१०२ मेगावाटको मध्य भोटेकोसी परीक्षण उत्पादनको तयारीमा

श्रावण ४, २०८२

ऋषिराम पौड्याल

102 MW central Votecosi in preparation for trial production

What you should know

काठमाडौँ — चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ।

हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र सुरू हुने तयारी गरिएको आयोजना पक्षले जनाएको छ ।

गत जेठको अन्तिम सातादेखि नै सुरुङमा पानी पठाएर परीक्षण सुरु गरिएको थियो । मध्य भोटेकोसी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले सुरुङको वेट टेस्टिङ सकिएपछि अहिले पावर हाउसका मेसिनहरूको परीक्षण भइरहेको जानकारी दिए ।

‘जोडतोडका साथ काम भइरहेको छ। केही दिनमै हामी मध्य भोटेकोसीबाट उत्पादित विद्युत् खिम्तीको प्रसारण लाइनमा जोड्नेछौं,’ सिवाकोटीले भने, ‘अब ढिलोमा यही महिनाभित्र उत्पादन सुरु गर्छौं ।’ प्राधिकरणले निर्माण गरिरहेको खिम्ती लाइनमा थोरै काम मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।

योजना सम्पन्न भइसकेको भए पनि स्थानीय अवरोधका कारण उत्पादनमा समस्या भएको आयोजनाका अधिकारीहरूले जनाएका छन्। अब भने कुनै अवरोध नरहने र उत्पादन सुरु हुने उनीहरूको भनाइ छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको बसेरीमा पावर हाउस निर्माण गरिएको यो आयोजना प्रसारण लाइनको अभावका कारण रोकिएको थियो ।

स्थानीय प्रभावितहरूले मुआब्जा रकम वृद्धि गर्नुपर्ने माग राखेका थिए। साथै, स्थानीय तह तथा राजनीतिक नेतृत्वले अस्पताल, सडकलगायतका विकास योजनामा आयोजनाले रकम दिनुपर्ने अडान राखेपछि अवरोध सिर्जना हुँदै आएको थियो ।

102 MW central Votecosi in preparation for trial productionविकास निर्माणको प्रारम्भ २०६८ सालमा भएको आयोजनालाई भूकम्प, बाढीपहिरो, कोभिड, स्थानीय अवरोध तथा आन्तरिक व्यवस्थापन कमजोरीले प्रभावित बनाएको थियो । भोटेकोसीको पानीको बहाव वर्षभरि स्थिर हुने भएकाले विद्युत् उत्पादनपश्चात् आम्दानीमा ठूलो असर नपर्ने प्राविधिकहरूको भनाइ छ ।

आयोजनाबाट विद्युत् बिक्री गरेर वार्षिक तीन अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ। भोटेकोसी क्षेत्रमा जिल्लावासी र जिल्लावासीकै कम्पनीमार्फत झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको सेयर लगानी गरिएको छ ।

आयोजनाको सिभिल वर्क चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरिरहेको छ । चार वर्षमा निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा चिलिमे, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा स्थानीय कम्पनीहरूको लगानी रहेको छ ।

आयोजनाले प्रभावित र सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । आयोजनाका प्राविधिकहरूका अनुसार विद्युत् उत्पादन सुरु भएपछि राम्रो आम्दानी हुने देखिएको छ । आयोजना निर्माण लागत २० अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । प्रारम्भमा लागत १२ अर्ब २८ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो । आयोजना सुरु भएको झन्डै १४ वर्ष भइसकेको छ । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully