४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Rashtra Bank withdrawing 50 billion deposits for 42 days

What you should know

काठमाडौँ — अधिक तरलता भएपछि मौद्रिक नीतिपछि पहिलो पटक राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । सोही अनुसार आइतबार निक्षेप खिच्न लागेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज  २०८२ भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । यसअघि गत आइतबार पनि राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिचेको थियो । मौद्रिक नीति आएको एक हप्ता बितिसकेको छ । मौद्रिक नीतिमा केही खुकुलो गरिएपनि बजारमा लगानी खासै बढ्न सकेको छैन भने अर्थतन्त्र पनि शिथिल नै देखिएको छ ।

कान्तिपुर

Link copied successfully