पादनमा परिपक्वता हासिल गरेपछि चालु आर्थिक वर्षमा तीव्र बजारीकरण गर्ने उद्देश्यले उत्पादन सार्वजनिक गरिएको उनले बताए ।
उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्डका उत्पादन सार्वजनिक गरेको हो । श्रेष्ठसँगै रितेश सिलवाल, नारायण केसी, उदीप श्रेष्ठ र आशिक श्रेष्ठको ८० करोड लगानीमा उद्योग सञ्चालनमा आएको हो । ‘केही महिनाभित्र नयाँ प्रविधि भित्र्याएर कारखानालाई पूर्ण अटोमेटिक बनाउँदै छौं,’ श्रेष्ठले भने, ‘त्यसबेलासम्म १ अर्ब लगानी पुग्ने अनुमान गरेका छौं ।’
अहिले उद्योगमा ६५ जनाले रोजगारी पाएका छन् । ‘पञ्चकन्या समूहको उत्पादन अनुभव र ब्रान्डसँगै लगानीकर्ताको प्यासनले उद्योग सञ्चालनमा आएको हो,’ उनले भने, ‘मुलुकमै विश्वस्तरीय गुणस्तरका यूपीभीसी प्रोफाइलका झ्याल–ढोका उत्पादन गरेर उपभोक्तासमक्ष पुर्याइरहेका छौं ।’ उद्योगले आफ्ना उत्पादनहरू दिगो, वाटरप्रुफ, आगो प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, बाहिरी हल्ला नसुनिने, आफ्नो इच्छा अनुसार डिजाइन गर्न सकिने, पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएको दाबी गरेको छ ।
‘पहिलोपटक चारवटा लेमिनेटेड कलरमा पनि यूपीभीसी प्रोफाइल उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘यस्तो सुविधापछि उपभोक्ताले आफ्नो छनौटको रंग अनुसारको झ्याल–ढोका तयार गर्न सक्छन् ।’ उद्योगले झ्याल–ढोका जडान गरिसकेपछि पानी र हावा पस्नेलगायत समस्या हल गर्न टीपीई ग्यास्केट प्रविधि अपनाएको उनले बताए । ‘झ्याल–ढोका बलियो बनाउन यूपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोग गरेका छौं,’ उनले भने, ‘यसले गर्दा फ्रेम भाँचिने, कुच्चिने समस्या हुँदैन ।’
उद्योगको प्रतिवर्ष ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ । अहिले उद्योगमा ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । यीमध्ये पाँच वटाले सेतो यूपीभीसी प्रोफाइल (फ्रेम) निर्माण गर्छन् भने एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गर्छ । उद्योगले जर्मनीसँगै विभिन्न युरोपियन मुलुकको प्रविधि प्रयोग गरेर उत्पादन गरिरहेको जनायो । ‘विश्वस्तरीय गुणस्तरमा तयार गरेका छौं, हाम्रा उत्पादन लेडमुक्त छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमै नेपालीका लागि स्तरीय उत्पादन गरिरहेका छौं ।’
अहिले मुलुकभर १३ हजार मेट्रिक टन यूपीभीसी प्रोफाइलका झ्याल–ढोका खपत भइरहेको उनले बताए । खपतमध्ये ८५ प्रतिशतभन्दा धेरै चीन र भारतबाट आयात भइरहेका छन् । ‘मुलुकभित्र माग देखेरै ठूलो लगानीमा आधुनिक उद्योग सञ्चालन गरेका हौं,’ उनले भने । उद्योगका प्रबन्ध निर्देशक रितेश सिलवालले ग्राहकलाई आर्थिक भार नपर्ने गरी प्रिमियम, मिडियम र इकोनोमिक सिरिजमा उत्पादन बजारमा पुर्याइरहेको जानकारी दिए । उनका अनुसार अहिले सातवटै प्रदेशमा बजारीकरणको काम पूरा भइसकेको छ ।
युरोपियन प्रविधि अपनाएर झ्याल–ढोका निर्माण गरेपछि कुनै गुनासो नआउने गरी उत्पादन बजारमा पुर्याइरहेको उनले बताए । आफ्ना उत्पादन प्रयोग गर्दा कुनै गुनासो सुन्नु नपरोस् भनेर उद्योगले २ सय ५९ जनालाई फ्रेबिकेटर व्यवसायी तालिम दिएको छ । ‘जडान राम्रो भएन भने झ्याल–ढोकामा समस्या आउन सक्छ,’ उनले भने, ‘त्यसैले प्रभावकारी फिटिङ होस् भनेर उद्योगले तालिम दिएर मिस्त्री तयार गरिरहेको छ ।’
उद्योगले गुणस्तरीय उत्पादनसँगै झ्याल–ढोकालाई आकर्षक ‘फिनिसिङ’ दिने कुरा चुनौती रहेको जनायो । त्यस्तो चुनौती अन्त्यका लागि फ्रेबिकेटर तालिमसँगै उनीहरूलाई आवश्यक उपकरण पनि उपलब्ध गराउँदै आएको उद्योगले जानकारी दियो । ‘मुलुकभर धेरै व्यक्तिलाई तालिम दिएर आकर्षक झ्याल–ढोका र गुनासोरहित फिटिङमा ध्यान दिएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो क्रम निरन्तर जारी रहन्छ ।’ फ्रेबिकेटरको काम गर्ने व्यक्ति, उनीहरूले प्रयोग गर्ने मेसिन र उपकरणलाई उद्योगले प्रमाणित गरेपछि मात्रै सेवा प्रदान गर्न दिइने उनले बताए ।
अहिले उद्योगका उत्पादन मुलुकभर घर, अपार्टमेन्ट, हाउजिङ र कार्यालयले प्रयोग गरिरहेका छन् । उद्योगले कार्यालय पार्टेसनका लागि यूपीभीसी प्यानलसमेत तयार गरेको छ । मुलुकभर अहिले ७ वटा यूपीभीसी उद्योग रहेका छन् । यसबाट झ्याल–ढोका निर्माण गर्ने फ्रेबिकेटर व्यवसायीको संख्या ८ सय हाराहारी रहेको छ ।
पछिल्लो समय यूपीभीसीका झ्याल–ढोकाको प्रयोग बढेको छ । ‘तर, सोचेजस्तो प्रयोग बढिसकेको छैन,’ उद्योगका प्रबन्ध निर्देशक सिलवालले भने, ‘प्रयोग बढाउन चेतना फैलाउन जरुरी छ ।’
