What you should know
काठमाडौँ — गत आर्थिक वर्षमा १२ हजार ५ सय १२ विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७ सय ८३ पर्यटक मनास्लु आएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २ हजार ७ सय २९ जना बढी पर्यटक मनास्लु क्षेत्र आएका हुन् ।
कोरोना महामारीका बेला २०७७/७८ मा १९४, २०७८/७९ मा २ हजार २ सय ८२, २०७९/०८० मा ७ हजार ७ सय ५ विदेशीले मनास्लु क्षेत्रका भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए ।
गएको वर्ष सबैभन्दा बढी फ्रान्सका १ हजार ४ सय ७ र जर्मनीका १ हजार १ सय ३० पर्यटकले मनास्लु भ्रमण गरेका हुन् । मनास्लु क्षेत्रमा नेदरल्यान्ड, इजरायल, अस्ट्रेलिया, स्पेन, क्यानडा, पोल्यान्ड, इटली लगायत देशका पर्यटक घुम्न आउने गरेको तथ्यांक छ ।
चैत–वैशाख तथा असोज–कात्तिकमा मनास्लुमा पर्यटकको चाप देखिएको उनले बताए । ‘यस वर्ष अझै तीन सय जति पर्यटक बढी आउँछन् भन्ने अनुमान गरेका थियौं, बर्खा लागेसँगै असारा अपेक्षा गरेअनुसार पर्यटक आएनन्,’ शेरचनले भने । ट्रेकिङका लागि मनास्लु क्षेत्र उपयुक्त गन्तव्य रहेकाले पनि पर्यटकको संख्या वर्षै पिच्छे बढ्दै गएको उनले बताए ।
‘सडक सञ्जाल विस्तार नभएकाले पैदलयात्रीका लागि यो निकै उपयुक्त गन्तव्य हो,’ उनले भने, ‘सांस्कृतिक, प्राकृतिक र भौगोलिक पक्षले गर्दा नै मनास्लुमा पर्यटकको आकर्षण बढेको छ ।’ एमक्यापले विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । मनास्लु क्षेत्र आएका पर्यटकले चुम र नुब्री उपत्यकाको भ्रमण गर्छन् । यसका लागि दुई साताको प्याकेजमा पर्यटक आउने गरेका छन् । यो वर्ष चुम उपत्यका भ्रमण गर्ने विदेशीको संख्या अझै बढ्ने एमक्यापको अनुमान छ । चुम्चेतबाट चुमभ्याली पुग्ने चौरीखर्कको अप्ठारो पदमार्गको यस वर्ष सुधार भएकाले पर्यटकलाई सहजता थपिने शेरचनले बताए ।
