सरकारले घटायो उखु खेतीको अनुदान, किसानको असन्तुष्टि

प्रतिक्विन्टल ७० रुपैयाँ दिँदै आएकामा अब ३५ रुपैयाँ मात्र दिने सरकारको निर्णय

श्रावण ४, २०८२

राजु चौधरी

The government has reduced the subsidy for sugarcane cultivation, farmers are dissatisfied

What you should know

काठमाडौँ — स्रोतको चाप देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको प्रोत्साहन अनुदान आधा घटाएको छ । असार २३ को मन्त्रिपरिषद् बैठकले अनुदान रकम घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ कायम गरेको हो । यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए । अनुदान रकम र समर्थन मूल्य थोरै भएकै कारण खेती घटेको जान्दाजान्दै सरकारले अनुदान रकम घटाएको हो । 

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत पुसमा प्रतिक्विन्टल ७० रुपैयाँकै प्रस्ताव गरेको थियो । तर अर्थतन्त्रमा चाप परेको र स्रोतको कमी भएको भन्दै त्यसमा निर्णय हुन सकेन । कृषिसँग ८० करोड बजेट थियो, सोही रकम वितरण गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले भने । २०८१/८२ मा करिब २ करोड १४ लाख क्विन्टल उखु क्रसिङ भएको छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५/७६ करोड खर्च हुन्छ । यही प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको उनले जनाए । 

‘उखु किसानलाई दिने पैसा नभएपछि भएकै पैसालाई व्यवस्थापन गर्न खोजिएको हो । उत्पादन परिमाणका आधारमा प्रतिक्विन्टल ३५ रुपैयाँ मात्रै दिन पुग्ने भएपछि मन्त्रिपरिषद्मा सोही प्रस्ताव गरेका हौं,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । २०८१/८२ को अनुदान रकम चालु आर्थिक वर्षमा वितरण गर्छौं ।’ अनुदान रकम घट्नुको मुख्य कारक स्रोतको चाप रहेको मन्त्रालयको दाबी छ । स्रोतकै कारण कतिपय कृषिको बजेट नै रोकिएको छ । अहिले पनि कृषि मन्त्रालयकै पहलमा थोरै भए पनि अनुदान वितरण गर्न लागिएको जोशीको दाबी छ । 

गत मंसिरमा सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । यो उखु मिलले किसानलाई उपलब्ध गराउने मूल्य हो । गत वर्षभन्दा प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गरे पनि किसानलाई दिइने अनुदानबारे निर्णय भएको थिएन । गत असार २३ मा अनुदानबारे निर्णय गरिए पनि आधा घटाएको हो । 

सरकारले अनुदान रकम घटाएपछि किसान भने असन्तुष्ट छन् । उनीहरूले अनुदान रकम वृद्धि नगरे आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । ‘उखु क्रसिङ सकिएपछि अनुदानबारे निर्णय भयो, तैपनि आधा घटाए दिने निर्णय भएको छ । यो निर्णय किसानको हितमा छैन,’ राष्ट्रिय कृषि श्रमिक संघ नेपालका महासचिव गोपाल यादवले भने, ‘किसानलाई दिइँदै प्रोत्साहन अनुदान कट्टा गर्ने निर्णयको विरोध गर्छौं । सरकारी निर्णयले उखु उत्पादनमा कमी ल्याउँछ ।’ 

सरकारले कम्तीमा ७० रुपैयाँ अनुदान नदिए संघर्षका कार्यक्रम सुरु गरिने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उखु किसानले पाउने अनुदानका विषयमा १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइसकिएको छ । तर पनि किसानको माग सम्बोधन नभएको संघको दाबी छ । ‘किसानको मागबारे ज्ञापनपत्र पनि बुझाएका थियौं तर सम्बोधन भएन । र, अनुदान घटाएर आउने निर्णय गरियो,’ महासचिव यादवले भने, ‘अब आन्दोलनको विकल्प छैन । सुरुमा जिल्ला–जिल्लाबाट विरोध गर्छौं ।’

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने सरकारी निर्णयले किसानलाई फाइदा नगरे पनि अन्य विकल्प नभएको बताए । ‘अनुदान नै नपाउनुभन्दा प्रतिक्विन्टल ३५ रुपैयाँ भए पनि किसानले पाउने भए । तर अब फाइदा नहुने भए अब किसानले उखु खेती गर्दैनन्,’ उनले भने, ‘हरेक वर्ष खेती घट्दै छ, अब झनै घट्ने भयो ।’ 

पछिल्ला ५ वर्षको तथ्यांक हेर्दा पनि उखु खेती र उत्पादनमा धेरै उतारचढाव छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०७७/७८ मा ६४ हजार ३ सय ५४ हेक्टरमा उखु खेती गरिएको थियो । त्यसबाट ३१ लाख ८३ हजार ९ सय ४३ टन उखु उत्पादन भएको थियो । २०७८/७९ मा भने घटेर ६२ हजार ५ सय ६७ हेक्टरमा खेती गरियो । त्यसबाट ३१ लाख ५९ हजार ६ सय ३४ टन उत्पादन भएको थियो । 

२०७९/८० मा उखु खेतीको क्षेत्रफल सामान्य बढ्यो । तर उत्पादन घटेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार ६२ हजार ८ सय ३३ हेक्टरबाट ३१ लाख ३० हजार १०९ टन उखु उत्पादन भएको छ । त्यस्तै २०८०/८१ मा उखु खेती घटेर ५५ हजार ४ सय ४० हेक्टरमा झरेको छ । उत्पादन पनि २७ लाख ६० हजार ४ सय ९५ टनमा मात्रै सीमित बनेको छ । २०८१/८२ मा भने उखु खेती र उत्पादनमा केही सुधार भएको सर्वेक्षणमा उल्लेख छ । उक्त वर्ष ५७ हजार ३ सय ५५ हेक्टरमा खेती गरिएकामा २८ लाख ८३ हजार ६ सय ३ टन उत्पादन भएको सर्वेक्षणमा जनाइएको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully