एसएमएस बाइपासका घटना बढ्दै, संलग्नलाई कारबारही गर्ने प्राधिकरणको चेतावनी

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Cases of SMS bypass increasing, warning of authorities to take action against those involved

What you should know

काठमाडौँ — कुनै बेला विदेशबाट आउने फोन कलमा हुने 'भोओआईपी बाइपास' जस्तै पछिल्ला वर्षहरूमा विदेशबाट आउने एसएमएसमा ‘बाइपास’का घटना बढिरहेको पाइएको छ ।

फेसबुक, गुगल, ह्वाट्सइप, माइक्रोसप्ट, टिकटक लगायतले नेपालमा रहेका आफ्ना प्रयोगकर्तालाई भेरिफिकेसनका लागि पठाउने सर्ट कोड म्यासेजहरू टेलिकमकै नेटवर्क दुरुपयोग गरेर बाइपास हुने गरेका छन् ।

अनलाइन सेवा, डिजिटल काम/कारोबारहरू बढ्दै जाँदा विदेशी कम्पनीहरूले नेपाली प्रयोगकर्तालाई पठाउने म्यासेज (एट'पी)को संख्या पनि बढिरहेको छ । यसलाई बाइपास गर्दा अपरेटरको आम्दानी गुम्नुका साथै सरकारलाई राजश्वमा हानि हुन्छ ।

नेपाल टेलिकम र एनसेलजस्ता अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूकै नेटवर्क दुरुपयोग गरी विदेशबाट आउने एसएमएस गैरकानुनी रूपमा प्रवाह गर्ने कार्य भइरहेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले औँल्याएको छ । यस्ता गतिविधि तत्काल बन्द गर्न भन्दै प्राधिकरणले शुक्रबार सूचनासमेत जारी गरेको थियो । पछिल्लो समय अनधिकृत रूपमा टेलिकम कम्पनीहरूको नेटवर्कमार्फत यस्ता एसएमएस नेपालमा प्रवाह भइरहेको प्राधिकरणले पुष्टि गरेको छ । 

प्राधिकरणले अन्तर्राष्ट्रिय आगमन एप्लिकेसन टु पर्सन (एटुपी) एसएमएसलाई गैरकानुनी रूपमा टर्मिनेट गर्ने कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । दूरसञ्चार ऐन, २०५३ मा आधारभूत दूरसञ्चार सेवा, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरूलाई मात्र नेपालमा विदेशबाट आउने एसएमएस प्रवाह गर्न अनुमति दिइएको छ । ‘अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुको नेटवर्क प्रयोग गरी एसएमएस प्रवाह भइरहेको बुझिन आएकोले यस्ता कार्य नगर्न, नगराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

फेसबुक, गुगल, ह्वाट्सएप वा टिकटकजस्ता विदेशी एपले हाम्रा फोनमा पठाउने भेरिफिकेसन कोड वा पासवर्ड रिसेट गर्दा आउने म्यासेजहरू नै एटुपी एसएमएस हुन् । सेवा प्रदायकहरूका अनुसार पछिल्लो ५/६ वर्षदेखि नै केही व्यक्ति वा संस्थाले यी म्यासेजहरूलाई गैरकानुनी बाटोबाट नेपाल भित्र्याइरहेका थिए । यसलाई 'एसएमएस बाइपास' भनिन्छ । यो ठगी पहिले विदेशबाट आउने फोन कलमा हुने 'भोओआईपी बाइपास' जस्तै हो ।

सजिलोसँग बुझ्दा, टिकटकको भेरिफिकेसन कोड सिधै टिकटकबाट तपाईँको फोनमा आउनुपर्ने हो। तर, बाइपास गर्दा त्यो कोड टिकटकबाट नआई नेपालकै कुनै लोकल कम्पनी वा एजेन्टमार्फत आएमा टेलिकम कम्पनीहरूले आफ्नो आय गुमाउँछन् । एनसेलका अनुसार, यस्तो बाइपासका कारण कम्पनीको आम्दानीमा मासिक १५ देखि २० लाख रुपैयाँसम्म घाटा भइरहेको छ । यसको सीधा असर सरकारले प्राप्त गर्ने राजस्वमा पर्छ । 

एनसेलमा राजस्व सुनिश्चितता र ठगी नियन्त्रणका लागि छुट्टै 'रेभेन्यू एस्योरेन्स एन्ड फ्रड म्यानेजमेन्ट' युनिट बनाइएको कम्पनीले जनाएको छ । ‘एटुपी एसएमएस बाइपास मुख्यतया सिम बक्सको प्रयोग र लोकल एग्रिगेटर/सर्ट वा सेन्डर आईडीकोमार्फत हुन्छ,’ कम्पनीले भनेको छ, ‘एनसेलले नै प्रदान गरेको जानकारीका आधारमा पर्सा र रुपन्देहीका विभिन्न ठाउँबाट यस्तो क्रियाकलापमा संलग्नहरुलाई छापा मारेर कारबाही गरेको घटनाहरू पनि रहेका छन् ।’ 

कान्तिपुर

Link copied successfully